सरकारी बेवास्ताले प्रदेश १ मा उन्मूलन भएन कुष्ठरोग

सोमबार, ११ पुष, २०७९
डिजिटल संस्करण
सरकारी बेवास्ताले प्रदेश १ मा उन्मूलन भएन कुष्ठरोग

कुष्ठरोगका कारण अपांगता भएका गौरीगन्ज–१ का बुद्धिलाल दास । तस्बिर : नयाँ पत्रिका

उन्मूलन घोषणाको १२ वर्षसम्म पनि कुष्ठरोगको ग्राफ उस्तै, बजेट विनियोजनमा सरकारको कञ्जुस्याइँ

सरकारले कुष्ठरोग उन्मूलन घोषणा गरेको एक दशक बिते पनि प्रदेश १ मा कुष्ठरोगको ग्राफ उस्तै छ । कागजी घोषणापछि सरकारको बेवास्ताले कुष्ठरोगीको संख्या उल्लेख्य घट्न सकेको छैन । 

यद्यपि, सरकारी तवरबाट भने विगतमा जस्तो कुष्ठरोग नियन्त्रणका लागि प्रभावकारी काम हुन सकेको छैन । सन् २०१० मा नै सरकारले नेपालबाट कुष्ठरोग उन्मूलन भएको घोषणा गरेको थियो । तर, अहिले पनि गाउँ–गाउँमा कुष्ठरोगी फेला परिरहेका छन् । अधिकांश कुष्ठरोगी अपहेलना सहनुपर्ने डरले अस्पतालसम्म आउँदैनन् । 

प्रदेश १ मा चालू आर्थिक वर्षको चार महिनामा मात्र चार सय ४८ जना नयाँ कुष्ठरोगी थपिएको प्रदेश १ स्वास्थ्य निर्देशनालयले जनाएको छ । थपिएका उनीहरूले नियमित औषधि सेवन गरिरहेको निर्देशनालयका क्षय–कुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाईंले जानकारी दिए । सरुवा रोगका रूपमा रहेको कुष्ठरोग ६ महिना वा एक वर्ष औषधि खाएपछि रोकथाम हुन्छ । यद्यपि पूर्ण रूपमा निको भने हुँदैन । 

कुष्ठरोगका लागि सरकारले प्रत्येक सरकारी स्वास्थ्य संस्थामा औषधि निःशुल्क उपलब्ध गराएको गुरागाईंले जानकारी दिए । तर, उन्मूलनको १२ वर्षसम्म पनि कुष्ठरोग शून्यमा झर्न सकेको छैन । निर्देशनालयका अनुसार गत आर्थिक ०७८/७९ मा प्रदेश १ मा प्रत्येक एक लाख जनसंख्यामा ६.९२ प्रतिशतमा कुष्ठरोग देखिएको थियो । गत आर्थिक वर्षमा ६ सय ९१ जना नयाँ कोष्ठरोगीको पहिचान भएको गुरागाईंले बताए । तीमध्ये केहीले औषधिको डोज पूरा गरेको उनले बताए । भेटिएकामध्ये सबैभन्दा धेरै तराईका जिल्लामा छन् । जसमध्ये झापामा दुई सय २२, मोरङमा दुई सय ८५, सुनसरीमा एक सय ४७ तथा मोरङमा र उदयपुरमा १७ जना नयाँ कुष्ठरोगी ०७८/७९ मा भेटिएको गुरागाईंले जानकारी दिए । 

कुष्ठरोग देखिएकामध्ये ८.७ प्रतिशतमा आँखाले देखिने गरी शारीरिक अपांगता देखिने गरेको गुरागाईंले जानकारी दिए । सरकारले कुष्ठरोग उन्मूलन भएको घोषणा गरे पनि प्रदेश १ मा शून्यमा झर्न नसकिएको उनी बताउँछन् । श्वासप्रश्वासका माध्यमबाट सर्ने भएका कारण पनि यो रोगलाई शून्यमा झार्न नसकिएको उनले बताए । एक दशकअघि सरकारले गाउँ–गाउँमा गएर कुष्ठरोगी पत्ता लगाउँदै उनीहरूको सम्पर्कमा रहेकाको समेत जाँच गर्ने गरेको थियो । यद्यपि, अहिले त्यस्तो सक्रियता नरहेको निर्देशनालयका क्षय–कुष्ठ अधिकृत गुरागाईंले जानकारी दिए । ‘एक दशक पहिलासम्म गाउँ–गाउँमा गएर कुष्ठरोगी पत्ता लगाउने र श्वासप्रश्वासको माध्यमबाट सर्ने भएकाले उनीहरूका सम्पर्कमा रहेकाको समेत जाँच गर्ने गरिहेको थियो,’ उनले नयाँ पत्रिकासँग भने, ‘अहिले त्यस्ता कार्यक्रम छैन । गाउँसम्म जान सकिएको छैन ।’ 

