नेकपा एमालेकी केन्द्रीय सदस्य एवं युवा नेतृ सिर्जना काफ्लेले राजनीतिक दुर्गन्ध पाल्पालीलाई स्वीकार्य नभएको बताएकी छिन्। पाल्पालीले पटक-पटक मतदान गरी जिताएर पठाएका प्रतिनिधिहरू अहिले फेरि विकासका आशा बाँड्दै जनताको घरदैलोमा पुगेको भन्दै उनले मत दिँदा सचेत हुन नागरिकसमक्ष आग्रह गरिन्।
राष्ट्रिय सैनिक तथा भूतपूर्व प्रहरी संगठन पाल्पाको प्रथम नगर अधिवेशनमा बोल्दै नेतृ काफ्लेले पाल्पाबाट सोमप्रसाद पाण्डेलाई यसअघि एमालेले नै पटक-पटक मतदान गरी सत्तामा पुर्याएको र पुरातनवादी उनीबाट अब विकासको कुनै सम्भावना नरहेको बताइन्।
उनले विगतमा निर्वाचन जितेर गएका जनप्रतिनिधिहरूले पाल्पाको विकासको प्राथमिकता के हो बुझ्न नसक्दा पाल्पाको समय सापेक्ष विकास हुन नसकेको बताइन्। उनले भनिन्, ‘एमालेको नेतृत्वले विगतमा उम्मेदवार चयन गर्दा पनि ख्याल गरेन तर यसपटक सही उम्मेवार छानेको छ।’