मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १५ मंगलबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १५ मंगलबार १o:३१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

त्रिशूली जलविद्युतकाे उधारो सेयर : डेढ लाख सेयरधनीमध्ये ८९ हजारले चुक्ता गरे पूरा रकम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १५ मंगलबार १o:३१:oo

त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको सेयरबापतको बाँकी रकम चुक्ता गर्न झन्डै ८८ हजार नौ सय ९० सेयरधनीले आवेदन दिएका छन् । कम्पनीले सेयरबापतको रकम बुझाउन गत ४ असोजबाट आवेदन माग गरेको थियो । त्यसमा सोबराबरको सेयरधनीले आवेदन दिएका हुन् । त्यसमा आवेदन दिने अन्तिम समय भने १७ कात्तिकसम्म रहेको छ । 

कम्पनीले पहिला प्रतिकित्ता १०० को सेयरलाई १० रुपैयाँमा नै बाँडफाँड गरेको थियो । बाँकी ९० रुपैयाँ भने पछि दिने सर्त दियो । कम्पनीका अनुसार एक लाख ५४ हजार पाँच सय ५९ सेयरधनीले सेयरबापत प्रतिकित्ता १० रुपैयाँ बुझाएका थिए । त्यसमा अहिले आएर  ८८ हजार नौ सय ९० जनाले २१ लाख ५२ हजार आठ सय १४ कित्तामा प्रतिकित्ता ९० रुपैयाँ दरले रकम बुझाएका हुन् । यसबाट १८ करोड ७१ लाख ९४ हजार रुपैयाँ रकम संकलन भएको छ । 

साबिकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँका दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गरिनेछ । कम्पनीका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले समय छँदै आवेदन दिन सेयरधनीलाई आग्रह गरे । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत कम्पनीले ०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएकोसमेत) सेयर निष्कासन गरी प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनुपर्नेछ । 

रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत ब्याज दिनुपर्ने प्रावधानबमोजिम सेयरधनीले प्रतिकित्ता तीन रुपैयाँ ब्याज प्राप्त गर्ने हुँदा हाल प्रतिकित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुनेछ । आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एन्ड क्लिरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत सेयरधनीले रकम बुझाउन–आवेदन दिन सक्नेछन् । सेयरधनीले यसरी रकम भुक्तानी गर्दा आस्बा शुल्कसमेत तिर्नुपर्नेछैन । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले रसुवा र नुवाकोटमा ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको ३०–३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहनेछ । 

आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक सात अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कुल लागत आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ । निर्माण अवधिको ब्याजबाहेकको आयोजनाको अनुमानित निर्माण लागत सात अर्ब ४४ करोड रुपैयाँमध्ये ३० प्रतिशत इक्विटी (दुई अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (पाँच अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ ।