मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २४ बिहीबार
  • Wednesday, 18 December, 2024
कमलराज भट्ट काठमाडाैं
२o७९ कार्तिक २४ बिहीबार o६:१५:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

७७ वटै जिल्ला पुग्यो मतपत्र

Read Time : > 4 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक २४ बिहीबार o६:१५:oo

जिल्ला निर्वाचन अधिकृतको कार्यालय पुर्‍याएका मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री मतदान केन्द्रमा पुर्‍याउन बाँकी 

कति छन् मतदाता, कति छापिए मतपत्र ?
संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि दुई–दुईवटा मतपत्र छापिएका छन् । निर्वाचन आयोगले प्रत्यक्षका लागि तीन करोड ९७ लाख ८९ हजार पाँच सय र समानुपातिकका लागि चार करोड ६ लाख पाँच हजार मतपत्र छापेको छ । जिल्ला पुगेका मतपत्र अब मतदान केन्द्रमा पुर्‍याइनेछन् । देशभर ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ महिला र १८५ अन्य गरी कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । 

मतदान केन्द्रसम्म मतपत्र पुर्‍याउन तीन जिल्लाबाट हेलिकोप्टर माग
आयोगले सबै जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा मतपत्रसहितका सामग्री पुर्‍याइसकेको छ । तर, त्यहाँबाट मतदान केन्द्रसम्म पुर्‍याउन दार्चुला, हुम्ला र डोल्पाबाट हेलिकोप्टर माग भएको छ । दार्चुलाको व्याँस गाउँपालिका पुग्न भारतीय बाटो भएर जानुपर्ने बाध्यता भएकाले निर्वाचन सामग्रीको सुरक्षालाई ध्यान दिएर हेलिकोप्टर पठाउने तय भएको आयोगका उपसचिव कमल ज्ञवालीले बताए । तर, हुम्ला र डोल्पाको हकमा निर्णय भइसकेको छैन ।  

कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय परिसरबाट जिल्ला–जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पठाइँदै

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री ७७ वटै जिल्लामा पुगेका छन् । स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा शान्तिपूर्ण मतदान गराउने गरी निर्वाचनको अन्तिम तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचनसम्बन्धी सबै काम अन्तिम चरणमा पुगेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । ‘सबै निर्वाचन सामग्री जिल्ला र निर्वाचन क्षेत्र पठाइसकिएको छ । त्यहाँबाट कर्मचारीसहित मतदान केन्द्रमा पठाउन सुरु भइसकेको छ । मतदाता शिक्षा कार्यक्रम मतदाताको घरदैलोसम्मै पुगेको छ । सुरक्षाको राम्रो प्रबन्ध गरिएको छ । आयोगको तयारी अन्तिम चरणमा छ,’ उनले भने । 

स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा शान्तिपूर्ण मतदान गराउन आयोगले कुनै कसर बाँकी नराख्ने थपलियाको भनाई छ । संघ र प्रदेशको प्रत्यक्ष निर्वाचनका लागि आयोगले तीन करोड ९७ लाख ८९ हजार पाँच सय र समानुपातिकतर्फ  चार करोड ६ लाख पाँच हजार मतपत्र छापेको थियो । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगेका मतपत्र मतदान अधिकृतलाई हस्तान्तरण गरिनेछ । 

आयोगबाट ढुवानी भएर आइपुगेका निर्वाचन सामग्री ७७ वटै जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा पठाउन सुरु गरेका छन् । बुधबारदेखि दुर्गम र टाढाको क्षेत्रमा कर्मचारी र सुरक्षाकर्मीसहित सामग्री पठाउन सुरु गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । 

आयोगले गत साता ७३ जिल्लामा एक सय ३२ वटा ट्रकबाट तथा हुम्ला, बाजुरा र डोल्पामा सेनाको हेलिकोप्टरबाट निर्वाचन सामग्री पठाएको थियो । त्यसमा थप १५ प्रकारका सामग्री खरिदको जिम्मा जिल्ला निर्वाचन अधिकृतको कार्यालयले पाएका छन् । जिल्ला निर्वाचन कार्यालयहरूले एक सय ६५ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमार्फत २२ हजार दुई सय २७ मतदान केन्द्रमा कुल ७३ वटा निर्वाचन सामग्री पठाउन थालेको सहायक प्रवक्ता अर्यालले बताए । उनका अनुसार मतदानको ४८ घन्टाअघि १ मंसिरभित्र मतदान अधिकृतसहित निर्वाचन सामग्री र जनशक्ति सबै मतदान केन्द्रमा पुगिसक्नेछ । 

