
हिमालयन बैंक लिमिटेडले महाराजगन्जको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर सहयोगस्वरूप प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चार लाख ५३ हजार रुपैयाबराबरका सामग्री सहयोग गरेको हो ।
उक्त बारकोड रिडर र प्रिन्टर अस्पतालको भुक्तानी काउन्टरमा आउने सेवाग्राहीलाई सहजता होस् भन्ने मनसायले प्रदान गरेको बैंकले जनाएको छ । बारकोड रिडरको कमीले गर्दा भुक्तानी काउन्टरका कर्मचारीरले सेवाग्राहीको विवरण पटक–पटक प्रविष्ट गर्नुपर्नाले बढी समय लाग्ने भएको हुँदा उक्त झन्झटबाट मुक्त भई सेवाग्राहीको समय बचत हुने अपेक्षा गरेको जनाइएको छ ।
सहयोगका सामग्रीहरू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अस्पतालका कार्यकारी सञ्चालक प्राडा दिनेश काफ्लेलाई हस्तान्तरण गरेका थिए । समारोहमा बैंक तथा अस्पतालका अन्य पदाधिकारी एवं कर्मचारीको पनि उपस्थिति रहेको थियो ।