मलाई दिउँसो निद्रा लाग्दैन । कतै टुरमा जाँदा सबै बसमा निदाइरहेका हुन्छन्, तर मचाहिँ निदाउन सक्दिनँ ।
नयाँ फिल्ममा काम गर्दा बेलुकीको सिन छ कि छैन भनेर सोध्छु । नाइट सिन भएको सिनेमा गर्दिनँ । कुनै फिल्ममा नाइटमा पनि काम गर्नुपर्यो भने बढीमा १० बजेसम्म काम गर्छु । त्योभन्दा पछाडि काम गर्नुपर्ने भएमा गर्दिनँ । मलाई मधुमेह भएको छ । त्यसैले पनि स्वास्थ्यप्रति सचेत छु । राति समयमै सुत्ने र बिहान समयमा उठ्ने गर्छु । बिहान ५ बजे उठिसकेको हुन्छु । कहिलेकाहीँ राति अलि ढिला सुत्यो भने ७ पनि बज्छ ।
मलाई दिउँसो निद्रा लाग्दैन । कतै टुरमा जाँदा सबै बसमा निदाइरहेका हुन्छन् । तर, मचाहिँ निदाउन सक्दिनँ । काठमाडौंमा धेरै प्रदूषण छ, त्यसैले पनि बिहानको समय मर्निङ वाकका लागि बाहिर निस्कन्न ।
डाक्टरले पनि घरभित्रै व्यायाम गर्नुस् वा ट्रेडमिलमा दौडनुस् भनेर सल्लाह दिनुभएको छ । त्यसैले, म घरभित्रै सिढींहरू चढ्छु र ओर्लन्छु । यसले मलाई एक्सरसाइज गराएको छ । मलाई निदाउन रात नै चाहिन्छ । हाँस्ने र हसाँउने कामले मलाई खुसी र तन्दुरुस्त राख्न सहयोग पनि गरेको छ ।