देश/विदेश
हामीले कोप २७ मा विश्वनेताले भन्ने गरेको ‘फलानो–फलानो’ काम गर्नेछु भन्ने खोक्रो आश्वासन नभई ठोस पहलकदमी खोजेका छौँ
इजिप्टमा आजदेखि विश्वनेता र जलवायु विज्ञको सहभागितामा राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महत्वपूर्ण छलफल हुँदै छ । यो शताब्दीमा पृथ्वीलाई शून्य कार्बन उत्सर्जनतर्फ लैजान र विश्व तापमानलाई दुई डिग्री सेल्सियसभन्दा तल सीमित गर्ने लक्ष्य राख्दै कोप २७ बैठक हुँदै छ ।
जलवायु परिवर्तनका सबैभन्दा हानिकारक प्रभाव रोक्न संसारले छिट्टै डिकार्बोनाइज गर्न आवश्यक छ । विश्वनेता यसबारे सचेत पनि छन् । तर, यो जानकारीलाई कार्ययोग्य प्रतिबद्धता एवं लक्ष्यमा रूपान्तरण गर्न आवश्यक छ ।
यदि मानव जाति यथास्थितिमै अगाडि बढिरहने हो भने हाम्रा सन्तान र भावी पुस्ताका लागि सबैभन्दा तातो र घातक पृथ्वी बाँकी रहनेछ । पृथ्वी बचाउन कोप २७ सफल हुनु अत्यावश्यक छ । विश्वास छ, विश्व नेताले इजिप्टमा हुने जलवायु सम्मेलनमा निम्न तीन विषयमा ध्यान दिनेछन् :
१. हाम्रो ग्रह निःसन्देह संकटमा छ : औद्योगिक कालको तुलनामा पृथ्वी पहिल्यै एक डिग्री सेल्सियसले तातो भएको सन्दर्भमा जलवायु प्रणालीले क्षति व्यहोरिसकेको छ । हाम्रो हरितगृह ग्यास उत्सर्जनले गर्दा महासागर थप अम्लीय बन्न थालेको छ, समुद्री बरफ पग्लिँदै छ र समुद्रको सतह बढिरहेको छ । सन् २०२१ मा उत्तर–पश्चिमी अमेरिकाले हालसम्मकै बढी गर्मी अनुभव गर्यो । व्यापक डढेलो लाग्यो र पूर्वाधारमा क्षति गरायो । त्यसैगरी यस वर्षको सुरुवातमा बेलायतले इतिहासमै पहिलोपटक जोखिमपूर्ण ४० डिग्री सेल्सियस तापमान अनुभव गरेको छ ।
समुन्द्रको जैविक विविधतामा पनि जलवायु परिवर्तनको असर देखिँदै छ । कोरल रिफ (मुगाबाट बन्ने चट्टान) खिइँदै गएका छन् र ती चट्टानमा आश्रित प्रजातिको विविधता समुद्री तापका लहरले घट्दै छन् । विश्वलाई तातो हुनबाट रोक्न नसकिए यी तापका लहर थप बढ्नेछन् ।
डरलाग्दो गरी हामी जलवायुलाई एक जोखिमपूर्ण अवस्थामा धकेलिरहेका छौँ, जसले थप खतरनाक परिणाम निम्त्याउनेछ । यही सेप्टेम्बरको एक अध्ययनले हामी पाँच जलवायु ‘उत्कर्ष बिन्दु’मा पार गर्न आँटिरहेका छौँ, जसमा ग्रिनल्यान्डको हिउँको पत्र पग्लिने पनि रहेको छ । यी बिन्दु पार गर्दा सबै हरितगृह ग्यास उत्सर्जन बन्द भए पनि ग्रहमा जलवायु क्षति निरन्तर रूपमा भइरहनेछ । त्यसबाहेक मानव स्वास्थ्य पनि खतरामा छ । गत महिना प्रकाशित अध्ययनअनुसार जलवायु संकटले जनस्वास्थ्यमा संक्रामक रोग, वायु प्रदूषण र खाद्यान्न अभावलगायत खतरा निम्त्याउनेछ । यो अध्ययनमा सन् २०००–२००४ को तुलनामा सन् २०१७ र २०२१ को बीचमा ६५ वर्षमाथिका व्यक्ति र एक वर्षमुनिका शिशुमा गर्मीसम्बन्धी मृत्युमा ६८ प्रतिशतले वृद्धि भएको पाएको छ ।
२. हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण निकै सुस्त छ : नवीकरणीय ऊर्जा अपनाएर केही राष्ट्र विशेषतः युरोपेली मुलुक हरितगृह ग्यास उत्सर्जन कम गर्न सक्षम भएका छन् । तर, विश्वव्यापी रूपमा भने उत्सर्जन न्यूनीकरण सुस्त देखिन्छ । यो साता जारी गरिएको राष्ट्र संघको मूल्यांकनअनुसार विश्वका मुलुकले सन् २०३० सम्ममा लक्ष्य पूरा गरिहाले पनि पृथ्वी यो शताब्दीमा लगभग दुई दशमलव पाँच डिग्री सेल्सियसले तात्नेछ, जुन पेरिस सम्झौताको दुई डिग्री सेल्सियसभन्दा कम राख्ने लक्ष्यभन्दा बढी हो । यसरी बढ्ने तापक्रमको परिणाम विशेषतः उत्सर्जनमा निकै कम भूमिका हुने विश्वका गरिब क्षेत्रमा निकै भयावह हुनेछ ।
दशकौँदेखि कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल भएका छन् । तैपनि, सन् १९९२ मा पहिलो जलवायु सम्मेलनपछि वार्षिक विश्वव्यापी उत्सर्जन ५० प्रतिशतभन्दा बढी पुगेको छ । राष्ट्रसंघका अनुसार विश्व तापमान वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा रोक्नका लागि अझै पनि कुनै ‘विश्वसनीय उपाय’ छैन । विशुद्ध–शून्य उत्सर्जनको नजिक नपुगुन्जेलसम्म विश्व तातो हुन जारी रहनेछ र हाम्रो वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढिरहनेछ । साविक दरले विश्व हरेक दश वर्षमा शून्य दशमलव दुई डिग्री सेल्सियसले तातो भइरहेको छ ।
३. बेवास्ताको अन्त्य हुनैपर्छ : युक्रेनमा रुसी आक्रमण र जीविका संकटको लागतलगायत विश्वका धेरै चुनौतीमाझ जलवायु परिवर्तनको मुद्दा बिस्तारै समाधान गरौँला भन्ने तर्क ठिकै लाग्न सक्छ । तर, यो बुझाइ निकै भयानक हुनेछ । जलवायु परिवर्तनको समस्या झांगिँदै जानेछ । प्रत्येक वर्षको बेवास्ताले सबैभन्दा खतरनाक जलवायु प्रक्षेपणलाई वास्तविकता बन्नबाट रोक्न थप कठिन बनाइरहेको छ ।
हाम्रो सबैभन्दा नाजुक पारिस्थितिक व्यवस्थालाई जोगाउने एक मात्र उपाय अन्तर्राष्ट्रिय साझेदारी हो । यसलाई रोक्नका लागि हामीले जतिसक्दो चाँडो जीवाश्म इन्धनको प्रयोगलाई रोक्नुपर्छ । जीवाश्म इन्धनको कुनै पनि किसिमको थप प्रयोगले समस्यालाई बल्झाउनेछ र भविष्यमा मानव एवं वातावरण दुवैले ठूलो मूल्य चुकाउनुपर्नेछ ।
तर, गत साता अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार तेल र ग्यास कम्पनीको विशुद्ध राजस्व सन् २०२२ मा दुई गुणाले बढ्नेछ अर्थात् ‘असाधारण ढंगले राजस्व ४० खर्ब डलर पुग्नेछ’ । हामीले जलवायु अभियन्ता ग्रेटा थनबर्गले भनेझैँ कोप २७ मा विश्वनेताले भन्ने गरेको ‘फलानो–फलानो’ काम गर्नेछु भन्ने खोक्रो आश्वासन नभई ठोस पहलकदमी खोजेका छौँ ।
अब के ? : कोप २७ ले जीवाश्म इन्धनलाई प्रतिस्थापन गर्ने र जलवायु परिवर्तनका निम्ति सबैभन्दा गम्भीर ढंगले संघर्ष गर्ने राष्ट्रलाई समर्थन गर्ने निर्णय गर्नुपर्छ । पछिल्ला अनुभवका कारण म खासै सकारात्मक छैन, तर विश्वनेताले मलाई गलत प्रमाणित गरून् र आफ्ना मुलुकलाई विनाशबाट जोगाऊन् ।
(किङ मेलबर्न विश्वविद्यालयका जलवायु विज्ञानका वरिष्ठ अध्यापक हुन्) द कन्भर्सेसनबाट