मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १३ आइतबार
  • Thursday, 19 December, 2024
तस्बिर : गुल्मीको तम्घास–रिडी सडकखण्डमा काम गर्दै गरेका मजदुर ।
२o७९ कार्तिक १३ आइतबार १६:३३:oo
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

विपन्न परिवारको सहारा बन्दै सडक, मजदुर भन्छन्– वर्षौँ काम गरेपछि खाली हात नफर्काऊ सरकार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १३ आइतबार १६:३३:oo

गुल्मीको रेसुंगा नगरपालिका– १२ की ५३ वर्षीय प्रेम ताङ्नामीले सडकमा काम गर्न थालेको ३२ वर्ष भयो। उनले गल, गैँटी र बेल्चासँग जीवनको ऊर्जाशील आधा समय बिताइसकेका छन् । ताङ्नामी बिहान ९ बजेबाट बेलुका ५ बजेसम्म सडकमै काम गर्छन्। ०४६ सालबाट मासिक नौ रुपैयाँमा काम थालेका उनको मासिक पारिश्रमिक अहिले २१ हजार छ।

ताङ्नामीले सडकबाटै परिवार पाले। अझै पनि दैनिक सडकमै काम गर्छन्। पहिले कच्ची सडक भएकाले थोरैले धेरै काम गर्नुपर्थ्याे। कहिलेकाहीँ तम्घासदेखि रिडीसम्म गल, गैँटी र बेल्चा बोकेर काम गर्न हिँडेको अनुभव छ ताङ्नामीसँग। अहिले तम्घासदेखि गैँडाकोटसम्मको १५ मिलोमिटर सडकमा पाँचजनाले काम गर्छन्। सडक मजदुरको दैनिकी ठूलो पहिरोबाहेक नाली सफा गर्ने, घाँस काट्ने र सडकका स–साना खाल्डाखुल्डी पुर्ने हो। उनले अहिलेसम्म सडकबाट जीविकोपार्जन गरे। तर, अहिले उमेरसँगै बलको काम गर्ने अवस्था घर्किँदै गएकाले ताङ्नामीलाई बुढेसकालमा कसरी जीविकोपार्जन गर्ने भन्ने पिरलो सुरु भएको छ।

‘३२ वर्षको बैँस अब आउँदैन। उमरेले पो काम गरियो,’ उनले भने, ‘आधा जीवन सडकमा बिताएका मजदुरले बुढेसकालमा खाली हात घर फर्किनु नपरोस् सरकार।’

श्रीमानले सडकमै ज्यान गुमाए, श्रीमती भन्छिन्– बुढेसकालमा के गर्ने ?
रेसुंगा नगरपालिका– ६ की ४९ वर्षीया सीता मरासिनी तम्घास–रिडी सडक खण्डकी सुपरभाइजर हुन्। उनले काम गर्न थालेको पनि ६ वर्ष भयो। उनले १५ किलोमिटर सडकको काम हेर्छिन्। उनका श्रीमान् रोहित मरासिनी पनि सडकमै काम गर्थे। १५ वर्ष सडक सुपरभाइजरको काम गरेका उनी कामबाट घर फर्किँदै गर्दा १८ असोज ०७२ मा उर्लेनीको बस दुर्घटनामा ज्यान गुमाए।

श्रीमानको मृत्युपछि पाँच छोराछोरीसहित ससुराको संरक्षणको दायित्व सीताको काँधमा थपियो। श्रीमानसँगै आम्दानीको स्रोत गुमेपछि मरासिनीलाई परिवार धान्न अप्ठ्यारो पर्‍याे। सडक विभाग पाल्पाले रोहित मरासिनीको मृत्युपछि श्रीमती सीताको काममा निरन्तरता दियो। जसका कारण छोराछोरी राम्रो शिक्षादीक्षासहित ससुराको स्याहार गर्न ठूलो सहयोग पुगेको उनले बताइन्। ‘सडकसँग जीवन जोडिएको छ। मेरो श्रीमानले सडककै काम गरेर फर्किँदा ज्यान गुमाए,’ उनले भनिन्, ‘सरकारले दीर्घकालसम्म केही गरिदिए आभारी हुने थिएँ।’

विपन्न परिवारको सहारा सडक
सडकले धेरै विपन्न परिवारको जीवन धानेको छ। रेसुंगा नगरपालिका– १२ की ५३ वर्षीया पूर्णकला ताङ्नामी पनि सडक मजदुर हुन्। उनका श्रीमान् टोपबहादुरले १५ वर्ष सडकमै काम गरे। तर, पछिल्लो समय प्यारालाइसिस भयो। विपन्न परिवारमा घरमूलीलाई गम्भीर रोगले च्यापेपछि अर्को ठूलो पीडा के होला ? त्योसँगै पूर्णकला आफैँ मुटुरोगी छिन्। तर, दैनिक सडकको काममा नआए हातमुख जोर्न नै समस्या छ। पूर्णकलादम्पतीले सडककै कमाइबाट चार छोरी हुर्काए। ठूलो समस्या नपरे परिवार राम्रोसँग चलेको उनले बताइन्।

रेसुंगा– ९ की शान्ता पन्थी पनि १९ वर्षदेखि सडक मजदुरको रूपमा काम गर्दै आएकी छिन्। उनका श्रीमान् बितेकाे १३ वर्ष भयो। त्यसपछि झनै आर्थिक तथा पारिवारिक बोझमा परेकी शान्ताले सडकको कामबाटै तीन छोराछोरी हुर्काइन्।

१३ वर्षदेखि सडकमा काम गरेका गुल्मी दरबार गाउँपालिका– ३ का फर्सुराम चुँदालीले सडकले गरिब परिवारको जीविकोपार्जनमा टेवा पुर्‍याएको भन्दै लामो समय काम गर्नेहरूलाई सरकारले बुढेसकालमा उनीहरूका लागि विशेष व्यवस्था गर्नुपर्ने माग राखे।