Skip This
प्रमुख आयुक्तको निर्देशन- फर्जी मतदानको खतरा छ, चनाखो रहनू 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २५ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २५ शुक्रबार १४:४३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रमुख आयुक्तको निर्देशन- फर्जी मतदानको खतरा छ, चनाखो रहनू 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २५ शुक्रबार १४:४३:oo

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन बिथोल्ने व्यक्तिहरूलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ। 

आयोगले कानुनको व्यवस्थालाई पूर्ण रूपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो। 

आयोगले कानुनको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित हुने भन्दै निर्वाचनलाई बिथोल्ने कुनै पनि व्यक्ति र तत्वहरूलाई कारबाही गर्ने कुरामा पछि नहट्न निर्देशन दिएको हो। 

शुक्रबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानुनको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा निर्वाचन अधिकृतहरूले पूर्ण रूपमा पालना गर्न र गराउन निर्देशन दिए। 

उनले निर्वाचन बिथोल्ने गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिई निर्वाचन कसुर तथा सजाय ऐनअन्तर्गत कारबाही प्रारम्भ गर्न निर्देशन दिए। 

कतिपय ठाउँमा जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता भएका उम्मेदवारहरू हुने भएको भन्दै उनले फर्जी मतदान हुने खतरा रहेकाले त्यसतर्फ बढी चनाखो हुन निर्वाचन अधिकृतहरूलाई सचेत गराए। 

धेरै मतदान हुनु राम्रो भए पनि हुँदै नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटि र निर्वाचनप्रतिको अवज्ञा भएकाले त्यसतर्फ सतर्कता अपनाउन आग्रह गरे। 

उनले भने, ‘हाम्रा सबै कानुनी व्यवस्था पूर्ण छन्। पालना गर्नेले पालना गर्नुपर्छ, कार्यान्वयन गर्नेले कार्यान्वयन गर्नुपर्छ। म सबै मतदान अधिकृत साथीहरूलाई कानुनको व्यवस्थालाई पूर्ण रूपमा अध्ययन गर्न र आफ्नोतर्फबाट शतप्रतिशत कार्यान्वयन गराउन र यदि कसैले पालना नगरे त्यस्ता व्यक्तिलाई पनि कानुनबमोजिम कारबाही गर्न खुट्टा नकमाउन पनि अनुरोध गर्दछु।’ 

उनले जसरी पनि निर्वाचन जित्नैपर्छ भन्ने मानसिकता बोकेका प्रतिनिधि र उम्मेदवारहरूको कारणले फर्जी मतदान हुने खतरा रहेको औँल्याए। उनले भने, ‘जसरी पनि निर्वाचन जित्नुपर्छ भन्ने मानसिकता बोकेका प्रतिनिधि र उम्मेदवारहरूको कारणले फर्जी मतदान हुने खतरा पनि रहिरहने अवस्था हुन्छ, धेरै मतदान हुनु राम्रो हो, तर हुँदै नभएका व्यक्तिको मतदाता नामावलीमा नाम भएको, तर मतदान गर्ने दिन त्यहाँ उपस्थित नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटि हो र निर्वाचनप्रतिको यो अवज्ञा पनि हो।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान गरिसकेको व्यक्ति पुनः मतदान गर्ने ठाउँमा आउँदा विभिन्न व्यवधान हुन सक्ने कुरालाई ध्यानमा राखी सुरक्षा निकायसँग समन्वय गरी त्यस्ता गतिविधि हुन नदिन पनि आग्रह गरे। 

उनले प्रतिनिधिसभा सदस्य एवं प्रदेश सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए। मतदानको निम्ति मतपेटिका, मतपत्रलगायत आवश्यक पर्ने सम्पूर्ण सामग्रीको समान महत्व भएकाले सामानहरू रुजु गर्दा ठीक भए–नभएको र पर्याप्त भए-नभएको यकिन गर्न आग्रह गरे। 

यसपटक चारवटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था गरिएकाले मतदातालाई राम्रोसँग बुझाउन पनि निर्वाचनमा खटिने कर्मचारीलाई आयोगले निर्देशन दिएको छ।