कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका छन् ।
आफ्नै निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकमा देउवाले विश्वासको मत दिने प्रस्ताव राखेका हुन् ।
तर, केही पदाधिकारीले विश्वासको मत दिनु गम्भीर त्रुटि हुने भन्दै प्रस्तावको विपक्षमा मत राखेपछि सर्वसम्मत निर्णय हुन सकेन ।
सभापति देउवाले विश्वासको मत दिनैपर्ने अडान राखेपछि विपक्षमा उभिएका पदाधिकारीहरूले त्यस्तो निर्णय केन्द्रीय कार्यसमितिबाट मात्र लिनुपर्ने अडान राखेपछि पदाधिकारी बैठकले निर्णय लिन नसकेको एक पदाधिकारीले जानकारी दिए ।
पार्टी सभापति र केही पदाधिकारीको अडान बाझिएपछि र तत्काल केन्द्रीय कार्यसमितिको बैठक बस्न सम्भव नभएपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।
अब कार्यसम्पादन समितिको बैठकले सभापति देउवाको प्रस्ताव पारित गर्ने र प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिने सम्भावना रहेको ती पदाधिकारीले बताए ।