५५ लाख पेस्की लिएको १० महिना बित्दा पनि सुरु भएन दुनै–ल्यासीक्याप सडकको काम

ठेकेदार सम्पर्कमा नआउँदा काममा ढिलासुस्ती

बिहिबार, ७ पुष, २०७९
डिजिटल संस्करण

जिल्ला सदरमुकाम दुनै–ल्यासीक्याप सडकखण्डको काम सम्झौता भएको १० महिना बितिसक्दा पनि सुरु हुन सकेको छैन। भेरी करिडोरअन्तर्गत पर्ने यस सडकखण्ड निर्माणका लागि ०७८ चैतमा सूर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनीसँग सम्झौता भए पनि अझै काम सुरु भएको छैन।

चीन–नेपालको सीमावर्ती क्षेत्र मोरिम्ला हुँदै भारतको रुपैडिया जोड्ने महत्वपूर्ण रणनीतिक तथा व्यापारिक सडक खण्डअन्तर्गत पर्ने यस खण्डको काम यथाशक्य सुचारु गराउन बारम्बार ताकेता गरे पनि निर्माण कम्पनीले अझै काम सुरु नगरेको सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर दिलीप यादवले गुनासो गरे।

‘ठेक्का किन नतोड्ने व्यहोरासहितको ताकेतापत्र दुईपटक काटिसकेका छौँ। एउटा पत्र गत मंगलबार सातदिने समयसीमा राखेर काटिएको छ। सात दिनभित्र सम्पर्कमा आएर काम सुरु नभए ठेक्का तोड्ने प्रक्रियामा जान्छौँ,’ इन्जिनियर यादवले भने। ‘सम्झौता भएलगत्तै काम सुरु गर्ने भनेर ५५ लाख पेस्की रकमसमेत गइसकेको छ। ठेकेदारका कारण काममा ढिलासुस्ती भएको हो,’ उनले थपे।

यस आयोजनाको कुल लागत १३ करोड ४१ लाख भएको कार्यालयले जनाएको छ। दुनै–ल्यासीक्याप सडकखण्ड हुँदै काइके गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका हुँदै चीनसँगको सीमामा पर्ने मोरिम्ला नाका पुग्न सकिन्छ।

सडक डिभिजनलाई गाउँपालिकाको ताकेता
सडक डिभिजन कार्यालय चौरजहारीलाई काइके गाउँपालिकाले यस सडकखण्डको काम तत्काल सुरु गराउन भन्दै २८ मंसिरमा ताकेतापत्र लेखेको छ।

पत्रमार्फत सम्झौता भएको महिनौँ बितिसक्दा पनि गाउँपालिका हुँदै उपल्लो डोल्पासम्म जोड्ने सडक बन्द भएको र आमनागरिकलाई आवतजावतमा समस्या भएकाले निर्माण कम्पनीलाई तत्काल काम सुरु गराउन अनुरोध गरिएको छ। सडकखण्डको काम सुरु नभएकै कारण काइके गाउँपालिकासहित उपल्लो डोल्पा पुग्ने सर्वसाधारणलाई धेरै सास्ती भएको काइके गाउँपालिकाका अध्यक्ष अंगत रानाले बताए।

तत्कालै काम सुरु गर्छौँ : निर्माण कम्पनी
यता श्रेया निर्माण कम्पनीका प्रतिनिधि भीम बोहोराले तत्काल काम सुरु गराउने प्रतिबद्धता जनाएका छन्। सम्झौता भएलगत्तै काम सुरु गर्ने भनेर डोजर ल्याउन प्रयास गरे पनि बर्खामा खोलानाला बढेर डोजर तार्न नसक्दा काममा ढिलाइ भएको उनले बताए।

‘यस सडक निर्माण गर्नुपर्ने समयसीमा झन्डै तीन वर्ष छ। अब एक वर्षभित्रै काम सम्पन्न गर्ने गरी यही पुस २० भित्र काम सुरु गर्छौँ,’ उनले भने।  एकैपटक दुई डोजर ल्याउनुपर्ने र बर्खाको समयमा खोलानाला बढेर डोजर तार्न समस्या भएकाले काममा ढिलाइ भएको निर्माण कम्पनीको भनाइ छ।

सुझावित समाचार