दलहरूले घोषणापत्रमा भरपर्दो स्रोतविनै पूरा हुनै नसक्ने ठुला पूर्वाधार योजना किन राख्छन् ?
हाम्रा दलहरूले ल्याउने घोषणापत्र कर्मकाण्डी छन्, प्राज्ञिक कार्यपत्र जस्ता छन् । दलहरू परम्परागत सोचबाट माथि उठ्न सकेका छैनन् । नेपाली जनताले घोषणापत्रमा लेखिएका कुरा छिटै बिर्सिन्छन् र जबाफदेही भइरहनुपर्दैन भनेर दलहरूले औपचारिकताका लागि मात्र घोषणापत्र ल्याउने गरेका छन् । त्यसैले, धरातलीय यथार्थलाई बिर्सिएर योजनाहरू ल्याउने गरेका छन् ।
दलहरूका घोषणा पूरा हुँदैनन् भन्ने जान्दाजान्दै पनि नागरिकले किन तिनैलाई पत्याउँछन् ?
आफूलाई जान्नेबुझ्ने ठान्ने बाठाटाठा नागरिक भोलि मौका पर्दा कुनै लाभ पाउने आशले दलका गुट, उपगुटको फेर समातेर अघि बढेका छन् । वैचारिक रूपमा सचेत नागरिक पनि यतिखेर गठबन्धनका कारण अलमलमा छन् । आममतदाता स्वतन्त्र र नयाँ भनिएका उम्मेदवारहरूप्रति विश्वस्त हुन सकेका देखिन्नन् । विकल्पको अभावमा आमनागरिक रनभुल्लमा परेका देखिन्छन् । जसले गर्दा, नपत्याऊँ भन्दाभन्दै पनि तिनैलाई पत्याउनुपर्ने बाध्यता छ जनतासामु ।
अपत्यारिला योजना ल्याएर नागरिकलाई झुक्याउने दलहरूलाई सच्याउन के गर्नुपर्ला ?
नागरिक आफैँमा संगठित नभएकाले उनीहरूले धेरै गर्न सक्ने अवस्था देखिन्न । निश्चित क्षेत्रका नागरिकले कुनै दल या उम्मेदवारप्रति अविश्वास गरेर विकल्प खोजे पनि त्यो देशभर लागु हुँदैन । दलहरूबाटै राम्रो र प्रस्ट भिजन तथा इमान भएका युवाहरू अगाडि आएमा बिस्तारै दलहरू आफैँ सच्चिन बाध्य हुनेछन् ।