एकीकृत समाजवादी–जसपाको एकता प्रयास ‘रणनीतिक’

बिहिबार, २१ पुष, २०७९
डिजिटल संस्करण

- आ–आफ्ना फरक–फरक चासो र सम्भावित राजनीतिक शक्ति सन्तुलनलाई हेरेर एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष यादव दुवै रणनीतिक एकताको पक्षमा छन् 

- दुई दलबीच एकता भए एकीकृत पार्टीको संसद्मा २२ सिट हुन्छ, जुन अहिलेको संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीको भन्दा दुई सिट बढी हो

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा अनपेक्षित नतिजापछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विखलबन्दमा छन् । अहिलेको सत्तागठबन्धन निर्माणमा भूमिकाविहीन बनेका उनी पार्टीलाई कसरी पाँच वर्षसम्म अगाडि लैजाने भन्ने ठूलो द्विविधामा छन् । निर्वाचन अगाडि तत्कालीन पाँचदलीय गठबन्धनबाट बाहिरिएका जसपा अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ मा हारको सामना गर्नुपर्‍यो । केन्द्रीय राजनीतिमा मात्र होइन, मधेसमा समेत कमजोर उपस्थिति भएपछि यादव संसद् प्रवेशको विकल्प मात्र खोजिरहेका छैनन्, शक्ति निर्माणको कोसिसमा पनि छन् । 

नेपाल र यादव आ–आफ्नो पार्टीभित्र हुन सक्ने ‘विद्रोह’ रोक्ने अंकगणितको पनि खोजीमा छन् । जसपाले ससर्त सरकारमा जाने निर्णय लिएको छ भने एकीकृत समाजवादी अझै अनिर्णीत छ । सरकारमा जाने–नजाने र समर्थन दिने–नदिने विषयमा एकीकृत समाजवादीले सचिवालय बैठकबाट निर्णय लिँदै छ । 

ठोस रूपमा कुरा अगाडि बढेको छैन : डा. बेदुराम भुसाल, महासचिव, एकीकृत समाजवादी 
सहकार्य गर्नेबारे छलफल भएको हो । जसपाका कतिपय साथीहरू हिजो हामीसँगै हुनुहुन्थ्यो । मोर्चा बनाएर जाने कि भन्ने विषयमा छलफल भएको थियो । तर, ठोस रूपमा कुरा अगाडि बढेको छैन । हाम्रो पार्टीको स्थायी कमिटी र पोलिटब्युरोमा पनि वामपन्थी शक्तिहरूलाई एकत्रित गर्दै अगाडि बढौँ भन्ने छ ।

आ–आफ्ना फरक–फरक चासो र सम्भावित राजनीतिक शक्ति सन्तुलनलाई हेरेर नेपाल र यादव दुवै रणनीतिक एकताको पक्षमा देखिएका छन् । प्रतिनिधिसभामा १० सिट रहेको एकीकृत समाजवादी र १२ सिट रहेको जसपाले सैद्धान्तिक रूपमा एकताको प्रवेशद्वार खुला गरेका छन् । दुई पार्टीका नेताहरूबीच केही चरणमा अनौपचारिक संवाद पनि भएका छन् र यस्ता संवादलाई निरन्तरता दिने उनीहरूको योजना छ । नेताहरूकै अनुसार एकता सहज भने छैन । 

एकीकृत समाजवादीको सोमबार सुरु भई मंगलबार सकिएको पोलिटब्युरो बैठकले विभिन्न राजनीतिक शक्तिसँगको एकताको कोर्स खुला राख्ने निर्णय लिएको छ । एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले पार्टी एकता तथा राजनीतिक मोर्चा निर्माण गर्ने सम्बन्धमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ । अर्कोतर्फ सोमबार सुरु भई मंगलबार सकिएको जसपाको राजनीतिक समितिको बैठकले विभिन्न दल तथा संगठनहरूसँग एकता, सहकार्य तथा गठबन्धनसँग वार्ता गर्न समिति नै बनाएको छ । 

जसपाले पार्टी नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य छन् । विचार मिल्नेहरूसँग पार्टी एकता गर्ने जसपाको स्पष्ट निर्णय छ । जसपाका संयोजक श्रेष्ठ पूर्वएमाले हुन् । एमालेमा हुँदा उनी झलनाथ खनालनिकट मानिन्थे । त्यसैले एकीकृत समाजवादीसँग एकताबारे छलफल गर्न श्रेष्ठलाई जिम्मेवारी दिएको जसपाकै नेताहरू बताउँछन् । साना वामपन्थी–समाजवादी दललाई पार्टीमा भित्र्याउने समाजवादीको नीति छ । माओवादी र एमालेसँग भने यथास्थितिमा एकता वा मोर्चा सम्भव नभएको समाजवादीका नेताको दाबी छ । 

