विनाविभागीय मन्त्रीलाई दिन बिताउन सकस

शुक्रबार, १५ पुष, २०७९
डिजिटल संस्करण

बधाई खान र खादा लगाउँदै बित्छ समय, ‘समय कटाउन’ कोही जान्छन् सिंहदरबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले जिम्मेवारी सम्हालेको चार दिन भइसक्यो । तीनै उपप्रधानमन्त्री पहिलो निर्णय सुनाउँदै ‘फिल्ड’मा उत्रिएका छन् । तर, उनीहरूसँगै नियुक्ति भएका चार मन्त्री भने अझै जिम्मेवारीविहीन छन् । उनीहरूलाई समय बिताउन पनि ‘सकस’ भइरहेको छ । 

आठ सदस्यीय मन्त्रिपरिषद्मा एमालेका तर्फबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्रकुमार राई तथा जनमत पार्टीका तर्फबाट अब्दुल खान मन्त्रालयको पछि टुंगो लगाउने गरी विनाविभागीय मन्त्री छन् । सिंहदरबारमा मन्त्रालयको टुंगो नहुँदा उनीहरू मन्त्रीक्वार्टर, पार्टी कार्यालय वा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै समय बिताउन बाध्य छन् । तीनतिर घुम्दै बधाई खाने र खादा लाउनेमै उनीहरूको दिन बितिरहेको छ । कोही मन्त्री ‘समय कटाउन’ बेलाबेला सिंहदबारस्थित प्रधानमन्त्री कार्यालय पनि पुग्छन् ।

जनमत पार्टीबाट मन्त्री बनेका खानले जिम्मेवारी नपाउँदा अप्ठ्यारो महसुस भइरहेको बताए । ‘शपथ खाइयो, क्याबिनेट बैठक पनि बसियो, तर त्यसपछि केही गर्न सकिएको छैन,’ उनले भने, ‘अरू मन्त्रीहरूले काम गरेको देख्दा आफू पनि सुरु गरिहालौँ भन्ने चाहना त हो । तर, जिम्मेवारी तय नहुँदा अप्ठ्यारो लाग्ने रहेछ । दिन कटाउन सकस हुने रहेछ । चाँडै जिम्मेवारी पाइयोस् भनेर पार्टी अध्यक्षलाई भनेको छु ।’

३६ वर्षीय खान सिंहदरबारभित्र आफू बस्ने कार्यालय टुंगो नलागेकाले अहिले पार्टीकै कार्यालयमा भेटघाट गरेर समय बिताइरहेका छन् । उनी कहिले मन्त्रीक्वार्टरमै भेटघाट गरिरहेका छन्, कहिले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा त कहिले बुद्धनगरस्थित पार्टी कार्यालयमा । ‘यो पाँच दिनदेखि यी तीन ठाउँमै मेरो समय बितिरहेको छ, भेटघाट, बधाई र शुभकामना खाएरै दिन बितिरहेको छ,’ उनले हाँस्दै भने । 

सरकारमा उनको जिम्मेवारी नतोकिए पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने आश्वासन छ । सोहीअनुसार उनले यस मन्त्रालयको कामकारबाहीबारे स्वअध्ययन गर्न भने थालिसकेका छन् । ‘पूरै समय यसै बिताउन पनि भएन । त्यसैले अलिअलि अध्ययन पनि गरिरहेको छु,’ उनले भने । जनमत पार्टीबाट समानुपातिकतर्फ निर्वाचित सांसद खान बुधबार पुल्चोकस्थित मन्त्रीक्वार्टरमा सरिसकेका छन् । 

त्यस्तै, बारा ३ मा एमालेबाट सांसद निर्वाचित ज्वालाकुमारी साह मन्त्री नियुक्त भएको चार दिन भइसक्दासम्म पनि सिंहदरबार गएकी छैनन् । सोमबार मन्त्रीक्वार्टरमा सरेकी उनी त्यतै कार्यकर्ता र शुभचिन्तकसँग भेटघाट गरिरहेकी छिन् । ‘जिम्मेवारी टुंगो लागेपछि जाँदा नै मज्जा हुन्छ भनेर अहिले सिंहदरबार गएकी छैन,’ उनले भनिन्, ‘पार्टीबाट चाँडै जिम्मेवारी टुंगो लाग्छ भन्ने छ । छिटो हुँदा काममा लाग्न पाइन्छ भन्ने हो, तर केही छैन, आत्तिएकी छैन ।’ 

