सरकारले तराईका नागरिकलाई शीतलहरको जोखिमबाट जोगाउन घरका भित्ता माटोले लिपपोत गर्ने योजना कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सरकारले यो योजना कार्यान्वयनमा ल्याउन लागेको हो ।
यसका लागि प्रतिघर १० हजार रुपैयाँ वितरण गर्ने तयारी छ । सम्बन्धित स्थानीय तह र जिल्ला प्रशासनको समन्वयनमा उक्त रकम सेवाग्राहीलाई वितरण गरिनेछ । उक्त रकमले चिसो नछिर्ने गरी घरका भित्ता लिपपोत गर्नुपर्नेछ । प्राधिकरणले यसको निर्णय गरिसकेको छ ।
प्राधिकरणका कार्यकारी अधिकृत अनिल पोखरेलले तराईका नागरिकलाई शीतलहरबाट जोगाउन घरका भित्ता लिपोपोत गर्ने योजना कार्यान्वयनमा ल्याइएको बताए । ‘चिसो सुरु भइसकेको छ । चिसोबाट प्रभावित हुनेको तथ्यांक मुलुकभरिबाट आउन सुरु गरिसकेको छ । विशेषगरी तराईका जनता शीतलहरबाट अन्यको तुलनामा बढी प्रभावित हुने गर्छन् । यसलाई न्यूनीकरण गर्नु सरकारको कर्तव्य हो,’ उनले भने, ‘त्यसका लागि उनीहरूका घरका भित्ता लिपपोत गर्ने योजना कार्यान्वयन गर्ने भएका छौँ । प्रतिघर दश हजार रुपैयाँ खर्च गरे पुग्छ । निर्णय भइसकेको छ । यो काम अब धमाधम अघि बढ्नेछ ।’
‘प्यासिभ हिटिङ हाउस’बारे अध्ययनमा प्राधिकरण
मंगोलिया संसारकै चिसोमध्येको एक देश हो । चिसोयाममा त्यहाँ चौबिसै घन्टा हिउँ पर्छ । तथ्यांकअनुसार मंगोलियाको सरदर तापक्रम माइनस ४ देखि माइनस ८ डिग्री सेल्सियससम्म हुन्छ । तर, त्यहाँ चिसोबाट कक्रिएर मर्ने नै हुँदैन । किनकि त्यहाँका घरको बनावट नै फरक ढंगको छ । प्रत्येक वर्षको चिसोबाट सर्वसाधारण जोगाउन प्राधिकरण त्यस्ता घरको ‘डिजाइन’मा लागेको छ, जसलाई प्राधिकरणले ‘प्यासिभ हिटिङ हाउस’ नाम दिएको छ । यस्ता घर विशेषगरी पहाड र हिमाली क्षेत्रमा बढी प्रभावकारी हुने प्राधिकरणको बुझाइ छ । ‘प्रत्येक वर्षको चिसोमा मान्छे मर्ने गरेका छन् । यसबाट दीर्घकालीन रूपमै जोगिन घरको ‘इन्जिनियरिङ’ नै बदल्ने हो कि भन्ने योजनामा हामी छौँ । जसलाई हामीले ‘प्यासिभ हिटिङ हाउस’ नाम दिएका छौँ । यसमा हामी ‘रिसर्च’ गर्दै छौँ । यसले केही समय भने लिन सक्छ,’ पोखरेलले भने ।
चिसोबाट मृत्यु भएका परिवारलाई दुई लाख राहत
सरकारले चिसो तथा शीतलहरका कारण मृत्यु भएकाको परिवारलाई राहत दिने उद्देश्यले तराईका प्रत्येक जिल्ला प्रशासन कार्यालयमा २५ लाख रुपैयाँको विपत् व्यवस्थापन कोष खडा गरेको छ । यो कोष पहाडका जिल्ला प्रशासन कार्यालयमा २० लाख र हिमाली क्षेत्रका जिल्ला प्रशासन कार्यालयमा १५ लाख रुपैयाँको खडा गरिएको छ । चिसो र शीतलहरका कारण मृत्यु भएका परिवारलाई सोही कोषबाट सरकारले राहत रकम दिनेछ ।
प्राधिकरणका अनुसार मृत्यु भएका परिवारलाई प्रतिमृतक न्यूनतम दुई लाख रुपैयाँ वितरण हुनेछ । एकै परिवारका दुईजनाको मृत्यु भएमा तीन लाख रुपैयाँ दिइनेछ । त्यसभन्दा माथि जति मृत्यु भए पनि बढीमा पाँच लाख रुपैयाँ वितरण हुने प्राधिकरणले जानकारी दिएको छ । ‘चिसो र शीतलहरका कारण मृत्यु भएका प्रतिपरिवारलाई दुई लाख रुपैयाँ दिने नीति छ । एकै परिवारका दुई सदस्यको मृत्यु भएको हो भने तीन लाख र त्यसभन्दा धेरै मृत्यु भएका छन् भने पाँच लाख रुपैयाँसम्म दिने सरकारको योजना छ । विगतका वर्षमा पनि यो काम हुँदै आएका थिए,’ कार्यकारी अधिकृत पोखरेलले भने ।
