विद्युतीय दुईपांग्रे कम्पनी जम्बो ब्राभोको नयाँ मोडेल क्यापुचिनो एस इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्रिएको छ । नक्साल नागपोखरीमा जम्बो ब्राभोको सोरुमसँगै नयाँ स्कुटर पनि सार्वजनिक गरिएको हो ।
नेपालमा जम्बो मोटर्सले ब्राभो स्कुटर आयात तथा बिक्री गर्दै आइरहेको छ । यो स्कुटर एकपटकको फुलचार्जमा एक सय ४० किलोमिटरसम्म कुदाउन सकिने कम्पनीका अध्यक्ष विनोद न्यौपानेले बताए । ‘हामी पहिलादेखि नै हेटौँडामा दुईपांग्रे र तीनपांग्रे विद्युतीय सवारीसाधन बिक्री गर्दै आएका छौँ,’ उनले भने, ‘काठमाडौंमा समेत ब्राभो स्कुटरको माग बढ्दै गएपछि नक्सालमा सोरुम सञ्चालनमा ल्याएका हौँ ।’
कम्पनीले सार्वजनिक गरेको क्यापुचिनो इलेक्ट्रिक स्कुटरमा ५५ एम्पियर ७२ भोल्टको लिथियम आयन ब्याट्री रहेको छ । यसमा ६ किलोवाट पिकआवर क्षमताको मोटर प्रयोग गरिएको छ । यो स्कुटरको अधिकतम स्पिड ८० किलोमिटर प्रतिघन्टा रहेको छ ।
स्कुटरमा २८ लिटर क्षमताको बुट स्पेस छ । यसमा ब्लुटुथ कनेक्टिभिटीसहितको फुल डिजिल डिस्प्ले छ । कि लेस स्टार्ट, एलइडी लाइट, डबल डिस्क ब्रेक, सिबिसी ब्रेकिङजस्ता फिचर स्कुटरमा रहेको कम्पनीले जनाएको छ । जम्बो ब्राभोको क्यापुचिनो एस स्कुटरको मूल्य चार लाख २९ हजार रुपैयाँ रहेको जनाइएको छ ।