सहरी क्षेत्रमा घरको कोठालाई आकर्षक बनाउन वालपेपरको प्रयोग बढेको छ । भित्तामा पेन्टिङ गर्ने झन्झटबाट मुक्त हुन पनि अधिकांशले ‘वालपेपर’ रोज्ने गरेका छन् । अफिस र रेस्टुराँका भित्तामा पनि ‘वालपेपर’ टाँस्ने गरिएको छ । पेन्ट्सभन्दा वालपेपर केही सस्तो हुने भएकाले पनि धेरैको रुचि यसतर्फ बढेको हो । घरका कुनै पनि भित्तामा वालपेपर टाँस्न सकिन्छ ।
तर, हामीले गुणस्तरमा ध्यान दिनुपर्छ । नेपालमा भारत र चीनबाट वालपेपर भित्रिएको हुन्छ । एकथरी पातलो हुन्छ भने अर्काे बाक्लो हुन्छ । धेरै तौल भएकोलाई गुणस्तरीय मानिन्छ । अझ वाटरप्रुफ रोज्दा राम्रो हुन्छ । राम्रो गुणस्तरको ‘वालपेपर’ लामो समयसम्म टिक्छ ।
कम गुणस्तरको ‘वालपेपर’को रङ जाने, गन्ध आउने हुन्छ । कुन कोठामा कस्तो डिजाइन र रङको ‘वालपेपर’ टाँस्ने भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ । आफ्नो इच्छाअनुसार पनि ‘वालपेपर’मा बुट्टा भर्न सकिन्छ । अहिलो फोटो प्रिन्ट गरेर राख्ने चलन पनि बढेको छ । वालपेपरमा थरीथरीका रङ र बुट्टाका विविधता पाइन्छ ।
जस्तो, प्रकृतिप्रेमीले प्राकृतिक दृश्य भएको राख्न सक्छन् । बालबालिकाको कोठामा कार्टुन प्रिन्ट भएको ‘वालपेपर’ टाँस्न सकिन्छ । आफ्नो मुड र कोठाको हिसाबले जुनसुकै डिजाइन रोज्न सकिन्छ । घरको लोकेसन र लाइटअनुसार ‘वालपेपर’को छनोट जरुरी हुन्छ ।