नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट दुई सयवटा सवारीसाधन उपहारस्वरूप प्रदान गरेका छन्। नेपाल सरकारको अनुरोधमा भारतले मंगलबार अर्थ मन्त्रालयमा आयोजित समारोहबीच सवारीसाधन उपलब्ध गराएको हो।
यी सवारीसाधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउने भारतको विश्वास छ। यी सवारीसाधन चुनावका दौरान प्रयोग गरिनेछ। यीमध्ये एक सय २० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन्।
‘यी सवारीसाधनको हस्तान्तरणले नेपालभर रहेका विभिन्न संस्थाको ढुवानी एवं सुसञ्चालन प्रबन्धलाई थप व्यवस्थित बनाई निर्वाचनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सघाउ पुर्याउनेछ,’ भारतीय दूतावासले भनेको छ।
अर्थमन्त्री शर्माले यी सवारीसाधनलगायत विकास साझेदारीको रूपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिएका छन्। नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरूमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउँदै आएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झन्डै दुई हजारवटा र नेपाली सेना र निर्वाचन आयोगलाई चार सयवटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा दुई हजार चार सयभन्दा बढी सवारीसाधन उपहारस्वरूप प्रदान गरिसकेको भारतीय दूतावासले जनाएको छ।