सन् १९३८ देखि विश्वकपमा एसियन राष्ट्रले पहिलोपटक सहभागिता जनाएको थियो । इन्डोनेसियाले पहिलो एसियन राष्ट्रका रूपमा विश्वकपमा डेब्यु गरेको थियो । विश्वकप इतिहासमा एसियन राष्ट्रले एकपटक मात्र सेमिफाइनल र दुईपटक क्वार्टरफाइनल खेलेको छ । विश्वकपमा एसियन टोलीले केही संस्करणमा अप्रत्याशित नतिजा निकालेको छ । यो डेटामा दक्षिण कोरिया अगाडि छ ।
उत्तर कोरिया १–० इटाली
सन् १९६६ (प्रि–क्वार्टरफाइनल)
सन् १९६० मा उत्तर कोरिया पहिलोपटक विश्वकपमा सहभागी भएको थियो । उत्तर कोरिया समूह ४ मा थियो । यस समूहलाई ग्रुप अफ डेथ भनियो । उत्तर कोरियाले विश्वकपमा सोभियत युनियनसँग डेब्यु खेल खेल्दा ३–० ले पराजित भयो । अन्तर्राष्ट्रिय खासै अनुभव नभएको उत्तर कोरियाले चिलीविरुद्ध दोस्रो खेलमा १–१ को नतिजा निकाल्यो । समूहको तेस्रो खेलमा उत्तर कोरियाले पूर्वविजेता इटालीमाथि १–० को सनसनी जित निकाल्यो । सो विश्वकपको अप्रत्याशित नतिजा नै उत्तर कोरियाले निकालेको थियो । अझ एसियन राष्ट्रबाट नकआउट चरण (क्वार्टरफाइनलमा) स्थान बनाउने उत्तर कोरिया पहिलो देश हो । क्वार्टरफाइनलमा उत्तर कोरिया पोर्चुगलसँग प्रतिस्पर्धात्मक खेलमा ५–३ ले निराश भयो । यससँगै उत्तर कोरियाको विश्वकप यात्रा समाप्त भयो ।
दक्षिण कोरिया २–१ इटाली
सन् २००२ (प्रि–क्वार्टरफाइनल)
सन् १९६६ पछि एसियन राष्ट्रले विश्व फुटबलकै हेभिवेट तथा पूर्वविजेतालाई हराउन ३६ वर्ष प्रतीक्षा गर्नुपर्यो । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा पहिलोपटक आयोजना गरेको विश्वकपमा यो रेकर्ड बन्यो । प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा आयोजक दक्षिण कोरियाले इटालीसँग भिडेको थियो । समूह चरणमा अपराजित रहेको दक्षिण कोरिया उत्कृष्ट फर्ममा थियो । इटालीसँगको नकआउट चरण अनुभव थियो । पहिलोपटक प्रि–क्वार्टरफाइनलमा पुगेको दक्षिण कोरिया भने पहिलोपटक पूर्वविजेता इटालीसँग भिड्दा अप्रत्याशित नतिजा निकाल्यो । निकै विवादास्पद बनेको प्रि–क्वार्टरफाइनलमा दक्षिण कोरियाले इटालीलाई गोल्डेन गोलका आधारमा २–१ ले स्तब्ध बनायो । खेलको एक सय १७औँ मिनेटमा जुङ ह्वानले निर्णायक गोल गरेका थिए । विश्वकपमा पहिलोपटक दक्षिण कोरिया अन्तिम आठमा पुग्यो ।
दक्षिण कोरिया ५–२ स्पेन (पेनाल्टी सुटआउट)
सन् २००२ (क्वार्टरफाइनल)
सेमिफाइनल प्रवेशमा दक्षिण कोरियाको भेट स्पेनसँग भयो । युरोपेली तथा विश्व फुटबलमा शक्तिशाली मानिएको स्पेनले दक्षिण कोरियालाई सहज प्रतिद्व्रन्द्वी लिएको थिएन । दक्षिण कोरियाले पनि इतिहास रच्न खेलमा कुनै गल्ती नगर्ने योजनाका साथ स्पेनविरुद्ध प्रतिस्पर्धा गर्यो । स्पेनले खेलमा नियन्त्रण राखे पनि गोल गर्न चुकेको थियो । खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा स्पेन दक्षिण कोरियासँग ५–३ ले स्तब्ध भयो । विश्वकपको सेमिफाइनलमा पुग्ने दक्षिण कोरिया पहिलो एसियन राष्ट्र बन्यो । सेमिफाइनलमा दक्षिण कोरिया जर्मनीसँग १–० ले पराजित भयो । तेस्रो स्थानमा टर्कीले दक्षिण कोरियालाई ३–२ को नतिजामा रोक्यो ।
