नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट लिग नेपाल टी–२० को तयारी अन्तिम चरणमा पुगेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता प्राप्त टी–२० फ्रेन्चाइज लिगमा आबद्ध ६ वटा टोलीले आ–आफ्नो तयारीलाई अन्तिम रूप दिँदै छन् । प्रतियोगिता शुक्रबारदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ । प्रतियोगिता १० जनवरीसम्म चल्नेछ ।
लिगमा काठमाडौं नाइट्स, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फार वेस्ट युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् । क्यानले ड्राफ्टमार्फत खेलाडी अनुबन्ध गरेको हो । नेपाली खेलाडीलाई तीन क्याटेगोरीमा विभाजन गरिएको थियो । खेलाडी अक्सनमा सहभागी फेन्चाइजले क्याटेगोरी ‘ए’बाट एक, क्याटेगोरी ‘बी’बाट चार र क्याटेगोरी ‘सी’बाट ६ नेपाली खेलाडी अनुबन्ध गरेका थिए । अक्सनमा फार वेस्ट युनाइटेडले १२ नेपाली खेलाडी अनुबन्ध गरेको थियो ।
पहिलो संस्करणमा ६७ नेपाली खेलाडी छनोट भए । क्याटेगोरी ‘ए’मा रहेका खेलाडीले १५ लाख, ‘बी’का खेलाडीले १० लाख र ‘सी’का खेलाडीले पाँच लाख पाउनेछन् । क्यानले नेपाली खेलाडीबाहेक हरेक फ्रेन्चाइज टोलीले कम्तीमा पाँच विदेशी खेलाडी पनि अनुबन्ध गर्न पाउने प्रावधान बनाएको छ । जनकपुर रोयल्सले वेस्ट इन्डिजका खेलाडी ट्रेभोन ग्रिफिथको कप्तानीमा टोली बनाएको छ ।
जनकपुरको प्रशिक्षकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षकसमेत रहेका उमेश पटवाल छन् । लुम्बिनीका मुख्य प्रशिक्षकमा इंग्ल्यान्डका पिटर ट्रेगो र प्रशिक्षकमा नेपालकै मनोज कटुवाल रहेका छन् । पोखराले सामसङजंग थापालाई प्रशिक्षकको जिम्मेवारी दिएको छ । विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सले समान ६ विदेशी खेलाडी भिœयाएका छन् । फार वेस्ट युनाइटेडले पाँच विदेशी खेलाडी अनुबन्ध गरेको छ ।