मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ कार्तिक १७ बिहीबार ०६:२५:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

७२ सिटे जहाजका एक्ला यात्रु

एयरहोस्टेसले भनिन्– आजको विराटनगर उडानमा तपाईं एक्लो यात्रु हुनुहुन्छ, तपाईंलाई स्वागत छ

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ कार्तिक १७ बिहीबार ०६:२५:००

७२ सिटको जहाजमा एक्लो यात्रु ! सुन्दा अचम्म लाग्छ, तर भइदियो त्यस्तै । बुद्ध एयरको एटिआर ७२ मंगलबार साँझ ८ बजे एक्लो यात्रु बोकेर काठमाडौंबाट विराटनगर उड्यो । सो उडानका भाग्यमानी यात्रु थिए, सिने व्यवसायी उद्धव पौडेल । 

हुन त विश्वका धनाढ्यहरू आफ्नै निजी जहाजमा यात्रा गर्छन्, तैपनि उनीहरू जहाजमा एक्लै हुँदैनन् । त्यहाँ निजी सुसारेदेखि अंगरक्षकसम्म हुन्छन् । ‘कमर्सियल फ्लाइट’मा एक्लो यात्री बन्नु कल्पनाभन्दा बाहिरको कुरा हो । यस्तो अवसर विश्वमै विरलै पाइन्छ । नेपालमा यस्तै अवसर प्राप्त गरेका पौडेल यतिवेला सामाजिक सञ्जालमा ‘भाइरल’ छन् । मंगलबार जहाजमा आफू मात्रै यात्रु भएको थाहा पाएपछि एक्लै बसेको फोटो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले लेखे– ‘आज काठमाडौंबाट विराटनगरसम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडानमा म एकल यात्रु, रोमाञ्चक अनुभव ।’ 

फोटो सार्वजनिक हुनेबित्तिकै उनलाई बधाईको ओइरो लाग्यो । सामाजिक सञ्जालमा उनको फोटो भाइरल भयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रतिनिधिसभा समानुपातिक उम्मेदवारसमेत रहेका उनी चुनावी अभियानमा भाग लिन गृहनगर विराटनगर बिहानै जाने योजनामा थिए । तर, कामविशेषले अड्किँदा यात्रा साँझ स¥यो । 

पछिल्लो समय रातको १२ बजेसम्म पनि विराटनगर विमानस्थल खुला रहन्छ । उनले भने ‘साझ ८–९ बजेसम्म काम पनि सकिन्छ, विराटनगर पनि पुगिहालिन्छ भन्ने लाग्यो ।’

 उनी एयरपोर्टको आन्तरिक टर्मिनल भवनमा पुग्दा जहाज उड्न समय हुनै लागेको थियो । बुद्ध एयरको विराटनगर काउन्टरमा उनले कोही देखेनन् । उनलाई लाग्यो, ‘सबै यात्रुको बोर्डिङ पास भइसकेछ, म साँच्चै ढिलो आइपुगेछु ।’ कर्मचारीले काउन्टर क्लोज गर्न लागेका थिए । उनले स्मरण गर्दै भने, ‘मलाई अगाडि देख्नेबित्तिकै कर्मचारीले विराटनगर जाने हो भनेर प्रश्न गरे । मैले हो भनेपछि हतार–हतार बोर्डिङ पास दिएर पाँच नम्बर गेटमा गइहाल्न अनुरोध गरे ।’

सुरक्षा चेकजाँच गरेर हतार हतार वेटिङ रुमको पाँच नम्बर गेटमा उनी पुग्नासाथ सानो गाडीमा राखेर जहाँ जति लगियो । सामान्य अवस्थामा यात्रुलाई बसमा जहाजतर्फ लैजाने गरिन्छ । कुनै यात्रुले ढिलो गरे मात्रै सानो गाडीमा सेवा दिइन्छ । त्यसैले उनलाई सबैले कुरेर बसेजस्तो लाग्यो । आफ्नो कारणले उडान डिले भए अरू यात्रुले गाली गर्लान् कि भन्ने डर भयो । भ्यानबाट जडाजतर्फ जाँदै गर्दा केही वर्षअघि नेपालगन्ज विमानस्थल ढिला पुगेका तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईलाई यात्रुले पर्खाएको भन्दै ‘र्‍याखर्‍याख्ती’ पारेको स्मरण भयो । उनले भने, ‘प्लेननजिकै पुग्दा पनि बाहिर कुनै यात्रु देखिनँ, ढोकामा एयरहोस्टेस कुरेर बसेको देखेँ, म मात्र ढिलो भएछु भनेर केही अप्ठ्यारो महसुस पनि भयो ।’

तर, जहाजभित्र पस्दा एकजना पनि यात्रु देखेनन् । उनी सक्ड भए । तर, विश्वास नगरी धरै थिएन । एयरहोस्टेसले भनिन्– ‘आजको विराटनगर उडानमा तपाईं एक्लो यात्रु हुनुहुन्छ, तपाईंलाई स्वागत छ ।’ ७२ सिटे जहाजमा आफू मात्रै यात्रु भएको थाहा पाएपछि उनी आश्चर्यचकित भए । यस्तो यात्रा जीवनमा कहिल्यै गरेका थिएनन् उनले । पाँच हजारको टिकटमा उनले चार्टर उडानको अनुभव लिए । जहाज पूरै खाली देखेपछि उनलाई कुन सिटमा बसौँ लाग्यो । एयरहोस्टेसलाई कुन सिटमा बसौँ भन्ने प्रश्न गर्दा जहाँ बस्नुभए पनि हुन्छ भन्ने जवाफ आयो । आफू बीचतिरको सिटमा बसेपछि एयरहोस्टेसलाई फोटो खिचिदिन आग्रह गरे । उनले फेसबुकमा लेखेका छन्– ‘रोमाञ्चक अनुभव !’ सोही फोटो फेसबुकमा पोस्ट गरेपछि विराटनगर नपुग्दै सामाजिक सञ्जालमा भाइरल भए । 

जहाजमा एक्लो यात्रु भएको यो पहिलो घटना भने होइन । यसअघि नारायणदत्त भण्डारी बुद्ध एयरकै एटिआर–७२ जहाजमा काठमाडौं–पोखराको उडानमा एक्लो यात्रु भएका थिए । उनले पनि फेसबुकमा फोटो पोस्ट गर्दै लेखेका थिए– ‘७२ सिटे जहाजमा एकजना मात्रै यात्रुको रूपमा उड्ने अवसर मिल्यो, विरलै वा प्रायः असम्भवजस्तै भए पनि कहिलेकाहीँ जुर्दोरहेछ । टिकट मूल्य रु. ४१ सय मात्र ।’ यो घटना बाहिरिएसँगै सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले पनि गत वैशाख २० मा बुद्ध एयरकै जहाजमा भैरहवाबाट काठमाडौं फर्किँदा एक्लो यात्रु बनेको अनुभव सुनाए । 

काठमाडौंबाट उडेको जहाज विराटनगरबाट यात्रु बोकेर काठमाडौं फर्किनुपर्ने थियो । विराटनगर जाँदा एकजना मात्र यात्रु भए पनि विराटनगरबाट ६५ यात्रु बोकेर फर्किएको थियो । ‘हामीले एकतर्फी यात्रु हेरेर हुँदैन, फर्किने यात्रु छन् भने रित्तै भए पनि जानुपर्छ,’ बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले भने, ‘उडानको समयमा कहिलेकाहीँ यस्तो हुन्छ ।’