नेपालमा रहेका २७ मध्ये १८ वटा वायु प्रदूषण गुणस्तर मापन केन्द्र बिग्रिएका छन् । वातावरण विभागले विभिन्न दातृनिकाय तथा स्थानीय तहसँगको सहकार्यमा स्थापना गरेकामध्ये हाल नौवटा वायु गुणस्तर मापन केन्द्र मात्र सञ्चालनमा छन् । वायु गुणस्तर मापन केन्द्र बिग्रेर थन्किँदा धुलिखेल, भरतपुर, विराटनगर, जनकपुर, दाङ, नेपालगन्ज, धनगढीलगायत सहरको वायु प्रदूषणको मात्रा नै थाहा हुन सकेको छैन । जब कि वायुको मात्राको विश्लेषण गरेर आगामी कदम चाल्न र सचेतनामूलक जानकारी दिन वातावरण विभागले हरेकजसो सहरमा एकदेखि दुई करोड रुपैयाँ खर्चेर गुणस्तर मापन केन्द्र स्थापना गरेको थियो ।
वातावरण विभागले मर्मतसम्भारमा ध्यान नदिँदा धनगढी, नेपालगन्ज, सुर्खेत, दाङ, लुम्बिनी, पोखरा (डिएचएम), पोखरा (पियू), सौराहा, सिमरा, दमक, धुलिखेल, जनकपुर, विराटनगर र भरतपुरमा रहेका वायु गुणस्तर मापन केन्द्र एकदेखि चार महिनाअघिबाट बिग्रेका हुन् । त्यस्तै, काठमाडौं उपत्यकामा रहेका सातमध्ये तीनवटा केन्द्र मात्र सञ्चालनमा छन् ।
भक्तपुर, भैँसेपाटी, पुल्चोक र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा रहेका मापन केन्द्र थन्किएर बसेका छन् । वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेका अनुसार कीर्तिपुर र लुम्बिनीमा रहेका मापन केन्द्रको तथ्यांक हाल डाटा सर्भरमा उपलब्ध नभए पनि मर्मतपछि उपलब्ध हुने अवस्थामा छ । तर, बाँकी थन्किएका केन्द्रको वायुको हालको मात्रा रेकर्ड भएको छैन । त्यहाँको वायु गुणस्तरको अवस्था के छ भनेर हाल मापनमा छैन । मापन केन्द्रले हावामा रहेका मसिना धुलोका कण तथा ग्यासको मात्राको विश्लेषण हरेक मिनेटमा दिन्छ । ती केन्द्रबाट प्राप्त सूचना एकीकृत रूपमा वातावरण विभागको वेबसाइट (डब्लुडब्लुडब्लु डट पोलुसन डट जिओभी डट एनपी) मा हुनुपर्छ ।
केन्द्र स्थापना भएको क्षेत्रको हावालाई तानेर धुलो, धुवाँ र ग्यासको मात्रा विश्लेषण गर्छ । यसरी वायुमण्डलमा रहेको वायु प्रदूषणको मात्रालाई वायु गुणस्तर सूचकांक पिएम– १, पिएम– २.५ र पिएम– १० मा विश्लेषण (पार्टिकुलर म्याटर)लाई माइक्रोग्राम प्रतिघनमिटरमा मापन गरेर) गर्छ । जसबाट वायु गुणस्तर मापन केन्द्र क्षेत्रमा रहेको वायु प्रदूषणको मात्रा तत्काल थाहा पाउन सकिन्छ भने ती तथ्यांकलाई विश्लेषण गरेर सरकारले वार्षिक कार्ययोजनामार्फत वायु प्रदूषण नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न मद्दत पुग्छ ।
