कार्यदलले आज उच्चस्तरीय संयन्त्रलाई मस्यौदा बुझाउने

शुक्रबार, २२ पुष, २०७९
डिजिटल संस्करण

न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलका संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार बस्ने बैठकबाट मस्यौदालाई अन्तिम रूप दिने बताएका छन् । ‘मस्यौदा तयारीको क्रममा छ, शुक्रबार बस्ने बैठकबाट सबै टुंगो लगाएर शीर्ष नेतृत्वलाई बुझाउँछौँ,’ उनले भने ।

मस्यौदालाई बिहीबारै टुंग्याउने तयारी भए पनि माओवादीका तर्फबाट कार्यदलमा रहेका उपमहासचिव वर्षमान पुन अनुपस्थित रहेका कारण शुक्रबार अन्तिम रूप दिएर उच्चस्तरीय राजनीतिक संयन्त्रमा बुझाउने सहमति कार्यदलमा भएको छ ।

पुनको अनुपस्थितिका कारण बिहीबारको बैठक मस्यौदा प्रस्तुति र सामान्य छलफलपछि टुंगिएको थियो । कार्यदलले पहिलो चरणमा सबै दलबाट सुझाव संकलन गरेको थियो । सत्तासाझेदार दलहरूबीच सहमति भएका न्यूनतम कार्यक्रम मात्र मस्यौदामा समेटिएका छन् ।

नागरिकको प्रत्यक्ष सरोकार रहेका सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनाएर सुशासनको प्रत्याभूति दिलाउने, भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिने, अर्थतन्त्रको सुधार गर्दै जनजीविकाका सवाललाई प्राथमिकतामा राखेर सम्बोधन गर्दै अघि बढ्नेजस्ता विषयमा मस्यौदा केन्द्रित छ ।

सुझावित समाचार