अर्जेन्टिना र नेदरल्यान्ड्स कारबाहीमा

मंगलबार, २७ मंसिर, २०७९
डिजिटल संस्करण

फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सलाई कारबाही गर्ने भएको छ । २२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्सका खेलाडीले मैदानमा अनुशासन तोडेका कारण फिफाले कारबाहीको तयारी गरेको छ । फिफाले यी दुवै राष्ट्रलाई कारबाहीस्वरूप जनही १६ हजार डलर जरिवाना गर्न लागेको छ । 

विश्वकपको दोस्रो क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराउँदै सेमिफाइनल स्थान पक्का गरेको थियो । निर्धारित समयमा दुवै टोलीले २–२ को बराबरी खेलेका थिए । निर्धारित र अतिरिक्त समयमा नेदरल्यान्ड्स र अर्जेन्टिनाका खेलाडी एकआपसमा झगडा गरेका थिए । खेललाई नियन्त्रणमा राख्न स्पेनिस रेफ्री म्याथ्युले विश्वकप इतिहासको एकै खेलमा सर्वाधिक १७ पहेँलो कार्ड देखाए । 

खेलाडीले खेलभावनाविपरीत मैदानमा व्यवहार देखाएका कारण नै खेलमा धेरै पहेँलो कार्ड देखाइएको हो । नेदरल्यान्ड्सले खेल सकिन केही सेकेन्ड बाँकी रहँदा २–२ को बराबरी गोल फर्काएको थियो । अतिरिक्त समयमा समाप्तिपछि अर्जेन्टिनाका बेन्चमा रहेका खेलाडी मैदानमा जाँदै नेदरल्यान्ड्सका खेलाडीसँग विवादमा उत्रिएका थिए । खेलमा नेदरल्यान्ड्सका डेन्जेलले दुई पहेँलो कार्डसहित रातो कार्ड पाएका थिए ।

सुझावित समाचार