चिसो सुरु भइसकेको छ । चिसोबाट प्रभावित हुनेको तथ्यांक मुलुकभरिबाट आउन सुरु गरिसकेको छ । विशेषगरी तराईका जनता शीतलहरबाट अन्यको तुलनामा बढी प्रभावित हुने गर्छन् । यसलाई न्यूनीकरण गर्नु सरकारको कर्तव्य हो । त्यसका लागि उनीहरूका घरका भित्ता लिपपोत गर्ने योजना कार्यान्वयन गर्ने भएका छौँ । प्रतिघर दश हजार रुपैयाँ खर्च गरे पुग्छ । निर्णय भइसकेको छ । यो काम अब धमाधम अघि बढ्नेछ ।
अनिल पोखरेल, कार्यकारी अधिकृत, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

चिसो सुरु भइसकेको छ । चिसोबाट प्रभावित हुनेको तथ्यांक मुलुकभरिबाट आउन सुरु गरिसकेको छ । विशेषगरी तराईका जनता शीतलहरबाट अन्यको तुलनामा बढी प्रभावित हुने गर्छन् । यसलाई न्यूनीकरण गर्नु सरकारको कर्तव्य हो । त्यसका लागि उनीहरूका घरका भित्ता लिपपोत गर्ने योजना कार्यान्वयन गर्ने भएका छौँ । प्रतिघर दश हजार रुपैयाँ खर्च गरे पुग्छ । निर्णय भइसकेको छ । यो काम अब धमाधम अघि बढ्नेछ ।
मधेसमा १० वर्षमा शीतलहरबाट ११९ को मृत्यु
प्राधिकरणका अनुसार तराईमा दश वर्षमा शीतलहरका कारण एक सय १९ को मृत्यु भइसकेको छ । जसमध्ये झापामा एक, नवलपरासीमा एक, सिराहामा ११, सप्तरीमा १९, धनुषामा चार, महोत्तरीमा १५, रौतहटमा ६३, बारामा दुई र अन्य जिल्लामा तीनजनाको मृत्यु भएको थियो ।
गत साता मात्रै सर्लाहीको हरिपुर नगरपालिका– ९ पिडारीमा चिसोले कठ्यांग्रिएर ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका– ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको मृत्यु भएको थियो । रमेश दिनभर धान काटेर घर फर्किएका थिए । परिवारसँगै सुतेका उनको चिसोले कक्रिएर मृत्यु भएको थियो । रामभगतको पनि सुतेकै अवस्थामा कक्रिएर मृत्यु भएको थियो ।
सरकारले विगतमा शीतलहरबाट जोगिन तराईका स्थानीयलाई दाउरा, कम्बल, ज्याकेटलगायत न्यानो कपडा वितरण गर्दैै आएको थियो । यस वर्ष पनि सरकारले स्थानीयलाई दाउरा, कम्बल, ज्याकेटलगायत न्यानो कपडा वितरण गर्नेछ । त्यससँगै तातो बनाउन घरका भित्ता माटोले लिपपोत गर्ने भएको छ । तराईमा अधिकांश विपन्न परिवारका घरका भित्ता, बाँस र चोयाका कप्टेरोले बनेका हुन्छन् । छानो भने फुस तथा टालीले छाएका हुन्छन् । जहाँबाट सजिलै चिसो छिर्न सक्छ । भित्ता माटोले लिपपोत गर्दा चिसो छिर्न नसक्ने र कठ्यांग्रिएर मर्नेको संख्या न्यूनीकरण गर्न सकिने प्राधिकरणको बुझाइ छ ।
‘प्रत्येक वर्षको शीतलहरमा तराईमा विपन्न सबैभन्दा धेरै प्रभावित हुने गर्छन् । उनीहरूका घर बाँसका कप्टेरोले बनेका हुन्छन् । त्यस्ता कप्टेराका भित्ता माटोले लिप्न सकियो भने चिसो छिर्न सक्दैन । साथै, कम्बल, ज्याकेट, दाउराको पनि प्रबन्ध गर्छौैँ । यसो गरिँदा मर्नेको संख्या न्यूनीकरण हुने हाम्रो विश्वास छ,’ प्राधिकरणका कार्यकारी अधिकृत पोखरेलले भने ।