मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १७ बिहीबार
  • Wednesday, 18 December, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o७९ कार्तिक १७ बिहीबार o६:३५:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आजदेखि खुला प्रचार, दौडाहामा शीर्ष नेता

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १७ बिहीबार o६:३५:oo

प्रमुख दलका शीर्ष नेताहरू चुनावी सभासहितका कार्यक्रमका लागि निर्वाचन क्षेत्र र देश दौडाहामा निस्केका छन् । निर्वाचन आयोगले बिहीबारदेखि १ मंसिरसम्म प्रचारप्रसारका लागि समयावधि तोकेको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा मतदाता भेटघाट र घरदैलोका लागि बुधबारै कैलालीको धनगढी पुगेका छन् । उनी बिहीबार डडेल्धुरा उक्लिने कार्यक्रम छ । 

एमाले अध्यक्ष केपी ओली चुनावी सभाहरूलाई सम्बोधन गर्न शुक्रबार उपत्यकाबाहिर जाँदै छन् । उनी कम्तीमा १८ देखि २७ कात्तिकसम्म जिल्लाका सभाहरूमा सहभागी हुने एमालेले जनाएको छ । दौडाहाको पहिलो दिन शुक्रबार अध्यक्ष ओलीले सुदूरपश्चिमका दार्चुला, बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्दै छन् । ओलीको दौडाहामा हेलिकोप्टर प्रयोग गर्न एमालेले बुधबार निर्वाचन आयोगबाट अनुमति लिइसकेको छ । 

माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पछिल्ला केही दिनदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित छन् । बुधबार काठमाडौंमा भए पनि पार्टीको गोर्खा–काठमाडौं सम्पर्क समितिको कार्यक्रममा सहभागी प्रचण्ड पुनः केही दिन उम्मेदवार रहेको गोरखा २ मै केन्द्रित हुने माओवादीले जनाएको छ । नेता नेपाल रौतहटमै खटिएका छन् ।

प्रधानमन्त्री देउवा २० कात्तिकसम्म निर्वाचन क्षेत्रकेन्द्रित चुनावी कार्यक्रममा सहभागी हुने उनका प्रेस संयोजक गोविन्द परियारले बताए । ‘उहाँ चार दिन निर्वाचन क्षेत्रकै कार्यक्रमहरूमा सहभागी हुनुहुन्छ र त्यसपछि काठमाडौं फर्किनुहुन्छ,’ परियारले भने, ‘त्यसपछि गठबन्धनको बैठक बसेर संयुक्त सभा वा संयुक्त प्रकृतिका दोस्रो चरणका कार्यक्रम तय हुनेछन् ।’ गठबन्धनले दोस्रो चरणमा मात्र शीर्ष नेतृत्व देश दौडाहामा जाने कि नजाने संयुक्त बैठकमार्फत निर्णय लिने भएको छ । प्रधानमन्त्री देउवाले १७ कात्तिकमा अमरगढी नगरपालिका, १८ कात्तिकमा नवदुर्गा गाउँपालिका, १९ कात्तिकमा अजयमेरू र २० कात्तिकमा आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

गृहजिल्ला झापाबाट फर्किएलगत्तै पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेका एमाले अध्यक्ष ओली कम्तीमा नौ दिन उपत्यकाबाहिरका चुनावी सभाहरूमा केन्द्रित हुनेछन् । केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टका अनुसार ओलीले नौ दिनमा कम्तीमा ४० जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने गरी प्रारम्भिक कार्यतालिका तय भएको छ । यद्यपि, जिल्लाहरूसँगको समन्वयमा कार्यक्रमको संख्या र समयतालिका भने हेरफेर हुन सक्ने उनको भनाइ छ । 

सुदूरपश्चिमपछि ओलीले कर्णालीका सुर्खेत र दैलेखमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् । लुम्बिनीमा ६ जिल्लामा ओलीलाई सहभागी गराउने गरी प्रदेश कमिटीले तयारी सुरु गरेको छ । गण्डकीका स्याङ्जा, कास्की र लमजुङमा २० कात्तिकमा तथा बाग्लुङ, पर्वत र नवलपुरमा २१ कात्तिकमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, मधेसमा जनकपुरसहित अन्य क्षेत्रमा हुने सभामा उनी सहभागी हुनेछन् । त्यस्तै, प्रदेश १ का झापा, सुनसरी, उदयपुर, खोटाङ, संखुवासभा, मोरङ र पाँचथरमा आमसभाको तयारी गरिएको एमालेले जनाएको छ ।

