मूल्य नपाउँदा सुन्तला किसानको दुई करोड आम्दानी घट्यो

आइतबार, २४ पुष, २०७९
डिजिटल संस्करण

गत वर्ष २६ करोडको सुन्तला बिक्री गरेका तनहुँका किसानले यस वर्ष २४ करोडको बेचे 

अघिल्लो वर्ष म्याग्देको उमाचोकका कृषकले सुन्तला बिक्रीबाट आकर्षक आम्दानी गरेका थिए । त्यस क्षेत्रका किसानले पाँचदेखि ८५ लाख रुपैयाँसम्म आम्दानी गरे । तर, यस वर्ष सोचेजति बजार मूल्य नपाएपछि उनीहरू चिन्तित छन् । गत वर्ष ५० लाखको कारोबार गरेका कृषक सुकनारायण श्रेष्ठले यस वर्ष ३० लाखको मात्रै बिक्री गरेको बताए । कृषकले उत्पादन भए पनि बजार मूल्य नपाएको गुनासो गरेका छन् ।

सुन्तला खरिदकर्ताले सस्तोमा लाने गरेको उनीहरूको गुनासो छ । नाम्सीकोटका कृषक रणबहादुर भुजेलले सुन्तला उत्पादन भए पनि मूल्य कम पाएको बताए । ‘धेरै ठाउँमा सुन्तलाको उत्पादनमा वृद्धि भएकाले बजार मूल्य त्यति छैनन् भन्छन् । त्यसपछि सस्तोमा दिन कृषक बाध्य हुन्छन्,’ उनले भने । 

उत्पादन राम्रो भए पनि जिल्लामा कोल्डस्टोर नहुँदा समस्या भएको हो । यस वर्ष बढी फलेकाले सुन्तलाले बजारभाउ नपाएको सुन्तला खरिदकर्ताको भनाइ छ । पोहोर–परारको तुलनामा यस वर्ष व्यापार कम भएको खरिदकर्ता बलबहादुर भण्डारीले बताए । तनहुँमा एक हजार नौ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएकोमा एक हजार चार सय ८० हेक्टर क्षेत्रफलमा मात्रै सुन्तला उत्पादन भएको छ । गत वर्ष तनहुँमा २६ करोडको सुन्तलाको कारोबार भएको थियो ।

तनहुँ जिल्लामा यस वर्ष २४ करोडको सुन्तला बिक्री भएको छ । गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो । सुन्तलाले दाना हाल्ने समयमा असिना र पानी परेपछि सुन्तला कम फलेको हो । सुन्तलाको बोट मर्ने तथा दाना कुहिनेलगायतका समस्या देखिएकाले उत्पादनमा कमी आएको कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए ।

पकेट क्षेत्रमा पनि केही कृषकको सुन्तला कम फलेको छ भने केहीको धेरै फलेको पनि पाइएको छ । ‘कम उत्पादन भएका बगैँचामा रोग लागेकाले बोट मर्ने समस्या देखिएको हो । त्यस्ता ठाउँमा कम फलेको छ, जसका कारण कृषक मर्कामा परेका छन् । धेरै फलेका ठाउँहरू पनि छन्, त्यहाँका कृषकले भने रामै्र आम्दानी लिएका छन्,’ उनले भने । 

See More On

सुझावित समाचार