विकास बैंक र फाइनान्सहरूले निक्षेपको ब्याजदर घटाउने

मंसिरमा विकास बैंकको निक्षेपमा ब्याजदर १२.८५ प्रतिशत, फाइनान्समा १३.३० प्रतिशत पाइने

बुधबार, ३० कार्तिक, २०७९
डिजिटल संस्करण

निजी क्षेत्रबाट ब्याजदर वृद्धिको विरोध भइरहँदा विकास बैंकहरूले भने निक्षेपमा दिने ब्याजदर घटाउने भएका छन् । लगानीयोग्य तरलता सहज भएको भन्दै उनीहरूले ब्याजदर घटाउने निर्णय गरेका हुन् । ‘ख’ वर्गका वित्तीय संस्थाहरूको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको मंगलबारको बैठकले ब्याजदर घटाउने निर्णय गरेको एसोसिएसनका अध्यक्ष प्रद्युमन पोखरेलले जानकारी दिए । 

पछिल्लो समय विकास बैंकहरूमा निक्षेप बढ्दै गएको र कर्जा प्रवाह घट्ने अवस्था रहेकाले कर्जा निक्षेपको अनुपात (सिडी रेसियो) सहज भएको उनले बताए । उनका अनुसार हाल विकास बैंकहरूको औसत सिडी रेसियो ८६ प्रतिशत छ । अहिले सबै विकास बैंकहरूको अधिकतम ब्याजदर १३ प्रतिशत छ । यसमा विकास बैंकहरूले ०.१५ प्रतिशत बिन्दुका दरले घटाउन लागेका हुन् । एसोसिएसनको निर्णयसँगै अब विकास बैंकहरूले निक्षेपमा १२.८५ प्रतिशत मात्रै ब्याजदर रहने भएको छ । विकास बैंकहरूले मंसिरमा एकवर्षे संस्थागत मुद्दती निक्षेपमा १०.८५ र साधारण बचतमा न्यूनतम ७.८५ प्रतिशत ब्याजदर प्रदान गर्नेछन् । 

वित्त कम्पनीहरूले पनि ब्याजदर घटाउने
वित्त कम्पनीहरूले पनि मंसिरबाट निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन् । वित्त कम्पनी बैंकर्स संघका अध्यक्ष सरोजकाजी तुलाधरको अध्यक्षतामा मंगलबार नै बसेको संघको बैठकले यस्तो निर्णय गरेको हो । उनले भने, ‘सिडी अनुपात सहज बन्दै गएपछि हामीले ब्याजदर घटाउने निर्णय गरेका हौँ ।’ उनका अनुसार अहिले वित्त कम्पनीहरूको कर्जा निक्षेप अनुपात औसतमा ८४ प्रतिशत मात्रै छ । विगतमा अधिकतम ८८ प्रतिशतसम्म पुगेर असहज परिस्थिति बन्दै गएको र अहिले सहज बन्दा निक्षेपमा ब्याजदर घटाउनुपरेको बताए । 

वित्त कम्पनीहरूले तीन महिनाको मुद्दती निक्षेपको हकमा ०.२० प्रतिशत बिन्दुका दरले घटाउने र एकवर्षे निक्षेपमा ०.१५ प्रतिशतको दरले घटाउने निर्णय गरेका हुन् । जसअनुसार मंसिरमा तीनमहिने मुद्दतीको ब्याजदर १३ प्रतिशत र एकवर्षे मुद्दतीको ब्याजदर १३.३० प्रतिशतसम्म पुग्ने भएको छ । 

वाणिज्य बैंकको ब्याजदर यथावत्
यसअघि बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले भने मंसिरका लागि हालकै ब्याजदरलाई यथावत् राख्ने निर्णय गरेको छ । हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत ब्याज प्रदान गर्दै आएका छन् ।गत असोजमा मात्रै वाणिज्य बैंकहरूले निक्षेपमा ब्याजदर बढाएका थिए । अहिले निक्षेपमा ब्याजदर परिवर्तन गरे पनि पुससम्म कर्जाको ब्याजदर परिवर्तन गर्न नपाउने भएपछि उनीहरूले निक्षेपको ब्याजदर स्थिर राख्दै आएका छन् । 
राष्ट्र बैंकको निर्देशनअनुसार आउने महिनाका लागि बैंक तथा वित्तीय संस्थाले अघिल्लो महिनाको मसान्तअघि नै ब्याजदर प्रकाशित गर्नुपर्छ । प्रकाशित ब्याजदर एक महिनासम्म परिमार्जन गर्न पाइँदैन ।

सुझावित समाचार