टी–२० विश्वकप क्रिकेट खेल्न दृष्टिविहीन राष्ट्रिय टोलीको बिदाइ

बुधबार, १४ मंसिर, २०७९
डिजिटल संस्करण

आगामी डिसेम्बर ६ देखि १७ सम्म भारतमा हुने दृष्टिविहीनहरूको टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई बुधबार हेटौँडाबाट बिदाइ गरिएको छ। 

बागमती प्रदेशको राजधानी हेटौँडामा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बुधबार जिल्ला खेलकुद विकास समिति मकवानपुरले एक औपचारिक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो। 

नेपाली राष्ट्रिय क्रिकेट टोली १ मंसिरदेखि दुई सातासम्म हेटौँडामा बन्द प्रशिक्षणमा रहेको जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्गीले जानकारी दिए। 

बन्द प्रशिक्षणका लागि मकवानपुर क्रिकेट संघले मैदान उपलब्ध गराएको थियो। पाल्पाका खिमानन्द गैरेको नेतृत्वमा रहेको १५ सदस्यीय क्रिकेट टोलीलाई प्रशिक्षक नहेन्द्र निरौलाले प्रशिक्षण दिएका थिए। 

नेपाली क्रिकेट टोली डिसेम्बर ४ मा भारत प्रस्थान गर्ने र प्रतियोगिता भने डिसेम्बर ६ बाट हुने प्रशिक्षक निरौलाले जानकारी दिए। नेपाल र भारतसहित प्रतियोगितामा पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका सहभागी हुने प्रशिक्षक निरौलाले बताए।

१५ सदस्यीय नेपाली टोलीमा कप्तान गैरेसहित कास्कीका सुनील राना, प्रेम क्षेत्री, युवराज भण्डारी र काभ्रेका सन्त पहरी (बी–२) बल देख्न सक्ने खेलाडीको रूपमा सहभागी छन्। 

बर्दियाका नरेश चौधरी, रुपन्देहीका शंकर रेग्मी, नुवाकोटका सुरेन्द्र तामा, रुपन्देहीका खेमराज सापकोटा र चितवनका सागर चेपाङ (बी–३) कमजोर दृष्टि भएको खेलाडीको रूपमा सहभागी छन्।

यस्तै, टोलीमा ललितपुरका सागर लामा, जुम्लाका भरत चौलागाईं, कन्चनपुरका हिम खत्री, बर्दियाका राधेश्याम चौधरी, पाल्पाका तमबहादुर फाल भने पूर्ण दृष्टिविहीन खेलाडी (बी–१) को रूपमा सहभागी हुने प्रशिक्षक निरौलाले बताए।

सुझावित समाचार