कर्णाली प्रादेशिक विमानस्थलको काम अघि बढ्यो

आइतबार, ३ पुष, २०७९
डिजिटल संस्करण

सुर्खेतको भेरीगंगा नगरपालिकाको रामघाटमा बन्न लागेको कर्णाली प्रादेशिक विमानस्थलको काम अघि बढेको छ। वीरेन्द्रनगर विमानस्थलको विकल्पका रूपमा भेरीगंगाको रामघाटमा विमानस्थल निर्माण गर्न लागिएको हो।

सुर्खेत वीरेन्द्रनगरमा रहेको विमानस्थल साँघुरो भएकाले त्यसको विस्तारका लागि कर्णाली प्रदेश सरकार र संघीय सरकारले लामो समयसम्म प्रयास गरे पनि विस्तार गर्न नसकेपछि भेरीगंगा नगरपालिकाको रामघाटमा वैकल्पिक रूपमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण गर्न लागिएको हो।

विमानस्थल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनलगायतका काम अगाडि बढाएको छ। प्रादेशिक विमानस्थलका लागि विस्तृत सम्भाव्यता अध्ययन र इआइए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पठाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर नलविक्रम थापाले जानकारी दिए। ‘विमानस्थलको विस्तृत अध्ययनको काम सकिएको छ,’ उनले भने, ‘वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पठाइएको छ। मन्त्रालयबाट पास गर्ने काम हुन सकेको छैन।’

भेरीगंगा नगरपालिकाको वडा नं. ९, १० र ११ को वन क्षेत्रमा पर्ने विमानस्थलमा दुई हजार सात सय ७९० मिटर लामो र ४५ मिटर चौडा धावनमार्ग निर्माण हुने इन्जिनियर थापाले बताए। ‘धावनमार्गमा समानान्तर दुईवटा एक हजार तीन सय ७५ मिटर लम्बाइ र ३० मिटर चौडाइ ट्याक्सी मार्ग बन्नेछन्,’ उनले थपे, ‘एप्रोन मार्ग सात सय  मिटर एक सय ३० चौडाइ रहेछ। विमानस्थल टर्मिनल, स्टाफ क्वाटर, पार्किङ आदि निर्माण हुनेछन्।’

विमानस्थल दुई सय २४.४ हेक्टर क्षेत्रफलमा निर्माण गरिने इन्जिनियर थापाले बताए। यो विमानस्थल आन्तरिक उडान तथा अवतरणका लागि निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ। चालू आर्थिक वर्ष ०७९–८० को बजेटमार्फत विमानस्थलका लागि चार करोड चार लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए।

‘यो बहुवर्षीय आयोजनाका रूपमा रहनेछ,’ उनले भने, ‘विमानस्थलको कामको तयारी तीव्र रूपमा अगाडि बढ्नेछ।’ वातावरणीय प्रभाव मूल्यांकन (इआइए) वन तथा वातावरण मन्त्रालयले पास गरेमा जग्गा अधिग्रहणको काम अघि बढ्ने प्राधिकरणले जनाएको छ।

सुझावित समाचार