आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदै छ । विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएका उम्मेदवारहरू अहिले चुनाव प्रचारप्रसारमा व्यस्त छन्। हिजोको दिनमा एउटै पार्टीमा रहेर सँगै संगठन हाँकेका पनि पार्टी परित्याग गरेर अर्कै पार्टीमा गएर उम्मेदवार भएका छन्।
कांग्रेसको १४औँ महाधिवेशनमा सँगै भएका कांग्रेसका युवा नेता डिल्लीराम सुवेदी र नवराज पौडेल अहिले दुई राजनीतिक दलबाट प्रतिस्पर्धामा छन्।उनीहरू दुवैजना बाग्लुङ १ प्रदेश सभा (ख) मा छुट्टाछुट्टै राजनीतिक दलबाट मैदानमा छन्।
सुवेदी कांग्रेसबाट उम्मेदवार छन् भने कांग्रेस छाडेका पौडेल नेकपा एमालेबाट उम्मेदवार बनेका छन्। सुवेदी र पौडेल कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा सँगै यस क्षेत्रबाट महाधिवेशन प्रतिनिधि बनेका थिए।
सुवेदी नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा आएका हुन्। उनी काठमाडौं शिक्षा क्याम्पसबाट नेविसंघकको स्ववियु सभापति हुँदै नेविसंघको केन्द्रीय उपाध्यक्षसम्म भए। हाल कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । ३९ वर्षकै उमेरमा प्रदेश सभाको उम्मेदवार भएका सुवेदी यसपटक गण्डकी प्रदेशको प्रदेश सभामा पुग्ने लक्ष्यका साथ मैदानमा छन्।
गठबन्धनमा आबद्ध दलकै मतले आफूले जित्नेमा ढुक्क छन् उनी। सुवेदीले जिल्लाको दक्षिण भेग बरेङ, बलेवा र जैमिनी समुन्नत्री र विकासमा अग्रणी भन्ने मूल संकल्पका साथ आफू जनतामाझ आएको बताए।
कांग्रेसबाट टिकट नपाएपछि एमालेमा
पौडेल पनि नेपाल विद्यार्थी संघ बाग्लुङको अध्यक्ष कांग्रेसको जिल्ला सदस्य हुँदै जिल्ला सचिव र महाधिवेशन प्रतिनिधि भएका थिए। पौडेलले गत स्थानीय तहको निर्वाचनमा जैमिनी नगरपालिकाको नगर प्रमुखको दाबी गरेका थिए। उनकी श्रीमती उषा पौडेल कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधि थिइन्।
गठबन्धनमा जैमिनीमा नगरप्रमुख राष्ट्रिय जनमोर्चाको भागमा परेपछि कांग्रेसको भागमा उपप्रमुख पर्याे। प्रमुख नपाएपछि पौडेलले आफ्नी श्रीमती उषा पौडेललाई उपप्रमुख बनाउन कसरत गरे। उनले पनि टिकट पाइनन् । कांग्रेसको तर्फबाट जिल्ला सचिव हरिहर शर्मा जैमिनी नगरपालिकाको उपप्रमुखको उम्मेदवार भए।
पौडेलले अन्ततः नेकपा एमालेको चुनाव चिह्नबाट श्रीमतीलाई उपप्रमुखको उम्मेदवार बनाए । स्थानीय तहदेखि कांग्रेससँग सुरु भएको असन्तुष्टिकै कारण पौडेल एमाले प्रवेश गरे। एमालेका अध्यक्ष केपी ओलीकै हातबाट टीका लगाएर एमालेमा प्रवेश गरेका उनी अहिले एमालेको प्रदेश सभाको प्रत्यक्षको उम्मेदवार हुन्। साथै उनी एमालेको केन्द्रीय सल्लाहकारसमेत भएका छन्।
पौडेलले आफूले यस क्षेत्रमा निरन्तर राजनीति गरेको हुँदा यहाँका जनताले आफूलाई विश्वास गर्ने बताए। उनी दक्षिण भेगको विकासका निम्ती आफ्नो उम्मेदवारी रहेको बताउँछन्।
यस क्षेत्रमा पौडेल र सुवेदी नै मुख्य प्रतिस्पर्धी हुन् । सुवेदीलाई राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको पनि साथ छ भने पौडेललाई एमालेको मात्रै। पौडेल र सुवेदीसँगै प्रदेश सभाका निम्ति मंगोल नेसनल अर्गनाइजेसनका सहवीर थापा र राप्रपा नेपालका गोविन्द सापकोटा छन्।
यस क्षेत्रमा कुल ४६ हजार ८६ मतदाता छन्। बाग्लुङ नगरपालिकाको वडा नं. १२, १३, १४, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका यस क्षेत्रमा पर्दछन्।
प्रतिनिधिसभातर्फ गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी, नेकपा एमालेका सूर्य पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल, राप्रपाका लक्ष्मीप्रसाद सापकोटा, कांग्रेस (बिपी)का शिवलाल सापकोटा छन् भने चन्दबहादुर क्षेत्री स्वतन्त्र उम्मेदवार हुन्।