जसपाका नेताहरूका अनुसार एकताको प्रस्ताव एकीकृत समाजवादीबाट आएको हो । उनका अनुसार निर्वाचनमा राष्ट्रिय दल बन्न नसकेपछि एकीकृत समाजवादी र मधेसमा कमजोर परिणामसहित अध्यक्ष यादव स्वयंले पराजय भोगेपछि जसपामाथि अस्तित्वरक्षाको दबाब बढेको थियो । ‘एकताको प्रारम्भिक प्रस्ताव एकीकृत समाजवादीबाट आएको हो,’ जसपाको राजनीतिक समितिका एक सदस्य दाबी गर्छन्, ‘यही सन्दर्भमा एकताको प्रस्तावमाथि छलफल अगाडि बढेको हो ।’

एकता प्रस्तावमाथि शीर्ष नेताबीच पनि संवाद थालनी भएका छन् । जसपा अध्यक्ष यादव जब गत शुक्रबार बिहान एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई भेट्न उनको निवास डल्लु पुगे, त्यसपछि गुपचुपमा भइरहेको छलफल सार्वजनिक बहसतिर मोडियो । खनालसँगको भेटघाटबारे यादवले सोमबार पार्टी बैठकमा भनेका थिए, ‘एकीकृत समाजवादीबाट एकताको प्रस्ताव आएको छ, यो प्रस्ताव अघि बढाउन वार्ता समिति बनाउनुपर्छ ।’

सोही दिन पत्रकारले जसपा प्रवक्ता मनीष सुमनलाई खनाल–यादव भेट प्रसंग उप्काउँदै राखेको जिज्ञासामा भने, ‘एकीकृत समाजवादीसँग एकता भयो भने कुनै आश्चर्य नमान्दा हुन्छ ।’ लगत्तै पोलिटब्युरो बैठकपछि एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले ‘मनीष सुमनजीले कस्तो राम्रो कुरा गर्नुभएछ । एकताका लागि हाम्रो छलफल भइरहेको छ ।’

स्रोतका अनुसार दुवै दलको बैठकको दुई दिनअघि भएको खनाल–यादव भेट मूलतः पार्टी एकतामै केन्द्रित थियो । ‘भेटघाटमा पार्टी एकताबारे छलफल भएको हो । तर, कसरी एकता गर्ने भन्ने विषयमा ठोस प्रगति भएको छैन । तर, बलियो शक्ति निर्माण गरौँ भन्नेमा दुवै दलको मत मिलेको छ,’ खनालले भने ।

ससर्त सरकारमा सहभागी हुने निर्णय गरेको जसपाका अध्यक्ष यादव यसबारे अहिले नै खुलेर बोल्न चाहँदैनन् । ‘पार्टी एकताबारे गफसफ भएको छ, तर धेरै अघि बढेको छैन,’ उनको भनाइ छ । यादवको संक्षिप्त प्रतिक्रिया आए पनि उनले एकताका लागि वार्ता कमिटी नै बनाएका छन् । 

एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल जसपासँग सहकार्यबारे छलफल भएको बताउँछन् । ‘सहकार्य गर्नेबारे छलफल भएको हो । जसपाका कतिपय साथीहरू हिजो हामीसँगै हुनुहुन्थ्यो । मोर्चा बनाएर जाने कि भन्ने विषयमा छलफल भएको थियो । तर, ठोस रूपमा कुरा अगाडि बढेको छैन,’ उनले भने, ‘हाम्रो पार्टीको स्थायी कमिटी र पोलिटब्युरोमा पनि वामपन्थी शक्तिहरूलाई एकत्रित गर्दै अगाडि बढौँ भन्ने छ ।’

किन पार्टी एकता चाहन्छन् ? 
एकीकृत समाजवादी र जसपाले एकता चाहनुमा मूलतः दुई दलबीच समान हैसियत र सांगठनिक परिस्थिति मूल कारण देखिन्छ । प्रतिनिधिसभामा अहिले जसपाको १२ र एकीकृत समाजवादीको १० सिट छ । समानुपातिक मतमा थ्रेसहोल्ड कटाउन नसक्दा एकीकृत समाजवादीले राष्ट्रिय दल बन्ने हैसियत गुमाएको छ । अघिल्लो निर्वाचनमा मधेसभित्र बलियो शक्ति देखिएको जसपा मधेसभित्रै खुम्चिएको छ । संसद्मा कमजोर देखिएका यी दल बलियो शक्ति बन्न पार्टी एकता गर्नुपर्ने गृहकार्यमा छन् । दुई दलबीच एकता भए एकीकृत पार्टीको संसद्मा २२ सिट छ । यो अहिलेको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा बढी हो । स्वतन्त्र पार्टीको संसद्मा २० सिट छ । 