प्रदेश १ मा कुष्ठरोगको ग्राफ नघट्दा पनि प्रदेश सरकारले कुष्ठरोग शीर्षकमा बजेट विनियोजन नै गर्दैन । संघको ससर्त अनुदानमा केही कार्यक्रम आए पनि त्यो पर्याप्त नभएको गुरागाईंले बताए । चालू आर्थिक वर्षमा पनि सरकारले कुष्ठरोग नियन्त्रणका लागि ठूलो बजेट विनियोजन गरेको छैन । प्रदेश स्वास्थ्य निर्देशनालयका क्षय–कुष्ठ अधिकृत गुरागाईंले संघीय सरकारले ससर्त अनुदानमा औषधि खरिदमा चार लाख, स्वास्थ्यकर्मीका लागि तालिममा २७ लाख, समीक्षा बैठकमा ६ लाख, समन्वयात्मक बैठकमा ९० हजार र कुष्ठरोग दिवसका लागि ५० हजार बजेट दिएको उनले बताए । कुष्ठरोगले अपांगता भएकाका लागि सहायक सामग्री खरिदका लागि ६ लाख आएको उनले बताए । त्यसका लागि अपांग महासंघलाई बजेट दिइने उनले बताए । यसपटक पनि जनचेतना र कुष्ठरोग पहिचानका लागि बजेट विनियोजन नभएको उनले बताए । 

कुष्ठरोग नियन्त्रणका लागि राज्यले बेवास्ता गर्दा यो रोग फैलन सक्ने खतरा रहेको उनी बताउँछन् । ‘अहिलेको अवस्था हेर्दा प्रदेश १ मा यो रोग अझै फैलन सक्ने चिन्ता छ । सरकारले पनि कम बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘उन्मूलन भएको घोषणापछि दातृ निकायले पनि सहयोग बन्द गरे । समस्या भयो भने राज्यले केही न केही उपाय गर्छ होला !’

जनचेतनाको अभावले शारीरिक अपांगता
झापा गौरीगन्ज– १ का बुद्धिलाल दास (५१) लाई २५ वर्षअघि कुष्ठरोग देखियो । जिउ सुन्नियो, हातखुट्टा चलाउनै भएन । आर्थिक रूपले विपन्न दासले जसोतसो प्रारम्भिक उपचार गरे । परिवारमा एक्लो उनी अहिले पनि आफन्तको शरणमा छन् । चेतना अभावले ढिलो मात्र उपचार गर्दा उनका हातखुट्टा कामै नलाग्ने भएको छ । यद्यपि, उनलाई खानका लागि अर्काकोमा काम गर्नुपर्ने बाध्यता छ । दासले जनचेतना अभावका कारण जथाभावी काम गर्दा उनको हात र खुट्टाका औँला गुम्न पुग्यो । हालसम्म कसैले पनि केही सहयोग नगर्दा कष्टकर जीवन बिताउन बाध्य भएको उनी बताउँछन् । 

गौरीगन्ज– १ कुञ्जीबारीकी तिलाकुमारी 
खड्काको दुई वर्षअघि हातखुट्टा दुख्ने, निदाउने समस्या देखियो । उनले नजिकैको क्लिनिकमा देखाइन् । तीन महिनासम्म क्लिनिकमा देखाउँदा पनि निको नभएपछि विराटनगर गएर जाँच गराउँदा उनीमा कुष्ठरोग पुष्टि भयो । 

