१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o८:५१:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सुदूरपश्चिममा शीर्ष नेताको दौडधुप : देउवा र प्रचण्ड फर्के, ओली पुन: आउँदै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:५१:oo

गृहजिल्ला डडेल्धुरामा चुनावी प्रचारमा सहभागी हुन आएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा नौ दिनपछि बिहीबार काठमाडौं फर्केका छन् । डडेल्धुरामा उनले १७ देखि २० कात्तिकसम्म चार दिनमा सातवटा चुनावी सभालाई सम्बोधन गरे । 

देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार दार्चुलाको गोकुले र बैतडीको पाटनमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गरेका थिए ।

चार दिन डडेल्धुरामा बिताएका देउवा बाँकी समय धनगढीस्थित आफ्नो निजी निवासमा बसे । यहाँ रहँदा उनी औपचारिक चुनावी कार्यक्रम, सभाहरूमा सहभागी त भएनन्, तर चुनावकेन्द्रित छलफल र भेटघाट तीव्र पारे । उनले कैलालीसहित सुदूरपश्चिमका नौवटै जिल्लाको चुनावी अवस्था र रणनीतिबारे पार्टीका अगुवा नेता–कार्यकर्तासँग छलफल गरेका थिए ।

डडेल्धुरा र धनगढीमा रहँदा देउवाले चुनावमा प्रभाव पार्न सक्ने विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल गर्नुका साथै आफ्नो पार्टीका केही असन्तुष्ट नेता–कार्यकर्तालाई पनि मनाउने कोसिस गरे । त्यसअघि गठबन्धनको सुदूरपश्चिमस्तरीय संयुक्त चुनावी प्रशिक्षणका लागि देउवा, प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कात्तिक पहिलो साता धनगढी आएका थिए । चुनावी सभाहरूमा देउवाले सुदूरपश्चिमको विकासका लागि पश्चिम सेती जलविद्युत् आयोजनालगायत यहाँका ठूला आयोजना निर्माण गर्ने प्रतिबद्धता जनाए । 

एमालेले १८ कात्तिकमा दार्चुलाबाटै आफ्नो चुनावी प्रचार अभियान सुरु गर्‍यो । एमाले अध्यक्ष केपी ओलीले सदरमुकाम खलंगामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भारतले हडपेको दार्चुलाको भूमि फिर्ता ल्याउने उद्घोष मात्र गरेनन्, अब सुदूरपश्चिमबाटै विकासको थालनी गरिने दाबी पनि गरे । त्यही दिन उनले बैतडीको पाटन र कञ्चनपुरको भीमदत्त नगरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । एक दिन धनगढीमै बसेका ओलीले कार्यकर्तासँग चुनावबारे छलफल पनि गरे ।

डोटी र कैलालीमा हुने पार्टीको चुनावी सभालाई सम्बोधन गर्न २६ कात्तिकमा ओली पुनः सुदूरपश्चिम आउँदै छन् । एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकका अनुसार ओलीले डोटीको दिपायल तथा कैलालीको अत्तरिया र लम्कीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका छ । माओवादीले पनि कैलालीको लम्की र सुखडमा चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्डलाई ल्याउन कार्यतालिका मिलाइरहेको छ ।

चुनावको मिति नजिकिएसँगै सुदूरपश्चिममा ठूला पार्टीका शीर्ष नेताको दौडधुप बढेको छ । शीर्ष नेताको दौडधुपले ठूला पार्टीको ध्यान सुदूरपश्चिममा केन्द्रित भएको देखिन्छ । १६ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिमका अधिकांश क्षेत्रमा गठबन्धन र एमाले प्रमुख प्रतिस्पर्धामा छन् । कैलाली क्षेत्र नम्बर १, २ र ३ मा भने नागरिक उन्मुक्ति पार्टी पनि बलियो दाबेदारका रूपमा देखिएको छ । प्रधानमन्त्री देउवा गृहप्रदेशमा कांग्रेस र गठबन्धनको अधिकतम जित चाहन्छन् । 