दिनमा १५ किलोमिटर दूरी हिँड्न सक्ने गरी बाटो म्याद राखेर कर्मचारीलाई तालिम दिएर पठाइन्छ । मौसम प्रतिकूलता भएमा आयोगले हेलिकोप्टरबाट मतदान केन्द्रमा पुर्‍याउने विकल्प पनि तयारी अवस्थामा राखेको छ । साथै मौसमअनुसार हिमाली र पहाडी क्षेत्रबाट तल झर्ने मतदाताका लागि आयोगले मतदान केन्द्र नै सार्न सकिने विकल्प पनि तयार रहेको सहायक प्रवक्ता अर्यालले बताए । 

तर, त्यसका लागि जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट सिफारिस आउनुपर्छ । ‘आयोगले यी अवस्थामा तत्कालीन निर्णय गर्न सक्छ,’ उनले भने । स्थानीय तह निर्वाचनपछि मतदानस्थल पुनरावलोकन गरेकाले धेरै अप्ठ्यारा नआउने उनको भनाइ छ । ‘आयोग मतदातालाई पनि अप्ठ्यारो नहोस्, कर्मचारीलाई पनि अप्ठ्यारो नहोस् भनेर आयोगले व्यावहारिक र वस्तुनिष्ठ निर्णय गरेको छ,’ उनले भने ।  

मतदान गराउन चाहिने ५८ प्रकारको सामग्री

जिल्ला निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, मतदान केन्द्र र मतगणनास्थलमा चाहिने विभिन्न प्रकारका सामग्री यसप्रकार छन्–  

मतदाता नामावली, मतपत्र, मतपेटिका, सुरक्षण सिल, नउड्ने मसी भएको मार्कर पेन, स्वस्तिक छाप (रबर), मतपेटिका स्टिकर, स्वस्तिक छाप (पित्तल), अनुसूची फारामहरू, स्टाम्पप्याड मसी, छेकाबारा, रबर म्याट, लाहा, मार्कर पेन, स्ट्याम्पप्याड, पुसपिन (प्याकेट), क्लिपपिन, स्केल, स्ट्यापलर मेसिन, स्ट्यापलर पिन (बट्टा), कैँची, ग्लुस्टिक, सोसर, पन्चिङ मेसिन, ल्यापटप, कम्प्युटर, टोनर, फोटोकपी मेसिन र पेपर, इन्भर्टर, युपिएस ब्याट्री, प्याकिङ सामग्री, प्रिन्टर, राउटर, युएसबी डंगोल डिभाइस, पेनड्राइभ, हार्डडिस्क, जेनेरेटर, सर्भर तथा स्टोरेज पूर्वाधार, नेटवर्क पूर्वाधार, डाटा सेन्टरसम्बन्धी पूर्वाधार, लाइसेन्स एन्ड सर्भिसेस ब्याकअप, भोटर रजिस्ट्रेसन सिस्टम, कर्मचारी परिचयपत्र (कार्डहोल्डर र डोरीसहित), स्वयंसेवक परिचयपत्र (कार्डहोल्डर र डोरीसहित), उम्मेदवार/निर्वाचन/मतदान प्रतिनिधि परिचयपत्र (कार्डहोल्डर र डोरीसहित), मतगणना कर्मचारी परिचयपत्र, भित्र लेखिएको कार्ड, बाहिर लेखिएको कार्ड, पुरुष लेखिएको कार्ड, महिला लेखिएको कार्ड, अन्य लेखिएको कार्ड, धूम्रपान निषेध लेखिएको कार्ड, हातहतियार निषेध लेखिएको कार्ड, मतदान केन्द्र लेखिएको कार्ड, मतदाता क्रमसंख्या लेखिएको कार्ड, प्लास्टिक बोरा, प्लास्टिक थैलो, निर्वाचन आचारसंहिता, निर्वाचनसम्बन्धी ऐन, नियम, निर्देशिका र कार्यविधि, प्याकिङ टेप, प्लास्टिक सुतली, निविदा मतपत्र राख्ने नेपाली खाम, नेपाली कागजको चार किसिमको खाम, रेकर्ड फाइल (फित्तासहित), सेतो कागज ए–फोर साइज, सियो, धागो, फ्लाटिन कपडा, खाप्सियो (बोरा सिलाउन मिल्ने), कोरा कपडा थैला (निर्वाचन अधिकृतको कार्यालयबाट मतदान केन्द्रसम्म मतपत्र लैजान र मतदान केन्द्रमा बाँकी सामान फिर्ता ल्याउन), सलाई, जेलपेन (कालो), जेलपेन (रातो), मैनबत्ती प्याकेट, कोरा कपडा (दुई मिटरको टुक्रा), पोलबुक, इन्डेक्स/रिङ फाइल र मतदाता परिचयपत्र ।

व्याँसमा हेली पठाइने
जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन सामग्री पुर्‍याएको आयोगलाई मतदान केन्द्रमा पठाउन दार्चुला, हुम्ला र डोल्पाबाट हेलिकोप्टर माग भएको छ । दार्चुलाको व्याँसमा भारततिरको सडकबाट जानुपर्ने बाध्यता भएकाले निर्वाचन सामग्रीको सुरक्षालाई ध्यान दिएर हेलिकोप्टर दिने तय भएको उपसचिव कमल ज्ञवालीले बताए । 