अर्को प्रमुख कारण, दुवै पार्टीभित्र रहेको फुटको भय पनि हो । जसपाभित्र अशोक राई, राजकिशोर यादवलगायत नेता अध्यक्ष यादवसँग असन्तुष्ट छन् । आफू संघीय परिषद् अध्यक्ष हुँदाहुँदै उपेन्द्रले आफ्ना विश्वासपात्र रामसहायप्रसाद यादवलाई संसदीय दलको नेतामा चयन गरेपछि राईले पार्टीभित्र आफूलाई अपमानित महसुस गरेको जसपाकै नेता बताउँछन् । 
उता एमालेबाट फुटेर निर्माण भएको एकीकृत समाजवादीमा पनि सांसदहरू पार्टी फुटाएर पुरानै घरमा फर्कने भय छ । ‘दुवै पार्टीको असन्तुष्टिमाथि एमालेले फाइदा उठाउन खोजिरहेको सुइँको पाएपछि पनि पार्टीलाई जोगाउन यो एकताको कुरा आएको छ,’ एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपछि र राष्ट्रिय दल बन्न नसकेपछि हामीसँग दुई विकल्प देखियो । पहिलो, कि संगठन निर्माणमा लाग्ने र अर्को निर्वाचनका लागि पाँच वर्ष कुर्ने । दोस्रो, विचार मिल्ने पार्टीसँग एकता गर्ने । विचार मिल्नेमध्ये एमालेसँगको सम्बन्ध धेरै टाढा, प्रचण्ड सुटुक्क केपी ओलीसँग मिल्न गएपछि माओवादीसँग हामी चिढिएको अवस्थामा अहिलेसम्म हामीसँग कुनै रिसराग नभएको जसपा एकताका लागि उपयुक्त विकल्प देखिएको हो ।’ 

नेपाल र यादवका के छन् चासो ?

जसपाका नेताहरूका अनुसार एकतामा अध्यक्ष यादवका तीन चासो छन् । पहिलो– सम्मानजनक शक्ति बाँडफाँड भए मात्रै सरकारमा जाने निर्णय गरेका यादव पार्टी एकताको कार्ड फालेर ‘पावर सेयरिङ’मा सम्मानजनक हिस्सा लिन चाहन्छन् । उपराष्ट्रपति, केन्द्रमा तीन या चार मन्त्री र मधेसमा मुख्यमन्त्री उनको ‘बटमलाइन’ छ । 

दोस्रो– सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भए पनि यादव संसदीय राजनीतिबाट टाढिन चाहँदैनन् । संसदीय दलका नेता रामसहायप्रसाद यादव वा सप्तरी १ बाट निर्वाचित सांसद नवलकिशोर साहमध्ये एकलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचनमार्फत आफू संसद्मा प्रवेश गर्ने अर्को रणनीति छ । सत्तागठबन्धनभित्र ओली र प्रचण्डसँग उनले यो प्रस्ताव राखिसकेका छन् । पार्टी एकताको कार्ड फालेपछि प्रस्तावमा सहमति गराउन सकिने उनको बुझाइ छ । 

तेस्रो– दलको नेता नभएपछि असन्तुष्ट अशोक राई समूह पार्टी फुटाएर अन्त गए पार्टी झन् कमजोर हुने भय । त्यसैले उनीहरूलाई पार्टीभित्र जोगाउन उनी एकताका लागि तयार भएको जसपाभित्र नेताहरूको बुझाइ छ । 

अर्कोतर्फ जसपासँग एकताको प्रस्तावको पछाडि नेपालका पनि तीन रणनीति छन् । नेताहरूका अनुसार पहिलो– पार्टी एकताको कार्ड फालेर सत्तागठबन्धनबाटै राष्ट्रपति बन्ने उनको चाहना छ । प्रचण्डलाई सरकारको नेतृत्व दिन तयार भएका एमाले अध्यक्ष ओली पछिल्लो समय एकीकृत समाजवादीसँग एकता गरेर संसद्को पहिलो ठूलो दल बन्ने रणनीतिमा छन् । त्यसैले पछिल्ला भाषणबाजीमा उनले नेपालप्रति ‘घोचपेच’ गर्न छाडेका छन् । तर, नेपाललाई राष्ट्रपति दिन तयार देखिएका छैनन् । दोस्रो– जसपासँग एकता गरेर संसदीय दलको नेता बन्ने । जसपा अध्यक्ष यादव निर्वाचनमा पराजित भएका कारण एकता भए स्वाभाविक रूपमा एकीकृत दलको नेता बन्ने अवसर पाउने नेपालको बुझाइ छ । तेस्रो– पार्टी फुटाउने एमालेको प्रयासबाट पार्टीलाई जोगाउने ।

सुझावित समाचार