‘स्वतन्त्र’ भ्रम सिर्जना गर्ने र अस्थिरता फैलाउने योजनाबद्ध अभियान : पूर्वमन्त्री शाक्य

बुधबार, ३० कार्तिक, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्वमन्त्री डा. अजयक्रान्ति शाक्यले स्वतन्त्रको नाममा भ्रम छर्ने प्रयास भएको बताएका छन्। 

उनले स्वतन्त्रको नाममा  राजनीतिक दल र नेतालाई आलोचना गरेर स्वतन्त्रलाई विजयी बनाउनुपर्छ भन्ने भ्रम फैलाउने काम भइरहेको भन्दै आक्रोश पोखेका छन्। 

उनले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो झट्ट सुन्दा आकर्षक अभियानजस्तो लाग्न सक्छ । तर, गहिरो गरेर अध्ययन गर्ने हो भने यसले दीर्घकालीन रूपमा धेरै असर गर्ने देखिन्छ। ‘यो अभियान त्यसै फुत्त आएको अभियान होइन । सुन्दा राजनीतिक दलबाट दिक्क भएका मतदाताको आक्रोशजस्तो देखिए पनि यो योजनाबद्ध अभियान हो।’

उनले नेपालको राजनीतिक अस्थिरतामा खेल्न खोज्ने विदेशी र स्वदेशी तत्वसहित केही राजावादीहरूको भित्री योजनाअनुरूप यस्ता गतिविधि भइरहेको बताए। 

उनले भर्खरै वामे सर्दै गरेको लोकतन्त्रलाई ती शक्तिले धुलिसात बनाउन चाहेको आरोप  लगाए।  ‘प्रस्ट रूपमा भन्ने हो भने व्यवस्थाविरोधी शक्तिहरू अहिले सल्बलाइरहेका छन् । उनीहरूले करोडौँ खर्च गरेर सामाजिक सञ्जालको दुरुपयोग गर्दै मुलुकमा स्वतन्त्रको नाममा जनताबीच भ्रम सिर्जना गर्ने र अस्थिरता फैलाउने प्रयास गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ। 

उनले राष्ट्रियताको रक्षाका निम्ति एमालेलाई बहुमतसहित विजयी बनाउन मतदातालाई अनुरोध गरेका छन्। 

सुझावित समाचार