१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २६ शनिबार ०६:५२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रोमाञ्चक जितसँगै आर्मी फाइनलमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २६ शनिबार ०६:५२:००

नेपाल पुलिस क्लबलाई रोमाञ्चक दोस्रो सेमिफाइनलमा दुई विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आर्मीले अब उपाधिका लागि एपिएफ क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । त्रिवि क्रिकेट मैदानमा पुलिसले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा चार विकेट गुमाएर तीन सय चार रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा आर्मीले ४९.५ आठ विकेट गुमाएर तीन सय नौ रन बनाएको थियो । लक्ष्य पछ्याएको इनिङ्समा आर्मीलाई अन्तिम ओभरमा आठ रन आवश्यक थियो । इनिङ्सको १९.२ बलमा आर्मीका राजु पुलामीले चार रन लिए । त्यसपछि उनले १९.५ ओभरमा दीपेन्द्रसिंह ऐरीको बललाई छक्का प्रहार गर्दै आर्मीलाई सनसनी जित दिलाउन सफल भए । 

दीपेन्द्रको दोस्रो शतक ओझेलमा
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरीले प्रतियोगितामा दोस्रो शतकीय इनिङ्स खेलेका थिए । तर, आर्मीको उत्कृष्ट ब्याटिङका कारण दीपेन्द्रसिंहको शतक ओझेलमा पर्‍यो । दीपेन्द्रसिंहले एक सय ४० रनको उत्कृष्ट योगदान दिएका थिए । यसक्रममा उनले एक सय २५ बलमा ११ चौका र पाँच छक्का प्रहार गरे । उनी इनिङ्सको ४८.१ ओभरमा विक्रम सोबद्वारा आउट भए । समूह चरणमा दीपेन्द्रसिंहले बागमती प्रदेशविरुद्ध एक सय आठ रन बनाएका थिए । 

पुलिसले तीन सय रन योगफल कटाउनमा आरिफ सेखले ९१ रनको योगदान दिएका थिए । उनले एक सय नौ बलमा आठ चौका र दुई छक्का प्रहार गरेका थिए । दीपेन्द्रसिंह र सेखबीच चौथो विकेटका लागि दुई सय चार रनको साझेदारी भएको थियो । दुवैले पुलिसलाई ६७–३ बाट २७१–४ को स्थितिमा राखे । दुई खेलाडीले चौथो विकेटका लागि दुई सय चार रनको साझेदारी गरेका थिए । यसअघि ओपनर कुशल भुर्तेलले ३१ रन र सुनील धमलाले १३ रन जोडेका थिए । बलिङतर्फ आर्मीका विक्रम सोबले सर्वाधिक तीन विकेट लिएका थिए । 

आर्मीको बलियो ब्याटिङ
लक्ष्य पछ्याएको इनिङ्समा पुलिसको कमजोर सुरुवात भएको थियो । इनिङ्सको ६.२ ओभरमा अर्जुन साउदलाई आर्मीले गुमाएको थियो । आर्मीले ८.६ ओभरमा भीम सार्कीलाई गुमायो । साउदले ११ रन र तेस्रो नम्बरमा आएका सार्कीले १० रन जोडेका थिए । यी दुवै खेलाडी पेभिलियन फर्किंदा आर्मी ४६–२ को अवस्थामा थियो । 

तेस्रो विकेटका लागि हरि चौहान र रोहितकुमार पौडेलले एक सय ३५ रनको बलियो साझेदारी गरेका थिए । रोहितले ८७ बलमा नौ चौकासहित सर्वाधिक ८९ रन बनाएका थिए । हरिले ९२ बलमा आठ चौका र एक छक्का मद्दतमा ७५ रनको योगदान गरे । यसैगरी, प्लेअर अफ दी म्याच राजेशले ४३ रन जोडे । कप्तान विनोद भण्डारीले ३२ रन र विक्रम सोबले ३० रन जोडे ।

करणको ६ विकेट
दोस्रो सेमिफाइनलमा पुलिसका करण केसीले उत्कृष्ट प्रदर्शन गरी आर्मीका ६ ब्याट्सम्यानलाई पेभिलियन पठाएका थिए । १० ओभर पूरा बलिङ गरेका करणले ५२ रन खर्चिएका थिए । पुलिसका अन्य बलरले करणलाई गतिलो साथ नदिँदा उनको घातक बलिङसमेत खेर गयो । करणले अर्जुन साउद, भीम सार्की, विनोद भण्डारी, कुशल मल्ल, विक्रम सोब र सुसन भारीको विकेट लिएका थिए । 

प्रतियोगितामा करणले १३ विकेट लिएका छन् । उनले मधेसविरुद्ध तीन, लुम्बनीविरुद्ध दुई तथा बागमतीविरुद्ध दुई विकेट हात पारेका थिए । आर्मीसँगको प्रतिस्पर्धामा रसिद खान र ललित राजवंशीले एक–एक विकेट लिएका थिए ।