१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २६ शनिबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ कार्तिक २६ शनिबार o८:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

रुपन्देहीमा पाँचवटा पाँचतारे होटेल थपिँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक २६ शनिबार o८:o५:oo

दुईवटा पाँचतारे ‘टाइगर वान’ र ‘पवन प्यालेस’ सञ्चालनमा, पाँचवटा सञ्चालनको अन्तिम चरणमा

रुपन्देही जिल्लामा धमाधम पाँचतारे होटेल थपिइरहेका छन् । ०८० सालभित्र रुपन्देहीमा पाँचतारे होटेलको संख्या सात पुग्ने भएको छ । अहिले रुपन्देहीमा दुईवटा पाँचतारे ‘टाइगर वान’ र ‘पवन प्यालेस’ सञ्चालनमा छन् । बुटवल र भैरहवामा पाँचवटा होटेल निर्माणको अन्तिम चरणमा रहेका छन् ।

बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजले सञ्चालनमा ल्याएको टाइगर वान रुपन्देहीकै पहिलो पाँचतारे होटेल हो । यस्तै, भैरहवाकै व्यवसायी पवनकुमार हलुवाईले भैरहवा–लुम्बिनी रोडमा पवन प्यालेस रिसोर्ट सञ्चालनमा ल्याएका छन् । एक सय ४६ कोठाको पवन प्यालेसले निकट भविष्यमै पर्यटन विभागबाट पाँच तारा लिन लागेको सञ्चालक हलुवाईले बताए । करिब तीन बिघा क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा साढे दुई अर्ब हाराहारी लगानी भइसकेको छ ।

सञ्चालन तयारीमा रहेका होटेल
बुद्ध जन्मस्थल लुम्बिनी र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)का कारण भैरहवा र लुम्बिनी तारे होटेलको हबजस्तै बनेका छन् । डेढ वर्षभित्र बुटवल, भैरहवा र लुम्बिनी क्षेत्रमा पाँचवटा पाँचतारे होटेल थपिँदै छन् । बुटवलबाट उदाएको भुसाल ग्रुपले बेलहियामा ‘मेघा–टू’ पाँचतारे होटेल सञ्चालन गर्दै छ । एक सय १७ कोठाको मेघा–टू एक वर्षभित्र सञ्चालनमा आइसक्ने भुसालले बताए । यो होटेल पहिल्यै सञ्चालनमा आइसक्नुपर्ने भए पनि विविध कारणले निर्माणमा ढिलाइ भइरहेको थियो । ‘होटेलमा पूर्ण क्षमताको ठूलो क्यासिनो पनि सञ्चालनमा ल्याउँछौँ,’ उनले भने, ‘होटेल सञ्चालनमा आइसक्दा अढाई अर्ब लगानी पुग्नेछ ।’ यो रिसोर्ट नेपाल–भारत सीमा सुनौलीबाट नजिकै रहेको छ । उनले सञ्चालनमा रहेको टाइगर वान रिसोर्ट पनि खरिद गर्न प्रक्रिया अगाडि बढाएका छन् ।

देशैभरि होटेल, रिसोर्ट र रेस्टुराँ चेन चलाइरहेको सिद्धार्थ हस्पिटालिटी ग्रुपले भैरहवामा पनि होटेल सञ्चालनमा ल्याउन लागेको छ । यो ग्रुपले भैरहवाको अञ्चलापुरमा पाँचतारे होटेल सिद्धार्थ निर्माण गरिरहेको हो । सञ्चालनको अन्तिम चरणमा रहेको सिद्धार्थ होटेलमा ठूलो क्षमताको क्यासिनो पनि सञ्चालनमा ल्याउने ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले बताए । चार बिघा क्षेत्रफलमा रहेको होटेलमा ८५ कोठा रहेका छन्, जसमा करिब दुई अर्ब लगानी हुनेछ । 

यस्तै, एसियन फर्मास्युटिकल्सका सञ्चालक घिमिरे समूहले पनि भैरहवामा पाँचतारे होटेल निर्माण गरिरहेको छ । भैरहवाको बुद्धचोकमा रहेको होटेलमा एक सय तीन कोठा हुनेछन्, जसको नाम एसियन इन्टरनेसनल रिजेन्सी होटेल रहेको छ । 

तीन अर्ब लगानी हुने अनुमान गरिएको यस होटेलको निर्माण कार्य सकिनै लागेको बताइएको छ । भैरहवाकै लुम्बिनी रोडमा होली डे इन सञ्चालनमा आउँदै छ । एक अर्ब रुपैयाँभन्दा बढी लगानी हुन लागेको होटेलमा एक सय २५ कोठाहरू रहने सञ्चालक सुरज उप्रेतीले बताए । होली डे इन बहुराष्ट्रिय होटेल कम्पनी आइएचजी होटेल्स एन्ड रिसोर्टको बहुचर्चित ब्रान्ड हो । 

देशकै पुरानोमध्येको व्यावसायिक सहर बुटवलमा बिजनेस होटेलहरू सञ्चालनमा रहे पनि ठूला होटेल सञ्चालनमा छैनन् । अब बुटवलमा पाँचतारे होटेल सञ्चालनमा आउने भएको छ । बुटवलको सुक्खानगरमा एक सय आठ कोठाको पाँचतारे सफ्रोन होटेल निर्माणको अन्तिम चरणमा रहेको छ । ‘हामी नोभेम्बर २०२३ सम्ममा होटेल सञ्चालनमा ल्याइसक्ने लक्षमा छौँ,’ होटेलका एक सञ्चालकले भने, ‘होटेल १२ तलाको हुनेछ, जसको सिभिल स्ट्रक्चर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।’ होटेल सञ्चालनमा आउँदासम्म एक अर्ब ४५ करोड ६० लाख रुपैयाँ लगानी हुने बताइएको छ ।

 

 

ad
ad
ad
ad