मतगणनाको तयारी के छ ?

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण
मतगणनाको तयारी के छ ?

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तयार पारिएको मतगणनास्थल । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

आइतबार साँझ ५ बजे मतदान सकिएपछि मतदान केन्द्रबाट मतपेटिकालाई सुरक्षा घेरामा गणनास्थल लगिनेछ । एक सय ६५ मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले गणनास्थल तोकेका छन् । मतपेटिका निर्वाचन अधिकृतलाई नबुझाएसम्म सुरक्षाकर्मीलाई सुरक्षाको जिम्मा लगाएर मतदान अधिकृत मतपेटिकासँगै गणनास्थलसम्म जानेछन् । आयोगले मतपेटिकाको सुरक्षामा मतदान अधिकृत, दलका प्रतिनिधिसहित सुरक्षा टोली गृह मन्त्रालयको सुरक्षा योजनाअनुसार खटिने जनाएको छ ।

यसका लागि गृहलाई १० करोड छुट्याइएको छ । मतदान सकिएर मतपेटिका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई बुझाइसकेपछि दलहरूको समन्वयमा मतगणना प्रारम्भ हुनेछ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले काठमाडौं उपत्यका र प्रदेश राजधानीलगायत सुगम ठाउँमा साँझ नै मतगणना सुरु हुने बताए । ‘दुर्गम र सर्वदलीय सहमति हुन सकेका ठाउँमा भोलिपल्ट बिहान गणना कार्य सुरु हुन्छ,’ उनले भने ।

मतगणनास्थलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । तर, तारजालीलाई आयोगले अनिवार्य गरेको छैन । ‘तारजाली निर्वाचन अधिकृतले आवश्यकताअनुसार प्रयोग गर्न सक्छन्,’ अर्यालले भने । आयोगले मतदान सम्पन्न भएपछि १६ दिनभित्र सबै परिणाम दिने योजना बनाएको छ । प्रमुख आयुक्त थपलियाले प्रतिवेदन लेखनको काम सुरु भइसकेको र ढिलोमा २२ मंसिरभित्र राष्ट्रपतिलाई परिणामसहित प्रतिवेदन बुझाउने बताए । आयोगले ७ मंसिरभित्र प्रत्यक्षको र त्यसको पाँच दिनभित्र समानुपातिक मतगणना सकेर प्रतिवेदनलाई अन्तिम रूप दिने उनको भनाइ छ । 

See More On

सुझावित समाचार