जनचेतना अभावका कारण ढिला उपचार गर्न जाने भएका कारण शारीरिक अपांगता बढ्दै गएको झापा, मोरङ र सुनसरीमा कुष्ठरोगका बिरामी हेर्दै आएको संस्था फेयरमिड फाउन्डेसनका कार्यक्रम संयोजक पवन राईले जानकारी दिए । उनका अनुसार मन्त्रालयको तथ्यांक औषधि सेवन गर्न आउनेको तथ्यांक हो । अझै पनि औषधि सेवन गर्न नआई कुष्ठरोग लुकाउनेको संख्या हाल देखिएको भन्दा दोब्बर हुन सक्ने उनको आकलन छ । समाजले बहिष्कार गर्ने डरका कारण बिरामीलाई बाहिर ल्याउन डराउने भएका कारण पनि कुष्ठरोग बढ्दै गएको स्वास्थ्य निर्देशनालयका क्षय–कुष्ठ अधिकृत गुरागाईंले बताए । ‘कुष्ठरोगीलाई अहिले पनि समाजले स्वीकार गर्दैन । चेतनाको अभावका कारण रोग लुकाएर बस्ने चलन छ । जसले शारीरिक अपांगताजस्तो भयावह स्थिति निम्त्याउँछ,’ उनले भने । 

खुला सीमाका कारण कुष्ठरोग उन्मूलन भएन
क्षय–कुष्ठ अधिकृत गुरागाईंका अनुसार कुष्ठरोगी पूर्व–पश्चिम राजमार्गदेखि दक्षिणतर्फका धेरै छन् । अर्थात् भारतीय सीमा जोडिएका पालिकामा धेरै कुष्ठरोगी छन् । प्रदेश १ का तराईका जिल्ला भारतीय सीमासँग जाडिएका छन् । श्वासप्रश्वासबाट सर्ने कुष्ठरोग नेपालमा भन्दा भारतमा धेरै रहेको फेयर मेडका कार्यक्रम संयोजक राई बताउँछन् । ‘खुला सीमाका कारण नेपाल–भारतमा आउजाउ सहज छ । नेपालमा भन्दा धेरै भारतमा यसका बिरामी छन्,’ उनले भने, ‘सरुवारोग भएका कारण भारतबाट सरेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।’ स्वास्थ्य निर्देशनालयका क्षय–कुष्ठ अधिकृत गुरागाईंले पनि कोसी अस्पतालमा उपचार गराउन आउने कुष्ठरोगीमध्ये दोब्बर संख्यामा भारतीय नागरिक हुने गरेको बताए । यद्यपि, भारतीयको तथ्यांक भने नराखिएको उनले बताए । ‘हामीले उपलब्ध गराएको तथ्यांक नेपालीको मात्र हो । कोसीमा उपचार गराउन दैनिक पाँचजना नेपाली आउँदा १० जना भारतीय कुष्ठरोगको उपचार गराउन आउँछन्,’ उनले भने । 

कसरी सर्छ कुष्ठरोग ? 
दमक अस्पतालका छालारोग विशेषज्ञ डा. गुरु पौडेलका अनुसार कुष्ठरोग दीर्घकालीन रोग हो । यसले छाला र सँगै रहेको नसामा असर गर्ने उनी बताउँछन् । ‘यो रोग मुख्य त ब्याक्टेरियाबाट सर्ने । शरीरिभित्र ब्याक्टेरिया छिरेपछि कसैलाई एक–दुई वर्ष त २०–२५ वर्षसम्ममा पनि देखिन सक्छ । सर्ने माध्यम यही हो भन्ने किटान गर्न सकिन्न । तर, श्वासप्रश्वासको माध्यम र छालामा एकदमै क्लोज कन्ट्याक्ट भयो भने पनि सर्ने सम्भावना हुन्छ,’ उनले भने, ‘छिटो पत्तालगाउन सक्दा अपांगता हुने सम्भावना कम हुन्छ । ढिलो भयो भने नसालाई असर गरेर पूर्ण रूपमा काम नगर्ने हुन सक्छ ।’ कुष्ठरोग देखिएको ठाउँमा शरीरको अंगले चिसो–तातो थाहा नहुनेदेखि हातखुट्टा नचल्नेसम्मको समस्या आउने डा. पौडेलले बताए । ‘ढिला उपचार भयो भने कुष्ठरोग देखिएको शरीरको अंगले दुखाइ थाहा पाउँदैन, पोल्नको पनि थाहा पाउँदैन,’ उनी भन्छन्, ‘त्यस्तो अवस्थामा आगोले पोलेर, अनि जथाभावी गर्नाले अपांग हुने सम्भावना धेरै हुन्छ ।’ दमक अस्पतालमा पनि महिनामा एक–दुईजना नयाँ कुष्ठरोगका बिरामी फेला परिरहेको उनले बताए । भारतमा धेरै यो रोग देखिएका कारण तराईका दक्षिणी क्षेत्रका जनतामा कुष्ठरोगको समस्या रहेको डाक्टर पौडेल बताउँछन् । 

सुझावित समाचार