अज्मतुल्लाह ओमार्जाई र सुनम गौतमले १ सय १४ रनको साझेदारी गर्दा काठमाडौं नाइट्सले नेपाल टी–२० लिगमा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा भएको खेलमा काठमाडौंले पोखरा एभेन्जर्सलाई २६ रनले हराएको हो । ८.४ ओभरमा ४८–५ को अवस्थामा रहेको काठमाडौंलाई अज्मतुल्लाह ओर्माजाईले उकासे । उनले अविजित ८५ रन प्रहार गर्दा काठमाडौंले १९ ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६२ रनको योगफल बनायो । उनलाई अविजित २७ रन बनाउँदै सुनम गौतमले साथ दिए । केही ढिला खेल सुरु गर्न परेकाले उद्घाटन खेलमा एक ओभर छोट्याइएको थियो ।
ओमार्जाईको सात छक्का
खेलमा टस हारेर काठमाडौंले पहिले ब्याटिङ गर्नुपरेको थियो । सातौँ नम्बरमा ब्याटिङ गर्न आएका ओमार्जाईले ४२ बलमा तीन चौका र सात छक्का प्रहार गरे । त्यस्तै, २८ बलमा २७ रन बनाउने क्रममा सुनमले दुई चौका प्रहार गरे । त्यसैगरी, एलेक्स ब्लेकले २२ बलमा २१ रन, भिरन्दीप सिंहले १५ बलमा १० रनको योगदान गरे । बाँकी खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । ओपनर सन्तोष कार्कीले तीन रन र कप्तान ज्ञानेन्द्र मल्ल शून्यमा आउट भए । पोखराका प्रतिस जिसी र जाहि खानले दुई–दुई विकेट लिएका थिए । मौसम ढकालले एक विकेट लिए ।
एक सय ६३ रनको मध्यम लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३६ रनमा सीमित भयो । ओपनर उपुल थरंगाले बलियो सुरुवात गरे पनि बाँकी खेलाडीले साथ दिन नसक्दा पोखरा पहिलो खेलमै स्तब्ध भयो । श्रीलंकाका ३७ वर्षीय विकेटकिपर तथा ओपनर उपुलले ३४ बलमा ६ छक्कासहित ४४ रनको योगदान गरेका थिए ।
राष्ट्रिय टोलीका सदस्य आरिफ शेखले २० रन बनाउँदा अमिर हाम्जा, अभिमन्यु मिथुनले समान १८ रन जोडे । सिद्धान्त लोहनी १३ रनमा अविजित रहे । कप्तान शरद भेषवाकर ६ रन बनाउँदा रनआउट भए । बाँकी खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । बलिङतर्फ काठमाडौंका अभिनाश बोहराले सर्वाधिक तीन विकेट लिए । त्यसैगरी, बसिर अहमदले दुई तथा अनिल खरेलले एक विकेट लिएका थिए ।
साझेदारी राम्रो भयो
ज्ञानेन्द्र मल्ल, कप्तान, काठमाडौं नाइट्स
हामीले योभन्दा राम्रो गर्ने सोचेका थियौँ । तर पनि जित हासिल भएकाले खुसी नै छौँ । अप्ठ्यारो परिस्थितिमा पनि कमब्याक गर्न सफल भयौँ । । ओमार्जाई र सुनमले जितको आधार तयार पारेका थिए । बलिङमा समेत राम्रो गर्न सफल भयौँ ।
सुरुवातमा जस्तो खेल्न सकेनौँ
शरद भेषवाकर, पोखरा एभेन्जर्स
सुरुवात राम्रो भएको थियो । तर, पछि त्यसले निरन्तरता पाएन । हामी खेलमा फर्कन सकेनौँ । तयारी राम्रो थियो । विकेट पनि नसोचेको जस्तो भयो । बाँकी खेलमा राम्रो गर्छाैं । प्रतियोगिता खेल्न पाउँदा खुसी छौँ ।
दीपेन्द्रको अलराउन्डर प्रदर्शन
शनिबारै भएको अर्को खेलमा कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा लुम्बिनी अलस्टार्सले जित निकाल्यो । ३५ रन प्रहार गरेका दीपेन्द्रले कसिलो बलिङ गर्दै तीन विकेट लिएपछि लुम्बिनीले फार वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गरेको हो । लुम्बिनीले प्रस्तुत गरेको एक सय ५३ रनको लक्ष्य पछ्याएको फार वेस्ट १६.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमै सीमित बन्यो ।
फार वेस्टका कप्तान हस्मतउल्लाह साहिदीले सर्वाधिक ३५ रन बनाए । विनोद भण्डारीले १३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । तीन खेलाडी एक रनमा आउट हुँदा ओपनर हरिशंकर शाह शून्यमा पेभिलियन फर्किएका थिए । लुम्बिनीका दीपेन्द्रसिंह ऐरीले २.२ ओभर बलिङ गरेर तीन विकेट लिने क्रममा केवल ६ रन खर्चिए । यसैगरी, सागर ढकालले चार ओभरमा १७ रन खर्चिएर दुई विकेट लिए । प्याट ब्राउन, किशोर महतो र विपुल शर्माले समान एक विकेट लिए ।
यसअघि, टस जितेर ब्याटिङ गरेको लुम्बिनीबाट लाहिरू मिलन्था र दीपेन्द्रसिंह ऐरीले ८४ रनको साझेदारी गर्दै बलियो आधार तयार पारेका थिए । लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५२ रन बनाएको थियो । श्रीलंकाका २८ वर्षीय ओपनर मिलन्थाले ५० बलमा आठ चौका र एक छक्का मद्दतमा सर्वाधिक ६० रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३८ बलमा ३५ रन जोडेका थिए । आक्रामक ब्याटिङ गरेका गुल्सन झाले १० बलमा २५ र विपुल शर्माले १२ रन बनाए । फार वेस्टका लागि उमेर अली खान र करण केसीले समान तीन विकेट लिए ।