मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १६ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १६ बुधबार o६:१३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एकैदिन नौजनालाई स्पष्टीकरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १६ बुधबार o६:१३:oo

निर्वाचन आयोगले एकैदिन नौजनालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी, सूचना र स्वअनुगमनका आधारमा आयोगले मंगलबार दलका उम्मेदवार, शिक्षक, कर्मचारी, स्थानीय तहका जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । आयोगले सप्तरी २ का उम्मेदवार उपेन्द्र यादवको प्रचार गरेको उजुरीमा राजविराज नगरपालिकाका शाखा अधिकृत मनोजकुमार यादवलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । राष्ट्रिय भूमि आयोगको अध्यक्ष पदमा बसेर एकीकृत समाजवादीका उम्मेदवारको प्रचारमा संलग्न भएको, दलको बैठक, कार्यक्रम र भेलामा सहभागी भएको उजुरीका आधारमा उदय सुवेदीलाई स्पष्टीकरण सोधिएको छ । 

कांग्रेसका उम्मेदवारको प्रचारमा संलग्न भएको उजुरीका आधारमा पर्वत कुश्मा नगरपालिका– ९ का वडाध्यक्ष राम शर्मा लामिछानेलाई स्पष्टीकरण सोधिएको छ । कांग्रेसकै उम्मेदवारको प्रचारमा संलग्न भएको भन्दै जलजला गाउँपालिका अध्यक्ष राजु आचार्यलाई पनि स्पष्टीकरण सोधिएको छ । सरकारी विद्यालयको शिक्षक भएर दलको प्रचारमा गएको भन्दै नारायणी माध्यमिक विद्यालय कुश्मा–८ का शिक्षक शुभन्तराज सुवेदीलाई स्पष्टीकरण सोधिएको छ । 

तरुण दलको नामबाट विद्यार्थीहरूलाई कपी–कलम वितरण गर्न दिएर अभिभावकलाई प्रभावित पार्ने प्रयास गरेको भन्दै कुश्मा– १४ आर्थरस्थित पञ्चकोसी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई पनि स्पष्टीकरण सोधिएको छ । यसमा कपी–कलम वितरण गर्ने पर्वतका कांग्रेस उम्मेदवार अर्जुनप्रसाद जोशीलाई मतदाता प्रभावित पार्न खोजेको भन्दै छुट्टै स्पष्टीकरण सोधिएको छ । 

कांग्रेस नवलपुर प्रदेश सभा कार्यसमिति सभापति पदमा बसेर विभिन्न चुनावी कार्यक्रममा दलको प्रतिनिधिको रूपमा सहभागी भएको भन्दै मध्यबिन्दु नगरपालिका– १३ स्थित सरस्वती माविका शिक्षक कृष्ण तिवारीसँग पनि स्पष्टीकरण माग गरिएको छ । एकीकृत समाजवादीको लुम्बिनी प्रदेश कमिटी सदस्यमा बसेर चुनावी कार्यक्रममा सहभागी भएको भन्दै मुसिकोट– ७ स्थित वामीटक्सारमा रहेको महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक अनन्तलाल भण्डारीलाई पनि स्पष्टीकरण सोधिएको छ । आयोगले आचारसंहिता उल्लंघनमा प्रमाण पुगेका व्यक्ति तथा संस्थाहरूमाथि जरिवानाको तयारी गरेको छ । निर्वाचन आयोग ऐनमा आचारसंहिता उल्लंघन गर्नेलाई एक लाखसम्म जरिवाना तथा उम्मेदवारी रद्द गर्न सक्ने व्यवस्था छ । आचारसंहिता उल्लंघनमा हालसम्म ६८ भन्दा बढी व्यक्ति तथा संस्थालाई स्पष्टीकरण सोधिएको छ । जसमा केहीबाहेक अधिकांश जवाफसमेत आइसकेको छ ।