चुनावी अभियानमा पूर्व दौडाहामा रहेका नेकपा एमाले अध्यक्ष केपी ओलीले कांग्रेस, माओवादी केन्द्रसहितको वाम–लोकतान्त्रिक गठबन्धनलाई ‘हुँडारको जत्था’को उपमा दिएका छन्।
जसरी जिउँदै टोकेर मार्न खोज्ने बाघ, सिंह र स्यालले पहिले सिकारको हत्या गर्छ अनि मात्र मासु खान्छ, हुँडार यस्तो जनावर हो, जिउँदैमा टोक्दै खान्छ, कुनै जीव मर्दा उसले आधा खाइसकेको हुन्छ,’ ओलीले भने, ‘यो गठबन्धन नामक हुँडारले असंवैधानिक ढंगले, गैरकानुनी ढंगले एमालेलाई चारतिरबाट टोकेर सिध्याउन खोजेको छ।’
ओलीले एमाले विचार, संगठन, आन्दोलन र बलिदानको इतिहास बोकेर आएको पार्टी भएकाले यसलाई छलछाम गरेर, धोका दिएर कसैले सिध्याउँछु भन्ने ठान्यो भने त्यो सम्भव नहुने बताए। उनले एमाले र एमालेसँग सहकार्य गर्ने दलहरूलाई मात्र जनताले भोट दिने दाबी गरे।
पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकाहरूलाई एमालेका मतदाताले भोट नदिने उनको ठोकुवा थियो। ‘पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नु होला,’ सुनसरी क्षेत्र नम्बर १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भने, ‘समयमा काम गर भन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने अनि दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने।’
दलीय व्यवस्था, लोकतन्त्र र प्रजातन्त्रका विरुद्ध षड्यन्त्रस्वरूप स्वतन्त्र अभियान चलाइएको ओलीले बताए। उनले यो अभियानलाई दलीय व्यवस्थाविरोधी अभियानका रूपमा परिभाषित गरे। उनले भने, ‘यस्तो अभियानको भ्रममा पर्नुहुँदैन, अहिले साथीहरू कोही भ्रममा नपर्नुहोला, नेकपा एमाले एउटा अनुशासित पार्टी हो, राजनीतिक पार्टी हो।’
ओलीले पार्टी कार्यकर्तालाई मतपेटिकाको रक्षा गर्न र मतदातालाई मतदान शिक्षा दिन निर्देशन दिए। उनले एमाले छाडेर अशोक राईले सम्भावना समाप्त पारे पनि एमालेसँग मिलेपछि पुनः सम्भावना सुरु भएको बताए।
एमाले–जसपा तालमेलबाट सुनसरी १ मा प्रतिनिधिसभाका उम्मेदवार बनेका राई एमालेमा हुँदा पटक–पटक मन्त्री भएको बताउँदै ओलीले एमालेसँग मिल्दा मात्रै पनि आगामी सम्भावना सुरु भएको बताए।
एमाले–जसपा संयुक्त कार्यकर्ता भेलालाई धरानमा शुक्रबार सम्बोधन गर्दै ओलीले अशोक राईलाई विजयी बनाएर पठाए धरानको समग्र विकास हुने दाबी गरे।
अशोक राई अर्को पार्टीबाट उम्मेदवार भएको अवस्थामा केही भन्न नमिल्ने एमाले अध्यक्ष ओलीले बताए। ओलीको भनाइले अशोक राई एमालेमा फर्कन सक्ने संकेत गरिरहेको थियो।
‘यही पार्टीमा आउनुस् भन्यो भने सूर्य चिह्न लिन पाउनुहुन्न, अहिले त्यो मौका छैन, अहिले त छातै ओढेर हिँड्ने होला,’ अशोक राईतर्फ हेर्दै ओलीले भने, ‘छाता चिह्न होइन त ? पानी परे पनि ठीकै छ, घाम लागे पनि ठीकै छ, जतिखेर पनि ओढ्नैपर्याे, अहिलेको कुरा त्यही हो, भविष्यले बताउँदै जाला।’
ओलीले धरानको खानेपानीका लागि कोसी नदीमा पम्पिङ गर्ने, तमोरबाट लिफ्टिङ गर्ने र मेलम्चीजस्तो भूमिगत सुरुङ निर्माण गरी दिगो व्यवस्थापन गर्न सकिने बताए। उनले मंसिर ४ पछि सर्भे सुरु गर्ने बताए।
सुनसरी १ एमाले–जसपा संयुक्त निर्वाचन परिचालन कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई एमाले स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्वाहाम्फेलगायतले सम्बोधन गरेका थिए।