वैज्ञानिकहरूले एउटा अनौठो खोज गरेका छन् । उनीहरूले चिलीको पाटागोनियास्थित एक दुर्गम उपत्यकामा चार प्रजातिका डाइनोसरका अवशेष भेट्टाएका छन् । यी जीवाश्म अर्जेन्टिनाको सीमास्थित दक्षिणी चिलीको लास चिनस उपत्यकाको सेरो गुइडोमा फेला परेका हुन् ।
शोधकर्ताहरूका अनुसार सन् २०२१ मा फेला परेका र प्रयोगशाला पठाइएका यी जीवाश्म यो क्षेत्रमा पहिले पहिचान नभएका प्रजातिका हुन् । वैज्ञानिकहरूले मेगाराप्टरसहित चार प्रजातिका डायनासोरका अवशेष फेला पारेको स्थान विगत एक दशकमा महत्वपूर्ण जीवाश्म भण्डारको रूपमा देखा परेको छ ।
युनिभर्सिटी अफ चिली र युनिभर्सिटी अफ टेक्साससँगको सहकार्यमा चिलियन अन्टार्टिक इन्स्टिच्युट (इनाच)को एक खोज अभियानका क्रममा यी अवशेष फेला पारेका हुन् । चिली अन्टार्कटिक इन्स्टिच्युट (इनाच)का निर्देशक मार्सेलो लेप्पेले भने, ‘वैज्ञानिक खोजमा पहिले पत्ता नलागेको वा थाहा नभएका कुरा फेला पार्नु सधैँ रोमाञ्चक हुन्छ । लास चिनस उपत्यकामा हामी नयाँ जीवाशेष फेला पार्न बानी परेका छौँ ।’ तिनीहरूले थेरोपोड परिवारसँग सम्बन्धित मेगाराप्टरसहित चार प्रजातिका डायनासोरका दाँत र अस्थिपञ्जरका टुक्रासहितका अवशेष पहिचान गरेका थिए ।
अनुसन्धाताका अनुसार यी मांसहारी डायनासोरहरूमा सिकार गर्ने नंग्रा, चिर्थोनका लागि साना दाह्रा र ठूला नंग्राहरू थिए, जसले उनीहरूलाई ६ करोड ५० लाखदेखि साढे सात करोड वर्षपहिले ( क्रेटासियस अवधिको अन्त्यसम्म) यो क्षेत्रमा शीर्ष सिकारीका रूपमा स्थापित गरेको थियो । चिली विश्वविद्यालयका अनुसन्धानकर्ता जेरेड अमुडियो भन्छन्, ‘बढी नै पछाडितर्फ घुम्रेको दाँतका कारण यी मेगाराटोराइड्सअन्तर्गतका हुन् भनेर आत्मविश्वासका साथ भन्न सकिन्छ ।’
‘वैज्ञानिकहरूले भेलोक्रिपेटर्ससँग नजिक युनइलेगिनका दुई नमुनाको पनि पहिचान गरेका छन्, जसमा नवीन चरित्र देखिन्छ । यसले यो युनइलेगिनकै नयाँ प्रजाति भएको संकेत गर्छ,’ अमुडेओले भने । अनुसन्धानकर्ताहरूले दुई चरा प्रजातिका डाइनोसरका अवशेष पनि फेला पारेका छन् । तीमध्ये एक इनानटिओरनाइथ र अर्को ओरनिथुरिनेई हो । यो समूह प्रत्यक्ष रूपमा आजभोलिका चराहरूसँग सम्बन्धित छ । वैज्ञानिकहरूको यो खोज प्रतिष्ठित जर्नल ‘दक्षिण अमेरिकन अर्थ साइन्स’मा गत डिसेम्बरमा प्रकाशित छ ।