नौ विमानस्थलमा रात्रि उडान

देशभर ५३ वटा विमानस्थल भए पनि ३३ मात्रै सञ्चालनमा, तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल, ४० विमानस्थलको धावनमार्ग कालोपत्रे

शुक्रबार, २२ पुष, २०७९
डिजिटल संस्करण

देशभित्र सञ्चालनमा रहेकामध्ये नौवटा विमानस्थल रात्रिकालीन उडान गर्न मिल्ने भएका छन् । जसमध्ये तीनवटा अन्तर्राष्ट्रिय र ६ वटा आन्तरिक विमानस्थल रहेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए) सञ्चालनमा आए पनि अझै राति उडान सुरु भएको छैन । 

आइएफआर उडान सुरु भएपछि पोखरामा पनि राति उडान सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । नियमनकारी निकायले अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घन्टा र राति उडान सुविधा भएका आन्तरिक विमानस्थल १८ घन्टासम्म खुला रहने व्यवस्था गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए), गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए), विराटनगर, चन्द्रगढी, धनगढी, जनकपुर, नेपालगन्ज र सिमरा विमानस्थलमा अहिले धमाधम रात्रिकालीन उडान भइरहेका छन् । यी विमानस्थलमा आइएफआर प्रविधि जडान गरिएको हुँदा रात्रि उडान सम्भव भएको हो । आइएफआर प्रविधिमा कम्तीमा १६ सय मिटर र भिएफआर प्रविधिमा कम्तीमा पाँच हजार मिटर भिजिबिलिटी चाहिने हवाई पूर्वाधारविज्ञको भनाइ छ । 

राति उडान गर्न मिल्ने सुविधा भएका नौमध्ये सातवटा विमानस्थल तराई क्षेत्रमा सञ्चालनमा रहेका छन् । यी विमानस्थलमा राति १० बजेसम्म आन्तरिक उडान भइरहेका छन् । यस्तै, अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घन्टा खुला गरिएको छ । जसले काठमाडौंमा भइरहेको बढ्दो हवाई चाप कम गर्न सहयोग पुगेको नियामक निकायको तर्क छ । 

अहिले देशभरि ५३ विमानस्थल छन् भने अर्घाखाँची र कालिकोटमा नयाँ विमानस्थल निर्माण भइरहेको छ । कुल विमानस्थलमध्ये अहिले ३३ वटामा मात्र नियमित उडान भइरहेको छ । २० वटा विमानस्थलबाट उडान सञ्चालन नभएको क्यानले जनाएको छ । बाग्लुङ, चौरजहारी (रुकुम), दार्चुला, ढोरपाटन, पालुङटार, गुल्मी, जिरी, कमल बजार, कागेलडाँडा, खिजी चण्डेश्वरी, लाङटाङ, लामिडाँडा, महेन्द्रनगर, मनाङ, मसिनोचौर (डोल्पा), मेघौली, रोल्पा, रुम्जाटार, स्याङ्बोचे र टीकापुर विमानस्थलमा उडान हुँदैन । गुल्मीको रेसुंगा विमानस्थलमा यही २४ पुसमा तारा एयर ‘डेमो फ्लाइट’ गर्ने तयारीमा छ ।

पोखरामा १७ पुसमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ, जहाँ अहिले आन्तरिक उडान भइरहेका छन् । पुरानो विमानस्थलमा हेलिकोप्टर र अल्ट्रालाइट मात्र सञ्चालनमा छ । यस्तै, २ जेठमा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेज र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । 

विराटनगरलाई हब बनाएर पूर्वका पहाडी तथा हिमाली क्षेत्र र नेपालगन्जलाई हब बनाएर कर्णाली तथा सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा उडान भइरहेको छ । पोखराबाट अहिले नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुरलगायत जिल्लामा प्रादेशिक उडान भइरहेको छ । 

देशमा निर्माण भएका कुल ५३ विमानस्थलमध्ये ४० वटा विमानस्थलको धावनमार्ग कालोपत्रे भइसकेको छ । बाँकी १३ विमानस्थलको धावनमार्ग कच्ची छ । सञ्चालनमा रहेका विमानस्थलमा नौवटा अन्तरिक वायुसेवाले नियमित उडान सेवा दिँदै आइरहेका छन् । यस्तै, तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलमा १६ देशबाट २९ वटा अन्तर्राष्ट्रिय वायुसेवाले उडान गर्दै आइरहेका छन् । 
 

सुझावित समाचार