फ्रान्स क्वार्टरफाइनलमा

सोमबार, १९ मंसिर, २०७९
डिजिटल संस्करण

युवा स्ट्राइकर केलियन एम्बाप्पेको दुई गोलको सहयोगमा आइतबार साबिक विजेता फ्रान्सले पोल्यान्डलाई ३–१ ले हराउँदै कतार विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल स्थान पक्का गरेको छ । अब फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्यान्ड र सेनेगलबीच खेलको विजेतासँग खेल्नेछ । दोहाको अल थुराम रंगशालामा एम्बाप्पले दुवै गोल मध्यान्तरपछि गरेका हुन् । फ्रान्सको सानदार जितमा ओलिभर जिरुडले थप एक गोल गरेका थिए । खेलको अन्तिम इन्जुरी समयमा पोल्यान्डका कप्तान रोबर्ट लेवान्डोस्कीले एक गोल पेनाल्टीबाट गरेका थिए । 

प्रतिस्पर्धामा पोल्यान्डका गोलरक्षक बोज्सिएक सेचेन्जीले उत्कृष्ट प्रदर्शन गरेका थिए । फ्रान्सले सुरुदेखि नै आक्रामक रणनीति बुनेको थियो । प्रशिक्षक डिडिएरले फिनिसिङमा ग्रिजम्यान, एम्बाप्पे र जिरुडलाई पहिलो सेटमै राखेका थिए । समूह चरणमा ट्युनिसियाविरुद्धको प्रतिस्पर्धामा प्रशिक्षक डिडिएरले सुरुवातमा दोस्रो रोजाइका खेलाडी उतारेका थिए । नकआउट चरणको महत्वपूर्ण खेलमा डिडिएरले कुनै प्रयोग गरेनन् । 

 पोल्यान्डको गोल प्रयास
डिडिएरले सबै सेट खेलाडीलाई प्राथमिकतामा राखी पोल्यान्डविरुद्ध प्रतिस्पर्धामा मैदानमा उतारे । पोल्यान्डले फ्रान्सको शक्तिशाली फिनिसिङ रोक्न रक्षापंक्ति र मिडफिल्डमा समान चार खेलाडी राखेको थियो । पोल्यान्डले सुरुमा रक्षात्मक रणनीति अपनाएको थियो । तर, फ्रान्सले लगातार आक्रमण रणनीति बुन्यो । 

यद्यपि, काउन्टर एट्याक्टमा भने पोल्यान्ड फ्रान्समाथि हाबी देखियो । खेलको २८औँ मिनेटमा जिरुडले लगभग खाली पोस्टमै गोल गर्न चुके । डिफेन्डर र गोलरक्षकसमेत बिट भएको अवस्थामा उनले गोल गर्न सकेनन् । खेलको ३५औँ मिनेटमा पोल्यान्डले खेलमै पहिलोपटक तीन आक्रमण बुन्यो । फ्रान्सका गोलरक्षक ह्युगो लोरिसले पोल्यान्डको गोल प्रयासलाई विफल पारे । पोल्यान्डले तीनपटक रिबाउन्समा गोल प्रयास गरेको थियो । 

 इन्जुरी समयमा पेनाल्टी गोल 
पहिलो हाफको ४४औँ मिनेटमा जिरुडको गोलमा फ्रान्सले १–० को अग्रता लियो । जिरुडले एम्बाप्पेको पासमा गोल गरेका हुन् । मध्यान्तरपछि फ्रान्स थप सशक्त रूपमा उत्रियो । फ्रान्सले यसपटक काउन्टर एट्याक्टमा पोल्यान्डको पोस्टमा चार्ज गरेको थियो । यद्यपि, पोल्यान्डका गोलरक्षक सेचेन्जीले फ्रान्सको डरलाग्दो गोल प्रयासलाई विफल पारेका थिए । खेलको ७४औँ मिनेटमा एम्बाप्पेले काउन्टरमा फ्रान्सलाई २–० को अग्रता दिलाए ।  

खेलको अन्तिम इन्जुरी समयमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल थप्दा फ्रान्स ३–० ले अघि बढ्यो । मार्कस थुरामको पासमा एम्बाप्पेले कठिन कोणबाट गोल गरे । इन्जुरी समयको अन्तिम समयमा पोल्यान्डले पेनाल्टी पायो । कप्तान लेवान्डोस्कीको प्रहारलाई गोलरक्षक लोरिसले बचाएका थिए । तर, लोरिस गोललाइनबाट बाहिर आएकाले पुनः लेवान्डोस्कीले प्रहार गर्न अवसर पाए । उनले दोस्रो प्रयासमा गोल गरे । 

See More On

सुझावित समाचार