दक्षिण कोरिया २–० ग्रिस
सन् २०१० (समूह चरण)
एसियाली राष्ट्रको प्रतिनिधित्व गरी विश्वकपमा अप्रत्याशित नतिजा निकाल्नेमा दक्षिण कोरिया निकै अगाडि छ । सन् २०१० मा दक्षिण कोरियाले समूह चरणमा युरोकप विजेता ग्रिसमाथि जित निकाल्यो । समूह ‘बी’मा सन् २००४ को युरोकप च्याम्पियन ग्रिसलाई २–० ले पाखा लगायो । यस खेलमा ली जुङ सुले खेलको सातौँ मिनेटमा गोल गरेका थिए । खेलको ५२औँ मिनेटमा पार्क जी सुङले दक्षिण कोरियाको जित २–० ले पक्का पारे ।
जापान ३–१ डेनमार्क
सन् २०१० (समूह चरण)
जापानको समूह ‘ई’मा नेदरल्यान्ड, क्यामरुन र डेनमार्क थिए । जापानले क्यामरुनलाई पहिलो खेलमा हरायो । त्यसपछि जापानले तेस्रो खेलमा डेनमार्कविरुद्ध प्रतिस्पर्धा गर्यो । युरोपमा डेनमार्क बलियो नै मानिन्छ । डेनमार्क कम्तीमा यस समूहबाट नकआउट चरणमा पुग्ने विश्वास थियो । जापानले डेनमार्कमाथि ३–१ को जित अन्तर निकाल्यो । खेलमा होन्डा, इन्डो र आकाजाकीले गोल गरेका थिए ।
दक्षिण कोरिया २–० जर्मनी
सन् २०१८ (समूह चरण)
रसिया विश्वकपमा जर्मनी साबिक विजेता थियो । उपाधि रक्षा गर्ने लक्ष्यका साथ जर्मनी रसियामा आएको थियो । समूह ‘एफ’को समूह विजेताका रूपमा जर्मनीलाई हेरियो । तर, जर्मनी अन्तिम खेलमा दक्षिण कोरियासँग इन्जुरी समयमा २–० ले स्तब्ध हुँदा प्रतियोगिताबाटै बाहिरियो । पहिलोपटक जर्मनीमाथि जित निकाल्दा दक्षिण कोरियाका लागि किम योङ र सोन हेन मिनले गोल गरेका थिए ।
जापान २–१ कोलम्बिया
सन् २०१८ (समूह चरण)
रसिया विश्वकपमा दक्षिण कोरियापछि जापानले अर्को अप्रत्याशित नतिजा निकाल्यो । जापानले समूह ‘एच’मा दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाविरुद्ध प्रतिस्पर्धा गरेको थियो । कोलम्बियामाथि जापानले २–१ ले जित्यो । यस खेलमा कावागा र ओसाकाले गोल गरेका थिए । जापान रसिया विश्वकपको प्रि–क्वार्टरफाइनलभन्दा माथि बढ्न सकेन ।
साउदी अरेबिया २–१ अर्जेन्टिना
सन् २०२२ (समूह चरण)
चालू विश्वकपमा सुरुमा स्तब्ध नतिजा साउदी अरेबियाले दुईपटकको विजेता अर्जेन्टिनामाथि २–१ को जित निकाल्यो । लियोनल मेसीको कप्तानमा रहेको अर्जेन्टिनाले खेलमा १–० को अग्रता लियो । मेसीले पेनाल्टी गोल गरेका थिए । त्यसपछि अल सेहरीले खेलको ४८औँ र अल दस्वारीले खेलको ५३औँ मिनेटमा गोल गरेसँगै अर्जेन्टिना स्तब्ध भयो ।
जापान २–१ जर्मनी, जापान २–१ स्पेन
सन् २०२२ (समूह चरण)
कतार विश्वकपमा जापानले दुईपटक सनसनी नतिजा निकाल्यो । संयोग कस्तो रह्यो भने जापानले पूर्वविजेतामाथि जित निकालेको हो । पहिलो खेलमै जापानले जर्मनीलाई २–१ ले पाखा लगयो । समूह ‘ई’को अन्तिम खेलमा जापानले स्पेनलाई २–१ कै अन्तरमा स्तब्ध पार्यो ।
इरान २–० वेल्स
सन् २०२२ (समूह चरण)
समूह ‘बी’मा रहेको इरानले दोस्रो खेलमा अप्रत्याशित नतिजा निकालेको थियो । इरानले गेराथ वेल सम्मिलित वेल्ससँगको प्रतिस्पर्धामा २–० को जित हात पार्यो । खेलको ९० मिनेटमा गोलरहित बराबरी भएको थियो । इन्जुरी समयमा इरानका लागि चेस्मी र रेजाएनले गोल गर्दा वेल्स २–० ले पाखा लाग्यो ।