चुनावको मौका छोपी लागुऔषध तस्करी गर्ने एक तस्करलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ। सोमबार बिहान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले कृष्णपुर नगरपालिका २ वाणी क्षेत्रबाट चरेससहित एक युवकलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले वाणी क्षेत्रमा झोला बोकी हिँडिरहेका शंकास्पद व्यक्तिमाथि चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरिएको बताए। पक्राउ पर्नेमा नैनसिंह बोहरा रहेका छन्। महाकाली नगरपालिका ९ दल्लेकका ४१ वर्षीया नैनसिंह बोहरा पक्राउ परेका छन्। बोहराको साथबाट ३ किलो २९६ ग्राम लागुऔषध चरेस बरामद गरिएको छ।
प्रभु लाइभ लेखिएको कालो झोलाभित्र लागुऔषध तस्करी गरिहेको अवस्थामा पक्राउ गरिएको छ। बोहराले कालो झोलाभित्र सेतो प्लास्टिकमा लुकाइराखेको चरेस बरामद गरिएको हो। बोहराले उक्त चरेस कहाँबाट ल्याएको बिक्रीका लागि लैजान लागेका हुन् वा भरिया हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।