सरल सवारी कर्जा सुविधाको माग गर्दै अटोमोबाइल व्यवसायी धर्नामा

मार्जिन र कर्जाको जोखिमभारले व्यवसाय प्रभावित हुने भन्दै हटाउन नाडाको माग

शुक्रबार, २३ मंसिर, २०७९
डिजिटल संस्करण

माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने नाडाको अडान

देशमा सवारीसाधन बिक्री हुने वातावरण बनाउन माग गर्दै अटोमोबाइल व्यवसायी सडकमा उत्रिएका छन् । गाडी बिक्री ठप्प भएपछि अटो व्यवसायीहरूले सरकारलाई दबाब दिन विभिन्न मागहरू राखेर माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिएका हुन् । 

सरकार र राष्ट्र बैंकले लिएका अमैत्रीपूर्ण नीतिहरूले अटोमोबाइल व्यवसाय धराशायी हुने अवस्थामा पुगेको व्यवसायीको गुनासो छ । नाडा अटोमोबाइल एसोसिएसनको नेतृत्वमा बिहीबार आयोजित विरोध कार्यक्रममा व्यवसायीहरू कालोपट्टी बाँधेर विभिन्न नारा लेखिएका प्लेकार्ड बोकी धर्नामा बसेका थिए । देशमा गाडी बिक्री हुने सहज वातावरण बनाउनुपर्ने अटो व्यवसायीको माग छ । बैंकको बढ्दो ब्याजदर नियन्त्रण, चालू पुँजी कर्जा मार्गर्दशन २०७९ स्थगन, कर्जाको सीमा बढाउनुपर्ने, नगद मार्जिन र जोखिम भार पहिलेकै अवस्थामा ल्याउनुपर्ने नाडाले माग गरेको छ । 

नाडाले आठ महिनादेखि रोकिएको निजी प्रयोजनका कार, जिप, भ्यान, एक सय ५० सिसीभन्दा माथिका मोटरसाइकल आयातमा लगाएको प्रतिबन्ध फुकुवा गर्न पनि माग गरेको थियो । सरकारले १ पुसदेखि लागू हुने गरी सवारीसाधन आयात फुकुवा गर्ने सैद्धान्तिक निर्णय गरिसकेको छ । १० वटा माग राखेर १७ साउनदेखि नाडा चरणबद्ध शान्तिपूर्ण संघर्षमा उत्रिएको हो । आफूहरूले अगाडि सारेका मागहरू पूरा नभएसम्म आन्दोलन जारी रहने नाडाका अध्यक्ष ध्रुव थापाले बताए ।

माइतीघर मण्डलाको धर्ना कार्यक्रममा अध्यक्ष थापाले सवारीसाधनको आयात फुकुवा गरिए पनि ‘इजी फाइनान्सिङ’ सुविधा उपलब्ध नहुँदासम्म गाडी बिक्री नहुने ठोकुवा गरे । बैंकहरू नाफामुखी भएको र व्यवसाय समाप्त हुने अवस्थामा पुगेको उनको आरोप छ । व्यवसाय ठप्प हुँदा देशभर ७५ भन्दा बढी सोरुम बन्द भइसकेको र यही अवस्था कायम रहेमा अझै धेरै सोरुम बन्द हुने उनको भनाइ थियो । सरकारले अटोमोबाइल व्यवसायमैत्री  नीतिहरू नबनाउँदा आफ्नो सोरुममा व्यस्त हुनुपर्ने व्यवसायीहरू सडकमा आउनुपरेको थापाले बताए । 

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकहरूबाट निजी सवारीसाधनको हायर पर्चेज कर्जाको सीमा ५० प्रतिशतमा झारेको छ । यस्तै, एलसी (प्रतीतपत्र) खोली गाडी आयात गर्न प्रतीतपत्र मार्जिन शतप्रतिशतसम्म पु¥याउनुका साथै कर्जाको जोखिमभार ७५ प्रतिशतबाट बढाएर एक सय ५० प्रतिशत पु¥याइएको छ । हायर पर्चेज लोनको हालको सीमा ५० प्रतिशतबाट वृद्धि गरी कम्तीमा ७० प्रतिशत कायम गर्नुपर्ने नाडाको माग छ । राष्ट्र बैंकले प्रतीतपत्र मार्जिन र कर्जाको जोखिमभार पहिलेकै अवस्थामा ल्याउनुपर्ने नाडा अध्यक्ष थापाले बताए ।

‘सरकारले राजस्व उठ्ती कम भएपछि आयात फुकुवा गरेको हो, व्यवसाय धरापमा परेको देखेर होइन,’ नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले भने, ‘गाडी अयाात फुकुवा भए पनि ५० प्रतिशत नगद मार्जिन कायम रहेको र ५० प्रतिशत मात्रै फाइनान्सिङ हुने व्यवस्थाले गाडी बिक्री बढ्ने सम्भावना छैन ।’ अहिलेको चर्को ब्याजदरमा कसैले पनि बैंकबाट कर्जा लिएर गाडी खरिद नगर्ने उनको भनाइ छ । एकल अंकमा रहेको ब्याजदर बढेर अहिले १८ प्रतिशतसम्म पुगेको छ । बैंकहरूले बेसरेट (आधारदर)मा आठ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज असुली गर्न थालेका छन् ।

मार्जिन र जोखिमभार व्यवस्था खारेजीमा जोड
सवारी साधनको आयात खुले पनि गाडीमा राष्ट्र बैंकले मार्जिन व्यवस्थामार्फत लगाएको अंकुश यथावत् छ । राष्ट्र बैंकले गाडी आयातका लागि प्रतीतपत्र खोल्दा ५० प्रतिशत नगद मार्जिन र पार्टस्मा शतप्रतिशत नगद मार्जिनको व्यवस्था कायम राखेको छ । उक्त व्यवस्थालाई हटाउनुपर्ने अटोमोबाइल व्यवसायीको माग छ ।

केन्द्रीय बैंकले गत वर्ष फागुनदेखि सवारी कर्जामा जोखिमभार एक सय ५० प्रतिशत पुर्याएको छ । त्यसअघि हायर पर्चेज र ओभरड्राफ्ट कर्जाको जोखिमभार ७५ प्रतिशत मात्रै थियो । जोखिम बढी हुने क्षेत्रमा कर्जा प्रवाह गर्दा बैंकले न्यूनतम पुँजी कोष अनुपात थप्नुपर्ने हुन्छ । यसो गर्दा बैंकको लागत बढ्ने हुँदा गाडीमा जाने कर्जा निरुत्साहित गर्ने उद्देश्य केन्द्रीय बैंकको हो । तर, अटो व्यवसायीले यसलाई घटाउनुपर्ने माग राखेका छन् । उनीहरूले आयात खुलाएर मात्रै व्यवसाय नियमित हुन नसक्ने भन्दै त्यसका लागि मार्जिनको व्यवस्था हटाउनुपर्ने तथा कर्जाको जोखिमभार घटाउनुपर्ने माग राखेका हुन् । 

सुझावित समाचार