हुम्ला र डोल्पाको हकमा भने आयोगले निर्णय गरिसकेको छैन । ‘अन्य ठाउँमा हिँडेरै जाने हो । सडकको पहुँच छ । हिउँ पर्‍यो र जानै कठिन भयो भने त्यस्तो बाध्यात्मक अवस्थामा हेली पठाउँछौँ,’ उनले भने । निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी जाने भएकाले स्थलमार्गबाटै जाने गरी जोड दिइएको उनले बताए । मतदान भइसकेपछि मतपेटिका ल्याउने जिम्मा भने गृहलाई दिइएको छ । यसका लागि १० करोड निकासा गरिएको छ । 

५५ हजार मतपेटिका
निर्वाचन सामग्रीमा एक अर्ब बजेट छुट्याएको आयोगले ५५ हजार मतपेटिका खरिद गरेको छ । एउटै मतदान केन्द्रमा कम्तीमा चारवटा मतपेटिका आवश्यक पर्छ । कतिपय मतदान केन्द्रमा जोखिमलाई न्यूनीकरण गर्न एउटा थप मतपेटिका पठाइएकाले एउटै मतदान केन्द्रमा धेरै मतपेटिका प्रयोग गरिने भएकाले केही मतपेटिका थप्नुपरेको सहायक प्रवक्ता अर्यालले बताए ।

बाँकी काम के छन् ? आयोगको अन्तिम तयारी कस्तो छ ?

दिनेशकुमार थपलिया प्रमुख निर्वाचन आयुक्त

पहिलो,  मतदान अधिकृतसहित कर्मचारी, सुरक्षाकर्मीलाई सम्बन्धित मतदानस्थल र केन्द्रमा मतपत्र, मतपेटिका र मतदान सामग्रीसहित खटाउने, सुरक्षित ढंगले पुग्यो कि पुगेन, कहाँ पुग्यो हेरेर १ मंसिरभित्र सबै मतदान केन्द्रमा पुर्‍याउने गरी खटनपटनमा लागेका छौँ । 

दोस्रो, सुरक्षा व्यवस्थालाई नयाँ ढंगबाट अगाडि बढाउँदै छौँ । पहिला केन्द्रमा सुरक्षा योजना बनाएका थियौँ । यसमा केही संशोधन गरेर २५ कात्तिकसम्ममा सबै प्रदेशस्तरमा क्षेत्रीय सुरक्षा गोष्ठी सम्पन्न गर्ने, २६ र २७ कात्तिकमा ७७ वटै जिल्लामा सुरक्षा समितिको बैठक राखेर अवस्थाको विश्लेषण गरी ३० कात्तिकभित्रमा आयोगमा पठाउने र सुरक्षा योजनाअनुसार बैठक बसेर तदअनुसार परिचालन गर्ने काम हुन्छ । 

तेस्रो, आचारसंहिता कार्यान्वयन र पालनाका सन्दर्भमा आएका उजुरी, अनुगमन तथा स्पष्टीकरण सोधेका ठाउँमा कारबाहीलगायत कामलाई फोकस गरेका छौँ । 
चौथो, निर्वाचन खर्चको निगरानी हो । कहाँ कति खर्च हुन्छ, के अवस्था छ, सामाजिक सञ्जालदेखि फिल्डमा हुने खर्चको सूक्ष्म अनुगमन गरेर नियन्त्रण गर्नेमा फोकस छौँ । 

पाँचौँ, मतपेटिकाको सुरक्षा हो । मतदानपछि सम्पूर्ण सुरक्षा व्यवस्थासहित मतपेटिका ढुवानी गर्न १० करोड गृह मन्त्रालयलाई विनियोजन भइसकेको छ । दल, उम्मेदवार, निर्वाचनमा खटिएका कर्मचारी, स्थानीय प्रशासन र सुरक्षा निकायले मतपेटिका सुरक्षित साथ ल्याएर मतगणना गर्ने विषयमा केन्द्रित छौँ । 

छैटौँ, बदर मत घटाएर शतप्रतिशत मतदान गराउन मतदाता शिक्षालाई वडास्तरमा पुर्‍याउने कार्यमा लागिरहेका छौँ । वडावडामा महिला स्वयंसेविका मतदाता शिक्षा कार्यकर्ताका रूपमा परिचालन हुनुभएको छ । पालिकाहरूमा नमुना मतदान भइरहेको छ । त्यसको जिल्लादेखि केन्द्रबाट अनुगमन भइरहेको छ । बदर मत घटाएर शतप्रतिशत मतदान गराउनेमा केन्द्रित छौँ ।