नौवटा विश्वकपका फाइनलमा युरोपियन राष्ट्र मात्रै

बुधबार, २८ मंसिर, २०७९
डिजिटल संस्करण
नौवटा विश्वकपका फाइनलमा युरोपियन राष्ट्र मात्रै

सन् १९८२ को विश्वकप फाइनलमा इटालीले फाइनलमा युरोपकै प्रतिद्वन्द्वी पश्चिम जर्मनीलाई ३–१ ले हराउँदै उपाधि जित्यो । फाइल तस्बिर

कतारमा सञ्चालन भइरहेको विश्वकप २२औँ संस्करण हो । विश्वकपको तथ्यांकअनुसार २१ मध्ये नौ फाइनल युरोपियन राष्ट्रबीच मात्र भए । संयोग कस्तो छ भने इटालीले चारैपटक विवश्वकप उपाधि जित्दा युरोपकै प्रतिद्वन्द्वीलाई फाइनलमा हराएको थियो । विश्वकपमा दुई संस्करण मात्र दक्षिण अमेरिकीबीच भएको थियो । अहिलेसम्म विश्वकपको इतिहासमा दक्षिण अमेरिका र युरोपियन राष्ट्रबीच मात्र उपाधि भिडन्त भएको छ । 

इटाली २–१ चेकोस्लोभाकिया
सन् १९३४ (अतिरिक्त समय)

विश्वकपको दोस्रो संस्करणमै दुई युरोपियन राष्ट्रबीच उपाधि भिडन्त भएको थियो । उपाधिको छिनोफनो अतिरिक्त समयबाट भयो । खेलको ७१औँ मिनेटमा पुकले चेकोस्लोभाकियालाई १–० को अग्रता दिलाए । खेलको ८१औँ मिनेटमा इटालीले १–१ को बराबरी गोल फर्कायो । अतिरिक्त समयको पाँचौँ मिनेटमा स्चिआभिनोले गोल गर्दै इटालीलाई २–१ को जित दिलाए । स्चिआभिनोको गोलमै इटाली पहिलोपटक विजेता बन्यो । 

इटाली ४–२ हंगेरी
सन् १९३४

विश्वकप इतिहासमा इटाली ब्याक टु ब्याक उपाधि जित्ने पहिलो राष्ट्र हो । फ्रान्समा भएको तेस्रो संस्करणमा इटालीले उपाधि रक्षा गर्ने क्रममा हंगेरीलाई फाइनलमा ४–२ ले हरायो । इटालीले खेलको छैटौँ मिनेटमा कोलाउसीले १–० का लागि गोल गरे । खेलको आठौँ मिनेटमा टिकोसले हंगेरीलाई १–१ का लागि गोल गरे । खेलमा पिओलाले १६औँ र २२औँ मिनेटमा गोल गर्दै इटालीलाई उपाधि दिलाए । 

पश्चिम जर्मनी ३–२ हंगेरी
सन् १९५४

विश्वकपको पाँचौँ संस्करणमा युरोपियन राष्ट्रबीच नै फाइनल भयो । स्विट्जरल्यान्डमा भएको विश्वकपको फाइनलमा पश्चिम जर्मनीले हंगेरीलाई ३–२ ले पाखा लगाउँदै उपाधि उचाल्यो । उपाधि भिडन्तको पहिलो १० मिनेट नाटकीय भयो । यस अवधिमा तीन गोल भएको थियो । पुस्काले खेलको छैटौँ र जिबोरले आठौँ मिनेटमा गोल गर्दै हंगेरीलाई २–० को अग्रता दिलाए । खेलको १०औँ मिनेटमा मोर्लोकले २–१ को अन्तरमा झारे । खेलको १८औँ मिनेटमा राहनले पश्चिम जर्मनीलाई २–२ को बराबरी गरे । खेलको ८४औँ मिनेटमा राहनले पश्चिम जर्मनीलाई विश्वकप उपाधि दिलाउने गोल गरे । 

इंग्ल्यान्ड ४–२ पश्चिम जर्मनी 
सन् १९६६ (अतिरिक्त समय)

