१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २२ मंगलबार
  • Friday, 05 July, 2024
२o७९ कार्तिक २२ मंगलबार १५:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

जुम्ला पुगेर प्रचण्डले भने– १२ बुँदेदेखि नै ‘जय नेपाल’ र ‘लालसलाम’को मित्रता थियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २२ मंगलबार १५:५३:oo

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले १२ बुँदे समझदारी र विस्तृत शान्तिसम्झौतादेखि नै ‘जय नेपाल’ र ‘लालसलाम’को मित्रता भएको बताएका छन् । मंगलबार जुम्लामा गठबन्धनको चुनावी सभामा उनी आफैँले पनि ‘जय नेपाल’ भनेर सम्बोधन गरेका थिए ।

‘कांग्रेसको जय नेपाल र माओवादीको लालसलामको मित्रता अहिले मात्रै भएको होइन,’ उनले भने, ‘१२ बुँदे समझदारी र विस्तृत शान्तिसम्झौताकै क्रममा गिरिजाबाबुले मलाई लालसलाम र मैले गिरिजाबाबुलाई जय नेपाल भनेको थिएँ । त्यसवेलादेखि भएको थियो जय नेपाल र लालसलामको मित्रता ।’ 

संविधानसभाबाट संविधान जारी भएपछि देशका उत्पीडन वर्ग तथा समुदायले पनि समावेशी समानुपातिक मान्यतासहितको अधिकार प्राप्त गरेको अध्यक्ष प्रचण्डले बताए । ‘संविधानमा शिक्षा, स्वास्थ्य, रोजगारीलाई मौलिक अधिकारका रूपमा व्यवस्था गरियो,’ उनले भने, ‘यति भएपछि देशको विकास र आर्थिक क्रान्ति गर्न सकिन्छ भनेर वाम गठबन्धनको पार्टी बनायौँ । तर, त्यो पार्टी तीन वर्ष पनि चल्न सकेन ।’ 

७० वर्षको त्याग र बलिदानबाट प्राप्त गरेको नयाँ संविधान कम्युनिस्ट पार्टीकै नेताका नामबाट च्यात्ने दुस्साहस गरिएको उनको आरोप छ । संविधान मिचेर लोकतन्त्रका मूल्य–मान्यतालाई ध्वस्त पार्न खोजिएको बताउँदै उनले थपे, ‘त्यसका विरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकता महसुस भएरै नयाँ गठबन्धन बनेको हो ।’ 

कर्णालीलाई बजेटमा प्राथमिकता
यो गठबन्धनले बहुमतको सरकार बनाउने बताउँदै उनले जुम्लाबाट गठबन्धनबाट उठेका संघ र प्रदेश सभाका उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरे । अब आउने गठबन्धन सरकारले कर्णाली र सुदूरपश्चिमको आर्थिक, भौतिक तथा सामाजिक विकासमा मोटो रकमको बजेट व्यवस्थापन गर्ने उनले आश्वासन दिए । ‘यहाँका सडकहरू पीच मात्रै होइन, चौडा पनि गरिनेछ,’ जुम्ली जनतासामु प्रतिबद्धता जनाउँदै उनले भने, ‘पहिला कर्णाली (जुम्ला)ले बिरामी मात्रै बाहिर पठाउने गर्थ्याे, अहिले कर्णालीमै डाक्टर उत्पादन गरेर पठाउन  थालेको छ, यो गौरवको विषय हो ।’ 

जुम्लाको सिँजा खस सभ्यताको उदगमस्थल हो । यसको संरक्षण र प्रवर्द्धनका लागि प्रतिष्ठान नै स्थापना गरी जगेर्ना गरिने अध्यक्ष प्रचण्डले बताए । सिंगो कर्णालीमा ‘ओली पार्टी’लाई शून्यमा झार्न प्रचण्ड र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले मतदातालाई अपिल गरे ।

संविधान, लोकतन्त्र र गणतन्त्र मास्न कुचेष्टा गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनतासामु गएर भोट माग्न राजनीतिक नैतिकता नरहेको कांग्रेस उपसभापति खड्काको भनाइ थियो । उनले थपे, ‘अबको निर्वाचनपछि गठबन्धनकै सरकार बन्छ, अबको सरकारले कर्णालीको विकास गर्नका लागि विशेष बजेटको व्यवस्थापन गर्नेछ ।’

जिताएर पठाएपछि मन्त्री पक्का
माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार गोमा गौतम कुँवरलाई जिताएर पठाएमा मन्त्री बनाउने प्रतिबद्धता जाहेर गरे । प्रचण्डले जुम्ली जनतालाई भने, ‘तपाईंहरले अत्यधिक बहुमतले जिताएर पठाउनुस्, जुम्लाको विकासका लागि गोमालाई केन्द्रमा मन्त्री बनाउने जिम्मेवारी मेरो भयो ।’ ०७० साल दोस्रो संविधानसभाकी उम्मेदवार गोमा समानुपातिक सांसद हुँदै पशुपक्षी राज्यमन्त्री भएकी थिइन् ।

मार्सी चामलको चर्चा 
कर्णालीको जुम्लामा उत्पादन हुने मार्सी चामलको चर्चा अहिले निकै भएको छ । अध्यक्ष प्रचण्डले भने, ‘त्यो विषय मसँग पनि जोडियो । एकपटक मार्सी चामलको भात के खाएका थियौँ, निकै चर्चा भयो । त्यसले बजारीकरणमा समेत टेवा पुग्यो ।’ उनले यहाँको मार्सी चामल मात्र होइन, गेडागुडी, सिमी, स्याउलगायत वस्तुहरूको उत्पादन वृद्धि गरी ब्रान्डिङ र बजारीकरण गरिनुपर्नेमा जोड दिए ।

ad
ad
ad
ad