राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिमा उमेरले फैसला नगर्ने बताएका छन्। बाग्लुङ १ बाट प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेदवारसमेत रहेका केसीले बाग्लुङ बजारमा पाँचदलीय गठबन्धनका दलहरूको नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उनले आफू ८० वर्ष कटे पनि राजनीतिमा बुढो नभएको भन्दै अझै केही गर्ने जोस र जाँगरका साथ उम्मेदवारी दिएको बताए। ‘मलाई प्रतिपक्ष दलका युवा साथीहरूले बुढो भन्ने गर्नुभएको रहेछ। उहाँ तन्नेरी पाँच वर्ष संसदमा गइरहँदा के गर्नुभयो ?’ केसीले प्रश्न गरे, ‘जनताले जवाफ चाहेका छन्। म बुढाे भए तन्नेरीले केही गरेर देखाएको भए हुन्थ्यो नि । किन नगरेको ? त्यसैले राजनीतिमा बुढो र तन्नेरी भन्ने हुँदैन । विचार नै ठूलो कुरा हो।’
छिमेकी देशबाट समेत आफूलाई हराउने खेल भएको केसीको आरोप छ। उनले नेपालबाट धर्मनिरपेक्षता र गणतन्त्र हटाउने अभियानलाई समर्थन गराउन खोज्नेबाट आफूलाई हराउने खेल भएको भन्दै आफ्नो मुद्दामा सधैँ अडिग रहेका कारण आफू नहार्ने दाबी गरे।
लोकतन्त्रको रक्षाका निम्ति आफ्नो उम्मेदवारी आवश्यक भएको केसीको भनाइ छ। उनले नेपाललाई हिन्दू राष्ट्र बनाउने र राजा फर्काउने अभियानमा लागेकाहरूले सच्चा गणतन्त्रवादी र अग्रगमनका पक्षधरलाई हराउने खेल खेल्न सक्ने आशंका व्यक्त गरे।
उनले सामन्त गोयल आएर तीन घन्टा वार्ता गरेपछि पूर्वप्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको आरोप लगाउँदै ओलीको सो निर्णयमा राष्ट्रपति सामेल हुनु देशको दुर्भाग्य भएको उल्लेख गरे।
एमालेले छिमेकीको सहयोगमा नेपाललाई हिन्दू राष्ट्र बनाउन खोजेको नेता केसीको आरोप छ। ‘जब राजनीतिले धार्मिक रूप लिन्छ, त्यसपछि राष्ट्र र राष्ट्रियता खतरामा पर्छ,’ केसीले भने, ‘एनजिओदेखि सहकारीसम्म संगठन पुर्याएर एमालेले हिन्दू धार्मिक देश बनाउन खोजेको छ।’ कोरोनाले देश अप्ठ्यारोमा पर्दा अक्सिजन किन्न छाडेर पशुपतिमा जलहरी राखेको भन्दै उनले ओलीको आलोचना गरे।
केसीले गठबन्धन जीवन र मरणको सवाल भएको भन्दै संसदबाट हिटलर जन्मन नदिन जनतालाई आग्रह गरे। ओलीको पुनराेदयले हिटलर जन्माउने भन्दै उनले अधिनायकवादविरुद्ध फेरि लड्नुपर्ने वेला आएको बताए। ‘०१७ साल, ०५९ सालको भन्दा खतरनाक अधिनायकवाद आउन सक्छ। त्यसैले गठबन्धनले जित्नुपर्छ,’ केसीले भने, ‘अवसर गुमाएपछि पछुताउनुभन्दा वेलैमा सोचेर मतदान गरौँ।’