सत्तारूढ गठबन्धनका प्रमुख नेताहरू भने कम्तीमा तीनदेखि चार दिन निर्वाचन क्षेत्रतिरै केन्द्रित हुने भएका छन् । माओवादीका कोषाध्यक्ष श्रीराम पौडेलले अहिलेसम्म माथिबाट चुनावी सभाको कार्यक्रम नराखेको, तर जिल्लाहरूले आवश्यकता ठानेको अवस्थामा भने अध्यक्ष प्रचण्ड सहभागी हुने बताए । ‘माथिबाट चुनावी सभाका कार्यक्रम बनेका छैनन्, तर जिल्ला र निर्वाचन क्षेत्रले आवश्यकता ठानेर बनायो भने समय मिलाएर अध्यक्ष सहभागी हुनुहुन्छ,’ उनले भने । 

त्यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि गृहप्रदेश मधेसमै केन्द्रित छन् । मंगलबार धनुषाको जनकपुर पुगेका उनी क्षेत्र नम्बर २ का उम्मेदवार रामचन्द्र झाको निर्वाचन क्षेत्रमा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका थिए । उनी अझै केही दिन निर्वाचन क्षेत्र रौतहट १ र आसपासका जिल्लामा केन्द्रित हुनेछन् । महासचिव बेदुराम भुसालले पार्टीले चुनावी सभा गर्ने गरी कुनै कार्यक्रम तय नगरेको बताए । ‘पार्टीले चुनावी सभाको कार्यक्रम बनाएको छैन, हामी सकेसम्म कम खर्चिलो ढंगले चुनावी प्रचारका कार्यक्रम गर्नुपर्छ भन्ने सोचमा छौँ,’ भुसालले भने ।

सत्तागठबन्धनले संयुक्त चुनावी सभाबारे २० कात्तिकपछि निर्णय गर्ने 
खुला प्रचारको पहिलो चरणमा पाँचदलीय सत्तागठबन्धनका शीर्ष नेताहरू आ–आफ्नो पार्टीले गर्ने चुनावी सभामा सहभागी हुनुका साथै मतदाता भेटघाट गर्दै छन् । गृहजिल्ला डडेल्धुराका चुनावी सभामा सहभागी हुन बुधबार धनगढी पुगेका प्रधानमन्त्री देउवा २० कात्तिकमा मात्रै काठमाडौं फर्किँदै छन् । उनी फर्किएपछि गठबन्धनको बैठक बसेर संयुक्त सभा वा संयुक्त प्रकृतिका दोस्रो चरणका चुनावी कार्यक्रम तय गर्ने तयारी रहेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले बताए । 

प्रचारका लागि एमाले र कांग्रेसले लिए हेलिकोप्टर प्रयोगको अनुमति
शीर्ष नेतालाई देशव्यापी प्रचारमा सहभागी गराउन एमाले र कांग्रेसले निर्वाचन आयोगबाट हेलिकोप्टर प्रयोगको अनुमति लिएका छन् । दुवै दलबाट आएको निवेदनमा बुधबार साँझ निर्णय गर्दै अनुमति दिइएको आयोगका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले बताए । निर्वाचन आचारसंहिताको दफा १३ (च) र (छ) मा राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नोतर्फबाट दुईजना मुख्य प्रचारकको नाम बुझाउनुपर्ने र आयोगको अनुमतिमा उनीहरूले मात्र हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्था छ । यसको खर्च दलले गर्न पाउने खर्चको सीमाभित्र पर्छ ।

एमालेले अध्यक्ष केपी ओलीलाई मुख्य प्रचारक तोकेको छ । ‘अर्काे मुख्य प्रचारक हामीले रिजर्भ राखेका छौँ । ठाउँ हेरेर फरक हुन्छ, पछि तोक्छौँ,’ एमाले उपमहासचिव विष्णु रिमालले भने । कांग्रेसले सभापति शेरबहादुर देउवालाई मुख्य प्रचारक तोकेको छ । ‘एउटा खाली छ । हाम्रा नेताहरू धेरै छन् । पालो मिलाएर जानुहुन्छ,’ कांग्रेस केन्द्रीय कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने । 

यादव काठमाडौं फर्किँदै, ठाकुर निर्वाचन क्षेत्रमै व्यस्त

जसपा अध्यक्ष उपेन्द्र यादव अहिले निर्वाचन क्षेत्र सप्तरी २ मा मतदाता भेटघाट र घरदैलो कार्यक्रममै व्यस्त छन् । उनी १९ कात्तिकमा काठमाडौं आउने र २० कात्तिकमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।

त्यसलगत्तै उनी अन्य जिल्लाका चुनावी सभालगायतका कार्यक्रममा सहभागी हुने प्रवक्ता मनीष सुमनले बताए । त्यस्तै, लोसपाका अध्यक्ष महन्थ ठाकुर निर्वाचन क्षेत्र महोत्तरी ३ को पूर्वनिर्धारित कार्यक्रममै व्यस्त छन् ।

उनी अझै केही दिन चुनावी क्षेत्रको जलेश्वर नगरपालिकासहित तीनवटा स्थानीय तहका वडामा घरदैलो कार्यक्रममै व्यस्त रहने केन्द्रीय सदस्य सुरेन्द्र झाले बताए ।