राष्ट्रिय सतर्कता केन्द्रको पार्किङमा एउटा पजेरो डेढ वर्षदेखि थन्किएको छ । मर्मतका नाममा सवा दुई लाख सकाइएको बिएए ६७५२ नम्बरको पजेरो स्टार्ट नै नभएपछि पार्किङमै थन्किएको हो ।
वेला सतर्कताका सचिवले चढ्ने उक्त पजेरो पछिल्लो समय पुल (फिल्ड जाँदा प्रयोग गर्ने गरी)मा थियो । तर, बिग्रिएको भन्दै ०७७ जेठमा कमलपोखरीस्थित पिएम अटोमोबाइल्सबाट मर्मतका नाममा दुई लाख २० हजार ६८९ रुपैयाँ खर्चिए पनि गाडी भने चल्दैन ।
‘इन्जिनमा समस्या आएको भन्दै गाडी मर्मतका लागि लगिएको थियो, पछि मर्मत गरेर ल्याइयो भनियो,’ सतर्कता स्रोत भन्छ, ‘तर, फिल्डका लागि गाडी लैजान खोज्दा स्टार्ट नै भएन । एक घन्टासम्म प्रयास गर्दा पनि स्टार्ट नभएपछि अर्काे गाडी प्रयोग भयो ।’
अहिले पजेरो सतर्कताको पछाडि (दक्षिण)मा रहेको पार्किङमा छ । यही पजेरो मर्मतका नाममा त्यसअघि पनि ०७६/७७ मा ३५ हजार ४८२ र ०७५/७६ मा ७५ हजार ८७९ रुपैयाँ खर्च गरिएको थियो । यस विषयमा सतर्कताका कर्मचारी प्रस्ट जवाफ दिँदैनन् । तर, उनीहरूको भनाइ भने बाझिएको छ । स्टोर शाखाका नायब सुब्बा उमेशकुमार मेहता मर्मत गरेर ल्याइएको पजेरो त्यसको ६ महिनापछि बिग्रिएको र अब फेरि मर्मत गर्ने तयारी रहेको बताउँछन् ।
तर, सतर्कताका सूचना अधिकारीसमेत रहेका उपसचिव हरिप्रसाद शर्मा भने मर्मत गरेर ल्याएपछि नबिग्रिएको दाबी गर्छन् । ‘गाडी स्टार्ट नभएको भन्ने होइन, अहिले पनि चल्छ । उपत्यकाभित्र चलाउन समस्या छैन,’ उनले भने, ‘तर, पुरानो गाडी भएकाले यहाँ सबै पार्टपुर्जा नभएकाले राम्रोसँग मर्मत नभएको भने हो ।’
चालू अवस्थामै रहेको गाडी किन थन्क्याइएको भन्ने नयाँ पत्रिकाको प्रश्नमा शर्माले इन्धनको व्यवस्थापन हुन नसक्दा थन्किएको बताए । ‘मर्मत गरेर ल्याइए पनि नयाँ गाडी आएपछि नलगिएको हो । पुरानो गाडी हो, खर्चिलो छ । तेलको व्यवस्थापन गर्न नसकेर नचलाइएको हो । उपत्यकाभित्र गुड्न समस्या होइन ।’ सतर्कताको बिएए ६७७८ नम्बरको कार पनि थन्किएको छ । यो कार मर्मतका नाममा ०७७/७८ मा १४ हजार ९०५, ०७६/०७७ मा एक लाख ६२ हजार ३०१ र ०७५/७६ मा ४५ हजार ८७ रुपैयाँ खर्च भएको छ । मर्मत गरेर राखिएको कार पनि थन्क्याएरै राख्दा फेरि मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । स्टोर शाखाका नासु मेहता स्टमेट तयार गरेर गाडी मर्मत हुने बताउँछन् ।
कर्मचारीले घरमै राखेर निजी प्रयोजनमा चलाएका मोटरसाइकललाई मर्मत र इन्धन खर्च
सतर्कता केन्द्रमा कर्मचारीका लागि २२ मोटरसाइकल र स्कुटी छन् । जसमध्ये १५ वटा मोटरसाइकल छन् । बा.२ब १७१४, बा.२ब १९५३ र बा.२ब १२३८ नम्बरको मोटरसाइकल कर्मचारीले घरमा लगेर निजी प्रयोजनमा चलाएका छन् । तर, ती मोटरसाइकलका नाममा सतर्कताबाट इन्धन खर्च लिने गरिएको छ । ‘सरकारी मोटरसाइकलका नाममा इन्धन र मर्मत खर्च लिएर निजी मोटरसाइकलमा प्रयोग गर्ने गरिएको छ,’ स्रोतले भन्यो ।
त्यस्तै, बा.१ब ९९२३ नम्बरको मोटरसाइकल केन्द्रमै थन्किएको छ । तर, यही मोटरसाइकलको मर्मतका नाममा चालू आवमा नौ हजारको बिल लेखा शाखामा पुगेको छ । ‘यो मोटरसाइकल प्रयोगमा आएको छैन, तर मर्मतका नाममा बिल पुगेको छ,’ लेखा शाखा स्रोतले भन्यो । यही मोटरसाइकल मर्मतका नाममा ०७७/७८ मा पाँच हजार ६००, ०७६/७७ मा पाँच हजार १५० र ०७५/७६ मा १२ हजार ९०० खर्च भएको छ ।
गाडी सुविधा पाउने पदाधिकारी ६ जना, तर गाडी १२ वटा
सतर्कतामा गाडी सुविधा पाउने पदाधिकारी ६ जना छन् । तर, फिल्ड प्रयोजनका बेग्लै दुईवटाबाहेक पनि १२ गाडी छन् । यी १२ मध्ये १० वटा गाडी चालू अवस्थामा छन् ।
सार्वजनिक खर्च कटौतीका लागि सरकारले जारी गरेको कार्यसञ्चालन निर्देशिका, २०७५ अनुसार मन्त्री, संवैधानिक पदाधिकारी, सचिव, विशिष्ट श्रेणी र सहसचिवले मात्र गाडी सुविधा पाउँछन् । तर, सुशासन कायम गर्न स्थापना भएको प्रधानमन्त्री कार्यालयमातहतको निकायमा भने उपसचिव र शाखा अधिकृतले पनि गाडी चढिरहेका हुन् । बिएए ६७३६ नम्बरको गाडी सिडिई, बिएए ६७५३ नम्बरको गाडी उपसचिवहरूले चढ्ने गरेका छन् । यहाँ गाडी सुविधा पाउनेमा एक सचिव, तीन सहसचिव र प्रहरीका दुई अधिकारी (एक डिआइजी र एक एसएसपी) मात्र छन् । सतर्कतामा १४७ दरबन्दी रहेकामा १०६ कर्मचारी कार्यरत छन् । त्यसबाहेक २७ जना करार सेवामा कार्यरत छन् ।