इंग्ल्यान्डले पहिलोपटक आयोजना गरेको विश्वकपको फाइनलमा पश्चिम जर्मनी परेको थियो । इंग्ल्यान्डले पश्चिम जर्मनीलाई अतिरिक्त समयमा ४–२ ले हराउँदै पहिलोपटक विश्वकप उपाधि उचाल्यो । खेलको १२औँ मिनेटमा हालेरले पश्चिम जर्मनीलाई १–० को अग्रता दिलाए । खेलको १८औँ मिनेटमा इंग्ल्यान्डलाई १–१ को बराबरी गराए । खेलको ७८औँ मिनेटमा पेटर्सले इंग्ल्यान्डलाई २–१ को स्थितिमा राखे । खेलको वेवरले पश्चिम जर्मनीलाई २–२ को स्थितिमा ल्याए । हट्र्सले अतिरिक्त समयमा दुई गोल गर्दा इंग्ल्यान्डले बाजी मार्यो । 

पश्चिम जर्मनी २–१ नेदरल्यान्ड्स
सन् १९७४

विश्वकपको दशौँ संस्करणमा युरोपियन राष्ट्रबीच नै उपाधि भिडन्त भएको थियो । यसपटक पश्चिम जर्मनी र नेदरल्यान्ड्सबीच फाइनल भयो । प्रतिस्पर्धामा पश्चिम जर्मनीले नेदरल्यान्ड्सलाई ३–१ ले हराउँदै दोस्रोपटक उपाधि उचाल्यो । खेलको दोस्रो मिनेटमा नेदरल्यान्ड्सले पेनाल्टी गोल गर्दै १–० को अग्रता लियो । खेलको २५औँ मिनेटमा व्रेटनर र खेलको ४३औँ मिनेटमा मुलरले गोल गर्दै पश्चिम जर्मनीलाई उपाधि दिलाए । 

इटाली ३–१ पश्चिम जर्मनी
सन् १९८२

स्पेनले आयोजना गरेको विश्वकप इटालीले हात पार्यो । इटालीले फाइनलमा युरोपियन राष्ट्र पश्चिम जर्मनीलाई ३–१ को फराकिलो अन्तरले पाखा लगायो । फाइनलका चारै गोल मध्यान्तरपछि भएको थियो । खेलको ५७औँ मिनेटमा रोसीले इटालीलाई १–० को अग्रता दिलाए । खेलको ६९औँ मिनेटमा टेडेली र खेलको ८१औँ मिनेटमा अल्टोवेलीले गोल गर्दा इटाली ३–० ले अगाडि रह्यो । खेलको ८३औँ मिनेटमा पश्चिम जर्मनीले एक गोल फर्काएको थियो । 

इटाली १–१ फ्रान्स 
सन् २००६ (५–३ पेनाल्टी सुटआउट )

इटालीले चौथोपटक विश्वकप उपाधि उचाल्न २४ वर्ष प्रतीक्षा गर्यो । सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा इटालीले फाइनलमा युरोपकै राष्ट्र फ्रान्सलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै चौथोपटक ट्रफी हात पार्यो । निर्धारित समयमा दुवै पक्षबाट १–१ को बराबरी भएको थियो । निर्धारित समयमा जिनेदिन जिदानले सातौँ मिनेटमा पेनाल्टी गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाए । खेलको १९औँ मिनेटमा मेटेराजीले इटालीलाई १–१ को बराबरीमा ल्याए । अतिरिक्त समयमा जिदानले रातो कार्ड पाएका थिए । 

स्पेन १–० नेदरल्यान्ड्स
सन् २०१० (अतिरिक्त समय)

दक्षिण अफ्रिकामा पहिलोपटक आयोजना भएको विश्वकपमा नयाँ विजेता स्पेन बन्यो । स्पेनले विश्वकपभरि नै बल पोसेसन पकड जमाउँदै विश्व च्याम्पियन उपाधि जित्यो । निर्धारित समयमा गोलरहित बराबरी भएको थियो । स्पेनले अतिरिक्त समयमा गोल गर्दा नेदरल्यान्ड्सको उपाधि जित्ने सपना पूरा भएन । स्पेनका लागि विश्व च्याम्पियनसिप गोल एन्ड्रेस इनिस्टाले गरेका थिए । 

फ्रान्स ४–२ क्रोएसिया
सन् २०१८

२१औँ विश्वकपको फाइनल दुई युरोपियन राष्ट्रबीच भयो । फ्रान्स दोस्रोपटक फाइनलमा पुग्दा क्रोएसिया पहिलोपटक पुग्यो । फ्रान्सले क्रोएसियालाई ४–२ ले हराउँदै दोस्रोपटक विश्वकप ट्रफी उचाल्यो । फ्रान्सका लागि ग्रिजम्यान, पोग्वा र एम्बाप्पेले गोल गरेका थिए । क्रोएसियाका लागि पेरिसिक र मान्डुजिकीले गोल गरे । मान्डुजिकीले खेलको १८औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । 

सुझावित समाचार