असन्तोष, अविश्वास, मोहभंग र आक्रोश चुनावमार्फत देखाउँछ काठमाडौं
०३८ सालमा काठमाडौंबाट नानीमैया दाहाल पञ्चायती संसद्मा निर्वाचित हुँदा मुलुकभर तरंग ल्याएको थियो । हालै सम्पन्न निर्वाचनबाट उदाएको वैैकल्पिक शक्तिको आगमनले ४१ वर्षअघिको इतिहास उपत्यकामा पुनः दोहोरिने स्थिति बन्दै गएको छ । काठमाडौं उपत्यकाभित्रका १५ सिटमा परम्परागत राजनीतिक दल र वैकल्पिक शक्तिबीच कडा टक्कर देखिएको छ ।
काठमाडौं १ मा कांग्रेस नेता प्रकाशमान सिंहले चुनाव त जिते । तर, उनको प्रतिस्पर्धा परम्परागतभन्दा पनि वैकल्पिक शक्ति संघर्षबाट उदाएका नेतासँग भयो । सिंहले एक सय २५ मतको अन्तरले मात्रै रवीन्द्र मिश्रलाई पराजित गरे । राप्रपाका उम्मेदवार भए पनि उनी विवेकशील साझा पार्टीबाट उदाएका थिए । उनीसँगै प्रतिस्पर्धा गर्ने पुकार बम र रमेश खरेल पनि वैकल्पिक शक्तिकै पर्याय हुन् ।
काठमाडौं २ मा एमालेका उम्मेदवार मणिराम फुँयाल, राप्रपाका कुन्तीदेवी पोखरेल, माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमबीच कडा प्रतिस्पर्धा छ । युवा नेतृ सोबिताले परम्परागत राजनीतिक दलका सबै प्रतिस्पर्धीलाई उछिनेर अग्रता कायम गरेकी छिन् । उनी परम्परागत नभई वैकल्पिक शक्तिकी उम्मेदवार हुन् ।
मंगलबार बेलुकाको परिणामअनुसार रास्वपाका उम्मेदवारमध्ये सबैभन्दा धेरै मतान्तरले अग्रस्थानमा डा. तोसिमा कार्की छिन् । ललितपुर–३ बाट चुनावी मैदानमा उत्रिएकी उनले नौ हजार तीन सय तीन मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार अमृत खड्काले ६ हजार ६ सय ४३ मत ल्याएका छन् । सोही क्षेत्रबाट प्रतिस्पर्धामा रहेकी ऊर्जामन्त्री फम्पा भुसालले तीन हजार सात सय ५० मत ल्याएर तेस्रो स्थानमा छिन् । डा. तोसिमा पनि वैकल्पिक शक्तिकै उम्मेदवार हुन् ।
त्यसबाहेक, रास्वपाले काठमाडौं– ६, ७ र ८ मा अग्रता हासिल गरेका छन् । ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् । उनीहरूले मंगलबार बेलुकासम्म क्रमशः ६ हजार ६ सय २३, चार हजार चार सय ७२ र ६ हजार नौ सय २१ मत ल्याएका छन् । उनीहरूसँग प्रतिस्पर्धा गर्ने मुख्यतः एमाले र कांग्रेस छन् । उनीहरू दुवै परम्परागत शक्ति हुन् । रास्वपाका तीनजना उम्मेदवार वैकल्पिक शक्ति उम्मेदवार हुन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठले निटकतम प्रतिद्वन्द्वी टेकबहादुर पोखरेलसँग नौ सय ९५ मतले मात्रै चुनाव जिते । उनीसँग प्रतिस्पर्धा गर्ने कांग्रेस, माओवादी केन्द्रका उम्मेदवार थिएन । रास्वपाका उम्मेदवार टेकबहादुर पोखरेलसँग उनको कडा चुनावी टक्कर थियो । पोखरेल पनि परम्परागत नभई वैकल्पिक शक्तिकै उम्मेदवार हुन् ।
