कास्की १ : कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ प्रतिस्पर्धामा
कास्की १ मा प्रतिनिधिसभा सदस्यका लागि ठूला पार्टी एमाले र कांग्रेसका जिल्ला अध्यक्ष भिडेका छन् । कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल र एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ प्रतिस्पर्धामा उत्रेका छन् । दुई पार्टीका जिल्ला प्रमुख नै उम्मेदवार रहेकाले यस क्षेत्रमा प्रतिस्पर्धा रोचक बनेको छ । यस क्षेत्रमा प्रतिनिधिसभाका लागि दुई स्वतन्त्रसहित १४ जना तथा प्रदेशतर्फ १ (क)मा दुई स्वतन्त्र र विभिन्न दलका ६ गरी आठजना र (ख)मा विभिन्न दलका गरी सात उम्मेदवार चुनावी मैदानमा छन् ।
बराल पहिलोपटक निर्वाचनमा होमिएका हुन् भने गुरुङ प्रदेश सभा हुँदै प्रतिनिधिसभाको उम्मेदवार भएका हुन् । ०७४ को निर्वाचनमा एमाले उम्मेदवार गुरुङ कास्की १ (ख)बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
एमाले उम्मेदवार गुरुङले राष्ट्रियता र स्वाधीनताको रक्षा, आर्थिक समृद्धि, विकास निर्माण, सामाजिक सुरक्षा, सुशासन, लोककल्याणकारी राज्य स्थापनाका लागि मतदाताको मत पाउने दाबी गरे । कास्कीमा पार्टीको संगठन बलियो रहेको, उम्मेदवार भएका नेताहरू अनुभवी, सक्षम र योग्य रहनुका साथै जनतासँग भिजेका, जनताको सुखदुःखमा साथ दिएकाले ४ मंसिरको निर्वाचनमा मतदाताले आफूहरूलाई मत दिने विश्वास उनको छ ।
कांग्रेसका उम्मेदवार बरालले संसद् र सांसदको मर्यादा, राजनीतिमा शुद्धता, समृद्धि, गुणस्तरीय र योजनाबद्ध विकास, देशमा शान्ति र समृद्धि, कृषि तथा पर्यटनमा क्रान्ति, उद्यमशीलता र सीप, शिक्षामा सुधार गर्ने एजेन्डा बनाएका छन् । उनले निर्वाचन जित्ने पहिलो आधार नै आफ्नो एजेन्डा रहेको बताए । लामो समय शिक्षण पेसासँगै विभिन्न सामाजिक काममा सक्रिय तथा गठबन्धनका पाँच दलको मत पनि जितको आधार रहेको बताए ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पालिकाका प्रमुख र पोखरा महानगरका वडाध्यक्षले पाएको मतका आधारमा पाँचदलीय गठबन्धन पाँच हजार पाँच सय २६ मतले अगाडि छ । स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धनले ३६ हजार दुई सय १८ र एमालेले ३० हजार ६ सय ९२ मत
पाएको थियो ।
कास्की २ : एमालेकी विद्या भट्टराई दोहोरिने प्रयासमा, नेकपा एसका श्रीनाथ बराललाई गठबन्धनको साथ
कास्की २ मा एमाले उम्मेदवार विद्या भट्टराई दोहोरिने दाउमा छिन् भने एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बराल वाम–लोकतान्त्रिक गठबन्धनको मत लिएर जितका आसमा छन् । पाँच स्वतन्त्रसहित १७ उम्मेदवार मैदानमा भए पनि मुख्य प्रतिस्पर्धा भट्टराई र बरालबीच हुने देखिएको छ । एमाले उम्मेदवार भट्टराई निवर्तमान सांसद हुन् ।
गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका श्रीनाथ बराल पहिलोपटक संसदीय निर्वाचन भिड्दै छन् । बरालले यसअघि जिल्ला विकास समिति कास्कीका उपसभापति भई काम गरेका थिए । एमालेकी विद्या भट्टराईले आफू महिला भएकाले महिला विभेद र असमानताको मुद्दालाई उठाउन, महिला सशक्तीकरण, उद्यमशीलता र समानताका लागि काम गर्न आफ्नो उम्मेदवारी रहेको बताइन् । पार्टीप्रति जनताको हिजोदेखिको विश्वास, आफूले यसअघिको उपनिर्वाचनमा पाएको अत्यधिक मतसँगै गत तीन वर्षको अवधिमा सुरु गरेका, तर पूरा नभएका काम सम्पन्न गर्न जनताले यसपटक आफूलाई विजयी गराउने भट्टराईको भनाइ छ ।
गत स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मतको अंकगणितमा गठबन्धन अघि देखिन्छ । पालिकामा पाएको मतअनुसार एक हजार ९५ मतले गठबन्धन अगाडि छ । गठबन्धनमा आबद्ध दलहरूले स्थानीय निर्वाचनमा २२ हजार दुई सय ६८ र एमालेले २१ हजार एक ६४ मत पाएका थिए ।
कास्की ३ : गण्डकी सरकारका अर्थमन्त्रीसमेत रहेका माओवादीका रामजी बराल र एमालेका दामोदर पौडेल ‘बैरागी’बीच भिडन्त
कास्की ३ मा गठबन्धनका तर्फबाट गण्डकी प्रदेश सरकारका अर्थमन्त्रीसमेत रहेका माओवादीका रामजी बराल र एमालेले दामोदर पौडेल ‘बैरागी’बीच प्रतिस्पर्धा हुँदै छ । यस क्षेत्रमा सात स्वतन्त्रसहित १५ जना मैदानमा छन् ।
गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका रामजी बराल जीवनले कृषिसँगै पर्यटनलाई जोडेर रोजगारीको अवसर सिर्जना गर्न, पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थल छिटो सञ्चालन गर्न, फेवाताललगायत अन्य ताल र यस क्षेत्रका प्रमुख सम्पदा जोडेर बृहत् गुरुयोजना तयार गरी तिनीहरूको संरक्षण एवं प्रवद्र्धन र पर्यटकीय क्षेत्रका रूपमा थप विकास र व्यवस्थित गर्न, उत्पादनकेन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गर्ने एजेन्डा अघि सारेका छन् । यी एजेन्डाका साथै पाँच दलको गठबन्धनको साथ रहेकाले आफूले जित्ने आधार बनेको उनको दाबी छ ।
विगतदेखि नै आफूहरू संविधान, गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि लड्दै आएको, संघीयतालाई संस्थागत गर्दै यसको जग खडा गरेको, समाजमा रहेको विभेद तथा कुरीतिविरुद्ध काम गर्दै आएको र देशलाई समृद्धिको बाटोमा लैजाने पहल गरेकाले जनताले मत दिने विश्वास उनको छ ।
एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले कृषि, पयर्टन र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेका छन् । जनताले सांसदसम्म गुनासो लिएर जानुपर्ने, निर्वाचित जनप्रतिनिधिलाई भेटेपछि काम हुने अवस्थाको अन्त्य गर्ने गरी काम गर्ने बताए । जनताका दैनिक गर्नुपर्ने काम र विकास निर्माणका आयोजना निर्धारित समयमै सक्ने काममा आफू लाग्ने भनाइ उनको छ । जिल्लामा पार्टीको आधार बलियो हुनु, आफ्नो क्षेत्रको जनताको विश्वास आफूमा हुनु जितको आधार रहेको उनको दाबी छ ।
गत स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा पर्ने पालिका र महानगरभित्रका वडाध्यक्षले पाएको मतका आधारमा यो क्षेत्रमा निकै प्रतिस्पर्धा देखिएको छ । गठबन्धनमा आबद्ध दलको भन्दा एमाले केही मत अघि देखिएको छ । यस क्षेत्रमा गठबन्धनले ३० हजार पाँच सय ३७ र एमालेले ३० हजार ६ सय २४ मत पाएका थिए ।