सुनकोसी–मरिनको सुरुङ २,११२ मिटर खनियो

शुक्रबार, २९ पुष, २०७९
डिजिटल संस्करण

निमार्ण सुरु भएको तनि महिनामा राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत बन्ने सुरुङ दुई हजार एक सय १२ मिटर खनिएको छ । कुल १३.३ किलोमिटर लम्बाइ हुने उक्त सुरुङ २८ असोजदेखि अमेरिकी प्रविधिको टनेल बोरिङ मेसिन (टिबिएम)मार्फत खन्न सुरु गरिएको थियो ।

चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपले ठेक्का पाएको उक्त सुरुङ निर्माण सुरु गरिएको दुई वर्षभित्र सम्पन्न गर्न लक्ष्य लिइएको छ । तर, यही गतिमा काम भएमा निर्धारित समयभन्दाअघि नै सुरुङ निर्माण हुने सिँचाइ विभाग तथा आयोजनाका निर्देशक मित्र बरालले बताए । सुरुङमा अगाडिको चार किलोमिटर खण्ड चुरे पहाडको भाग पर्छ । त्यति सुरुङ खन्ने वेलासम्म खासै समस्या आउँदैन । तर, चार किलोमिटरभन्दा भित्री भाग भने साह्रो हुन्छ । सो खण्डमा सुरुङ खन्न भने केही चुनौती हुने र त्यस खण्डको सुरुङमा खन्ने वेला कुनै भौगोलिक कठिनाइ नआए सुरुङ छिट्टै तयार हुने बरालको भनाइ छ ।

हाल आठ–आठ घन्टाको तीन सिफ्ट गरेर दैनिक २४ घन्टा नै काम भइरहेको छ । दैनिक औसतमा २३ मिटरदेखि २५ मिटरसम्म सुरुङ खनिएको छ, जुन प्रगति लक्ष्यअनुसार नै भएको आयोजनाको भनाइ छ । यो सुरुङ निर्माण गर्न सिँचाइ विभाग र चिनियाँ कम्पनीबीच चैत ०७७ मा १० अर्ब पाँच करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर, अमेरिकामा टिबिएम मेसिन बनाएर नेपालमा ढुवानी गर्न समय लागेपछि निर्माण सुरु गर्न ढिलाइ भएको थियो । सरकारले उक्त सुरुङ निर्माण गर्न १५ अर्ब लगानी लाग्ने अनुमान गरेको थियो । तर, उक्त कम्पनीले त्योभन्दा पनि कम लागतमा सुरुङ बनाउने प्रस्ताव गरेको थियो । यसअघि उक्त कम्पनीले भेरी–बबई सिँचाइ आयोजनाको सुरुङ पनि निर्माण गरिसकेको छ ।

विशेष गरी तराईको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने र ३१ मेगावाट विद्युत्समेत उत्पादन गर्ने लक्ष्यसहित सरकारले सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना अघि बढाएको हो ।  सुरुङको मोटाइ ५.५ मिटर व्यासको हुनेछ ।

सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीको पानीलाई यसै सुरुङमार्फत सिन्धुलीको मरिन नदीमा खसालिनेछ । त्यसपछि त्यसलाई हालको बागमती सिँचाइ आयोजनाका संरचनामार्फत मध्य–तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पु¥याइनेछ । साथै, पानी डाइभर्सन गर्ने क्रममै यसै आयोजनाभित्र ३१.०७ मेगावाट क्षमताको जलविद्युत् आयोजना पनि बन्नेछ । 

यसअन्तर्गत बन्ने सुरुङ अबको दुई वर्षभित्र नै तयार हुनेछ, तर समग्र आयोजना भने ०८५ देखि सम्पूर्ण रूपमा सञ्चालनमा आउने सिँचाइ विभागको अनुमान छ । २० फागुन ०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यस आयोजनाको शिलान्यास गरेका थिए ।

यो आयोजना बनाउन ४६ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान थियो । १५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको सुरुङतर्फ पाँच अर्ब रुपैयाँ कममा चिनियाँ कम्पनीमार्फत ठेक्का सम्झौता भएको छ । यस्तै, १८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको जलविद्युत्को हेडवक्र्स, पावरहाउस, हाइड्रो मेकानिकललगायतका संरचना बनाउन भारतको पटेल इन्डिया र नेपालको रमन कन्ट्रक्सनको जोइन्ट भेन्चर (जेभी) कम्पनीसँग ६ अर्ब कम अर्थात् १२ अर्ब रुपैयाँ ठेक्का सम्झौता हुँदै छ, त्यसअनुसार आयोजना अनुमानित लागतभन्दा ११ अर्ब रुपैयाँ कममा बन्ने निश्चित भइसकेको छ ।

 अन्य संरचना तथा पूर्वाधारको निर्माण कहिले ?
आयोजनाअन्तर्गत बन्ने अन्य संरचनाको निर्माण पनि चालू आवमै सुरु गर्ने बताइएको छ । आयोजनामा बन्ने जलविद्युत्को हेडवक्र्स, पावरहाउस, हाइड्रो मेकानिकललगायतका संरचना निर्माण गर्न अन्तर्राष्ट्रिय बोलपत्रमार्फत भारतको पटेल इन्डिया र नेपालको रमन कन्स्ट्रक्सनले जोइन्ट भेन्चर (जेभी)मा १२ अर्ब रुपैयाँमा उक्त ठेक्का गर्ने पक्का भइसकेको छ ।

यसका लागि विभागले कम्पनीलाई आशयपत्र पठाइसकेको छ । कम्पनीसँग ठेक्का सम्झौता भएपछि उक्त संरचनाको निर्माण कार्य सुरु हुनेछ । यस्तै, आयोजनाअन्तर्गत बन्ने प्रसारण लाइन, इलेक्ट्रो मेकानिकललगायतको निर्माणको ठेक्का आह्वान गर्न बाँकी छ । त्यसका लागि आवश्यक तयारी भइरहेको आयोजनाको भनाइ छ । तयारी पूरा भएपछि प्रसारण लाइन र इलेक्ट्रो मेकानिकलतर्फ निर्माणका लागि टेन्डर आह्वान गरिने बताइएको छ । यी संरचना बनाउन चार अर्ब रुपैयाँ लगानी अनुमान गर्ने अनुमान गरिएको छ ।

सुझावित समाचार