वातावरण विभागले भने मर्मतका लागि प्रक्रिया झन्झटिलो हुँदा ढिलाइ भएको जनाएको छ । विभागकी सूचना अधिकारी सरोजा अधिकारीका अनुसार विभागको जनशक्तिमार्फत मर्मत सम्भव भएका वायु गुणस्तर मापन केन्द्र पुनः सञ्चालनमा ल्याइएको छ । ‘तर, बिग्रिएकामध्ये धेरैजसो मापन केन्द्र बाहिर जनशक्ति (निजी क्षेत्र) मार्फत मर्मत गर्नुपर्ने देखिएको छ, यसका लागि टेन्डर आह्वान गरेर अगाडि बढ्नुपर्छ,’ उनले भनिन्, ‘त्यसैले केही ढिलो भएको हो । बजेटको पनि समस्या छ ।’ सार्वजनिक खरिद ऐनअनुसार पाँच लाखभन्दा माथिको खरिद प्रक्रिया प्रतिस्पर्धामार्फत गर्नुपर्छ । मर्मतका लागि केही पाटपुर्जा खरिद पनि गर्नुपर्ने देखिएको उनले बताइन् ।
विभागमार्फत सञ्चालनमा रहेका २७ मध्ये नौवटा वायु गुणस्तर मापन केन्द्र मात्र सञ्चालनमा छन् । तर, तीमध्ये राराको वायुको अवस्था मात्र स्वस्थकर देखिएको छ । राराको वायुको मात्रा रियल टाइममा पिएम– २.५ (पार्टिकुलेट म्याटर)को मात्रा ३१ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ, जुन स्वस्थकर हो । आइतबार साँझको तथ्यांक हेर्दा पिएम– २.५ को मात्रा झुम्कामा १९५, शंखपार्कमा १८४, महेन्द्रनगरमा १६७, खुमलटारमा १५८, रत्नपार्कमा १५४, धनकुटामा १५२, पोखरा (जिबिएस) मा १४४ र हेटौँडामा ११९ छ । यस्तो सूचकांक १०० देखि १५० पुग्नुलाई बालबालिका तथा वृद्धका लागि तथा श्वासप्रश्वाससम्बन्धी रोग भएकाका लागि अस्वस्थकर मानिन्छ भने १५० देखि २०० सम्मलाई सबै उमेर समूहलाई स्वास्थ्य समस्या देखिन सक्ने हुन्छ र घरबाहिर धेरै समस्या बिताउन नहुने भनिन्छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले केही दिनयता काठमाडौंको तल्लो वायुमण्डलमा हावा कम चल्न थालेको छ, जसकारण प्रदूषण बढाउन मद्दत पुगेको हुन सक्ने बताउँछन् । ‘काठमाडौंमा तल्लो वायुमण्डलमा प्रतिघन्टा सात किलोमिटरका दरले मात्र हावा चलिरहेको छ, यसले प्रदूषण बढाउने तत्व तल्लो वायुमण्डलमा थिग्रिएर बसेको हुन सक्छ,’ उनले भने ।
वातावरणविज्ञ भूपेन्द्र दास भन्छन्–प्रदूषणको तथ्यांकले कार्ययोजना, नीति बनाउन मद्दत गर्छ
संविधानले नै स्वच्छ र स्वस्थ बाँच्न पाउने हकको ग्यारेन्टी गरेको छ । स्वच्छ र स्वस्थ वातावरण त परैको कुरा हामी कस्तो हावामा श्वास फेर्दै छौँ भनेर पनि जानकारी नहुने स्थिति बन्नुभएन । काठमाडौंका एक–दुई स्थानमा वायु गुणस्तर मापन केन्द्र राख्दैमा सिंगो उपत्यकाको वायुको गुणस्तर थाहा हुँदैन । त्यसरी नै देशका केही क्षेत्रको वायु गुणस्तर मापन गर्दैमा पूरै देशको वायु गुणस्तर थाहा हुँदैन ।
वायु गुणस्तर मापन केन्द्र बढाउँदै लग्नुपर्नेमा बिग्रेर बसेका छन्, थन्काइएको छ । यो राम्रो होइन । कुन ठाउँको वायु, कति खेर कुन अवस्थामा रहन्छ भनेर जानकारी भयो भने त सरकारलाई कार्ययोजना, नीति बनाउन मद्दत गर्छ । पिएम– २.५ स्वास्थ्य र जलवायुसँग जोडिएको विषय हो ।