रास्वपासँगै उपत्यकाभित्र साझा पार्टी नेपाल, हाम्रो पार्टी नेपाल, नेपाल सुशासन पार्टी चुनावी ‘डायस्पोरा’मा देखिए । उनीहरू सबै परम्परागत राजनीतिक दल भई भर्खर जन्मिएका नयाँ शक्ति थिए । जसले परम्परागत शक्तिलाई कडा ठक्कर दिइरहेको देखिएको छ ।
परम्परागत शक्तिसँग प्रतिस्पर्धा : काठमाडौंको परम्परागत चरित्र
उपत्यकाको मत मनोविज्ञानलाई नजिकबाट नियालेका प्राध्यापक कपिल श्रेष्ठ परम्परागत शक्तिसँग वैैकल्पिक शक्तिको प्रतिस्पर्धा काठमाडौंको परम्परागत चरित्र रहेको बताउँछन् । राज्य शक्तिबाट सधैँ बाहिर रहनुपर्दा काठमाडौंका रैथानले विद्रोहस्वरूप वैैकल्पिक शक्तिलाई समर्थन गर्नुपरेको प्रा. श्रेष्ठको भनाइ छ । उनी भन्छन्, ‘राज्य सञ्चालकबाट दिक्क भएर यहाँका मतदाताले नयाँ अनुहार खोजेका छन् । यहाँका मान्छेलाई विचार र सिद्धान्त पनि चाहिँदैन । सत्तालाई सके ठक्कर, नसके झड्का दिने काठमाडौंको चरित्र हो । काठमाडौंको भोटिङ प्रवृत्ति यही हो, उनीहरू सिद्धान्त र पृष्ठभूमि हेर्दैनन्, पोखरीमा ढुंगा हानेर छाल उत्पन्न गराउँछन् । नाङ्लो ठटाएर हात्ती तर्साउने । जात्रा पनि त्यस्तै, मान्छे पनि त्यस्तै ।’
वैकल्पिक शक्तिको जित स्विकार्न नसक्दा जोगमेहरका कार्यकर्ताले तोडफोडसमेत गरेका थिए
प्रतीकात्मक विद्रोहकै कारण २० वैशाख ०३८ मा काठमाडौंबाट नयाँ उम्मेदवार नानीमैया दाहाल पञ्चायती संसद्मा निर्वाचित भएकी थिइन् । उनले त्यसवेलाका स्थापित नेता जोगमेहर श्रेष्ठलाई भारी मतले हराएकी थिइन् । हार स्विकार्न नसकेर त्यसवेला जोगमेहरका समर्थकले घन्टाघर नै फुटाइदिएका थिए । किनकि नानीमैयाको चुनाव चिह्न घन्टाघर थियो । गोल्छे सार्कीलाई पनि उपत्यकाभित्रका रैथानेले त्यसैगरी चुनावमा जिताएका थिए ।
प्रा. श्रेष्ठ भन्छन्, ‘यहाँको मूल समुदाय भने जहिल्यै सीमान्तकृतजस्तो भयो । सत्तामा सहायक भूमिकामा मात्र रह्यो । यसर्थ, यहाँका रैथानेमा पीडा छ । यसविरुद्ध पूर्णतया विद्रोह गर्न सक्दैनन्, तर त्यसलाई प्रतीकात्मक रूपमा उजागर गर्छन् । यसैक्रममा कहिले नानीमैया दाहाल त कहिले गोल्छे सार्कीलाई पनि जिताउँछन् । असन्तोष, अविश्वास, मोहभंग र आक्रोशको स्थिति चुनावमार्फत विगतदेखि देखाउँदै आएका छन् ।’
अर्का राजनीतिक विश्लेषक प्रा.डा. गंगा थापा उपत्यकाभित्र सधैँ वैैकल्पिक शक्ति जन्मिनुमा परम्परागत शक्तिप्रतिको असन्तुष्टि मुख्य कारण रहेको बताउँछन् । उनी भन्छन्, ‘असन्तुष्टि बढेको छ । यसले पूरा प्रणालीमै विश्वास घट्यो । यसर्थ, यहाँ जनतामा उत्साह छैन । नेताहरूप्रति विश्वास छैन । मानिसमा फ्रस्टेसन छ । सत्ताको केन्द्रमा रहेकाले यसो गरेपछि अब तिमीहरू मात्र छैनाँै, अरू पनि छन् भन्ने धारणा मानिसमा विकास भएको छ । यो मतमार्फत प्रकट भएको छ । काठमाडौंबाट होस् वा बाहिरबाट, संसद्मा नयाँ अनुहार जाने अवस्था देखियो । यद्यपि, यो त्यति सजिलोचाहिँ नहोला ।’