केही दिनअघि धनगढीमा आयोजित संयुक्त प्रशिक्षणमा उनले सुदूरपश्चिम आफ्नो गृहप्रदेश भएकाले यहाँबाट बढीभन्दा बढी गठबन्धनका उम्मेदवारलाई विजयी गराएर पठाउन आह्वान गरेका थिए । ०७४ को चुनावमा एमाले एक्लैले यहाँका ११ वटा क्षेत्र जितेको थियो । माओवादीले तीन तथा कांग्रेसबाट देउवा एक्लैले चुनाव जितेका थिए । एक क्षेत्र जसपाले जितेको थियो ।

एमालेको पकड भत्काउने प्रयासमा कांग्रेस
कांग्रेस अहिले गठबन्धनको सहारामा एमालेको पकड भत्काउन चाहन्छ । गठबन्धनमा तालमेल गरेर कांग्रेसले नौवटा क्षेत्रमा उम्मेदवारी दिएको छ । माओवादीले चार र एकीकृत समाजवादीले तीनवटा क्षेत्रमा उम्मेदवारी दिएका छन् । आफ्नो गृह प्रदेश भएकाले यहाँ गठबन्धनले बढीभन्दा बढी जित हासिल गरोस् भन्नेमा प्रधानमन्त्री देउवाको चासो रहेको कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले बताए । प्रधानमन्त्री यहाँ रहँदा त्यसैमा केन्द्रित रहेर छलफल र भेटघाट गरेको उनले बताए । ‘पार्टी सभापति पनि भएकाले देशैभरि गठबन्धन जिताउने उहाँको कोसिस हुने नै भयो,’ भट्टले भने, ‘आफ्नो गृह प्रदेशमा सानदार जित होस् भन्ने प्रधानमन्त्रीको चाहना स्वाभाविक पनि हो ।’

०७४ मा संघमा ११ र प्रदेशमा पनि सबैभन्दा बढी १७ सिट जितेको एमालेलाई यसपटक गठबन्धनको चुनौती छ । स्थानीय तहमा प्राप्त मतका आधारमा यहाँका सबै क्षेत्रमा गठबन्धन अगाडि देखिन्छ । विभाजनको ठूलो असरसँगै पार्टीले अपमानपूर्वक टिकट नदिएको भन्दै असन्तुष्ट यहाँका प्रभावशाली नेता भीम रावल चुनावी प्रचारमा खटिएका छैनन् । यसका बाबजुद एमाले सुदूरपश्चिममा आफ्नो साख जोगाउने कसरतमा छ । रावल प्रचारमा नजाँदा पनि यहाँ पार्टीले साख जोगाओस् भन्ने अध्यक्ष ओलीको चाहना रहेको एमालेका एक नेताले बताए । एमालेका प्रदेश सचिव पाठकले चुनावी अभियानको उद्घाटन गर्न आएका अध्यक्ष ओली पार्टीको आग्रहमा पुनः आउन लागेको बताए । दार्चुलाबाट अभियान सुरु गरेर एमालेले दुईवटा सन्देश दिन खोजेको उनको भनाइ छ । 

एमालेबाट सुदूरपश्चिममा केन्द्रीय सचिव लेखराज भट्टसहित कर्ण थापा, दामोदर भण्डारी, गणेशसिंह ठगुन्नालगायत प्रभावशाली नेताहरू प्रतिस्पर्धामा छन् । कांग्रेसबाट प्रधानमन्त्री देउवासहित सहमहामन्त्री बद्री पाण्डे, प्रदेश सभापति वीरबहादुर बलायर, रमेश लेखक, एनपी सावद, दिलेन्द्रप्रसाद बडू चुनाव लड्दै छन् । माओवादीबाट प्रदेश इन्चार्ज खगराज भट्ट, नेतृ विना मगर, एकीकृत समाजवादीबाट प्रेम आले, भानुभक्त जोशी, श्रममन्त्री शेरबहादुर कुँवरलगायत प्रभावशाली नेताहरू चुनावी प्रतिस्पर्धामा छन् । 

ad
ad