क्वार्टरभित्रै समय बिताउँदा असहज महसुस भइनसकेको उनले बताइन् । ‘जिल्लाबाट कार्यकर्ता बधाई र शुभकामना दिन आइरहेका छन् । उनीहरूसँगै भेटघाट, सरसल्लाह र अन्तत्र्रिmया कार्यक्रममा सहभागी हुँदैमा दिन बितिरहेको छ,’ उनले भनिन् । उनले कुन मन्त्रालय पाउने, त्यस विषयमा अहिले पक्का भइसकेको छैन । ‘देशमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायत तमाम समस्या छन् । जुन मन्त्रालयको जिम्मेवारी दिए पनि जनताको पक्षमा काम गर्ने हो । त्यसैले जिम्मेवारी लिएर काम गर्न म आतुर छु,’ उनले भनिन् । 

एमालेकै कोटाबाट नियुक्त दुई विनाविभागीय मन्त्री राजेन्द्रकुमार राई र दामोदर भण्डारी भने आफ्नो जिम्मेवारी टुंगो नलागे पनि सिंहदरबार आउजाउ गरेका छन् । कहिले प्रधानमन्त्री कार्यालय पुग्छन् भने कहिले अन्य मन्त्रालयमा गएर विषयवस्तु बुझ्ने गरेका छन् । प्रधानमन्त्री कार्यालयमा उनीहरूलाई छुट्टै कार्यालय भने छैन । ‘कहिले प्रधानमन्त्रीको कार्यालय, कहिले अर्थ मन्त्रालयमा गएर बसिरहेको हुुन्छु,’ मन्त्री राईले भने, ‘स्वाभाविक रूपमा छिटो जिम्मेवारी पाए हुन्थ्यो भन्ने त लाग्छ नै । तर, नेता–कार्यकर्ताको भेटघाट कम भएको छैन । भेट्न आउनेका कुरा सुनेरै समय बितिरहेको छ । जिम्मेवारी नपाएसम्म यसरी नै व्यस्त भइएला ।’ कुनै मन्त्रालयप्रति पनि आफ्नो दाबी नरहेको उनले बताए । ‘पार्टीको निर्णयअनुसार जस्तो जिम्मेवारी दिइन्छ, त्यही निभाउन म मानसिक रूपमा तयार छु,’ उनले भने । राई धनकुटा १ बाट निर्वाचित सांसद हुन् । 

बैतडीमा एमालेबाट सांसद निर्वाचित भएर आएका अर्का मन्त्री भण्डारी कार्यकर्तासँग खुसी साटासाटमै दिन कटाइरहेका छन् । ‘पार्टीले सरकारमा पठाएको छ, तर परिस्थितिवश सरकारमा भूमिका प्रस्ट भइसकेको अवस्था छैन,’ उनले भने, ‘परिस्थितिका कारण यस्तो भयो, त्यसैले अन्यथा लिएको छैन । जिल्लाबाट कार्यकर्ता भेट्न आइरहेका छन् । पाँच दिन बधाई र शुभकामना लिएरै बित्यो ।’

विनाविभागीयमन्त्रीको जिम्मेवारी कहिले तोकिन्छ भन्ने अनिश्चित छ । प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । नयाँ बनेको गठबन्धनभित्र कुन दलले कति मन्त्रालय पाउने भन्ने टुंगो नलाग्दासम्म विनाविभागीयमन्त्रीको जिम्मेवारी तय हुने सम्भावना कम छ । उनीहरूले शपथ लिँदासम्म नयाँ गठबन्धनलाई समर्थन गरेको सात दलमध्ये राप्रपा र जसपाले सरकारमा जाने विषयमा निर्णय गरेका थिएनन् । बुधबार मात्रै राप्रपाले ससर्त सरकारमा जाने निर्णय गरेको हो । नागरिक उन्मुक्ति पार्टीले त अझै पनि रेशम चौधरीको रिहाइ, ५८ जना कार्यकर्ताको मुद्दा फिर्तालाई मुख्य सर्त बनाएको छ । त्यसैले अहिलेसम्म पनि कुन दलले कति मन्त्रालय लिने भन्ने विषयमा सत्तागठबन्धनभित्र सहमति हुन सकेको छैन । मन्त्रालय बाँडफाँडमा गठबन्धनभित्रका दलमा सहमति नजुटेकाले विनाविभागीयमन्त्रीका रूपमा रहनुपरेको मन्त्री राजेन्द्रकुमार राईले बताए । ‘बाँडफाँडमा कुरा मिल्नेबित्तिकै हाम्रो जिम्मेवारी तोकिन्छ भन्ने कुरा छ,’ उनले भने । 
 

सुझावित समाचार